प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्डका प्रायोजकहरु उत्साहित

Sports Awards
Sports Awards
January 11, 3:16

धनगढी, पुस २६ - प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्डको सफल आयोजनाबाट साझेदार तथा सरोकारवाला उत्साहित बनेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको समीक्षा तथा कदर पत्र वितरण कार्यक्रममा साझेदार तथा सरोकारवाला उत्साहित बनेको बताएका हुन् । उनीहरुले आगामी दिनमा पनि सुदुरपश्चिम स्पोर्टस अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

मुख्य प्रायोजक कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीले आफुले सोचेको भन्दा स्पोर्ट अवार्ड उच्चस्तरको भएको बताउनुभयो । ‘हामीले एक बर्षका लागि सम्झौता गरेका हौं, तर भव्य आयोजनाबाट हामी निकै उत्साहित छौं र निरन्तरता दिने सोंच बनाईसकेका छौं ।’ उहाँले भन्नुभयो–‘फरक कार्यक्रमको आयोजनाले सोचेकोभन्दा वढी माईलेज मिलेको छ र अवार्डमा सहभागी भएपछि धेरै नै फाईदा मिलेको छ । आगामी दिनमा पनि अवार्डमा हाम्रो सहभागीता र सहयोग निरन्तर जारी रहने प्रतिवद्धता जनाउन चाहन्छौं ।’ कैलाली हस्पिटलले २०७० सालदेखि गुणस्तरीय स्वास्थय सेवा प्रदान गर्दै आएको छ । यो बर्षदेखि सुरु भएको सुदुरपश्चिम स्पोर्टस अवार्डको पहिलो संस्करणमा कैलाली हस्पिटलले मुख्य प्रायोजन गरि साथ दिएको हो ।

त्यसैगरी सह–प्रायोजक विशेष अटोमोवाईल्सका प्रवन्ध निर्देशक तथा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले अवार्डसँगको साझेदारीलाई निरन्तरता दिईने बताउनुभयो । ‘हामी सानो रकमबाट जोडिएका हौं, यसले दिएको माईलेजबाट हामी निकै खुशी छौं । हाम्रो साझेदारीले निरन्तरता पाउनेमा बिश्वास दिलाउन चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यस क्षेत्रका निजि क्षेत्रलाई कसरी अवार्डमा समेट्न सकिन्छ अवका दिनमा त्यसका लागि प्रयास गरौं । अवार्डको माध्यमले यो प्रदेशलाई चिनाउने अवस्थामा सवैको सहयोगको आवश्यकता पर्छ । त्यसका लागि सवै जनाले सक्दो सहयोग गर्न तयार हुनुपर्छ ।’ विशेष अटोमोवाईल्स हिरो मोटरसाईकलको धनगढीका लागि आधिकारिक विक्रेता हो भने कैलाली उद्योग वाणिज्य संघले अवार्डलाई प्रबद्र्धकको रुपमा साथ दिएको थियो ।

कार्यक्रममा अवार्डको विधा प्रयोजक निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ पन्तले अवार्ड कार्यक्रमबाट आफु निकै प्रभावित भएको बताउँदै आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने वचन दिनुभयो । ‘यस बर्ष सानो रकमबाट साझेदारीको सुरुवात गरेका छौं, हामी यो भन्दा ठुलो सहयोग गर्ने प्रतिवद्धता जनाउँछौं ।’ उहाँले भन्नुभयो– ‘अवार्डको माध्यमले राम्रो माईलेज पाएको देखेर हामी र अरु पनि त्यसको मुख्य प्रायोजक बन्न तयार रहेको देखिएका छन् । यो निकै सकारात्मक पक्ष हो । यसले अवार्डलाई आगामी दिनमा थप राम्रो बनाउन मदत्त मिल्छ ।’ विधा प्रायोजक माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले माया मेट्रो हस्पिटल सदैव स्पोर्टस अवार्डको साथमा रहने चर्चा गर्नुभयो । ‘यति भव्य कार्यक्रममा सोचेजति सहयोग गर्न सकेनौं कि भन्ने पछुतो अहिलेको अवस्थामा धेरैलाई भईरहेको होला ।’ उहाँले भन्नुभयो– ‘अवार्डको पहिलो संस्करणका केही कमि कमजोर सुधार गरेमा आगामी बर्षको अवार्ड उत्कृष्ट हुन्छ र अरु पनि प्रायोजन गर्नका लागि थप लालाहित हुन्छन् ।’

अवार्डको प्रवद्र्धक कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठले अवार्डलाई कैलाली जिल्ला खेलकुद विकास समितिले अपनत्व ग्रहण गरिसकेको जनाउँदै आगामी बर्षदेखि बजेटको दायरा बढाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । ‘यस्ता कार्यक्रमको आवश्यकता थियो । त्यसको सुरुवात भएको छ । यो नै खुशीको कुरा हो ।’ उहाँले भन्नुभयो– ‘हामी सधैं सहयोग गर्न तयार रहेका छौं ।’ कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले अवार्ड कार्यक्रमले खेलकुद क्षेत्रलाई धेरै फाईदा पुराएको बताउनुभयो । ‘अवार्ड कार्यक्रमको आयोजनाले खेलाडी प्रशिक्षक र खेलकुदका पदाधिकारीहरुलाई उत्साहित बनाएको छ ।’ उहाँले भन्नुभयो– यसले सुदुरपश्चिममा खेलकुदको माहोल बनाएको छ । प्रत्यक्ष प्रसारण हुँदा देशभर र विश्वभरी नै अवार्ड हेर्न पाईएको छ ।’ त्यसैगरी प्रवद्र्धक निर्माण व्यवसायी संघका महासचिव तथा नेपाल बक्सिङ संघका केन्द्रिय सचिव दिनेश सिंहले स्पोर्टस अवार्डले बर्षेनी आकार ठुलो लिंदै गरेको हुँदा अब सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘खेलकुद क्षेत्रले गर्नुपर्ने काम खेल पत्रकारहरुले गरेका छन्े । यो खेलकुद र खेलाडीहरुका लागि निकै ठुलो कार्यक्रम हो ।’ उहाँले भन्नुभयो– ‘पहिलो अवार्ड कार्यक्रम सोचेको भन्दा राम्रो भयो । अव सवै क्षेत्रबाट सहयोग हुनुपर्छ ।’

अवार्डको हस्पिटालिटी पाटर्नर ड्रिम ग्रुप अफ म्यानेजमेन्टका सिईओ देवेन्द्र हमालले सुदुरपश्चिम स्पोर्टस अवार्ड सुदुरपश्चिम प्रदेशको ब्रान्डका रुपमा स्थापित हुन खोजेको हुँदा आफुहरु सदैव सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा पश्चिम टुडेका प्रधान सम्पादक दिर्घराज उपाध्यायले मोफसलमा भव्य रुपमा कार्यक्रम सफल भएको प्रतिक्रिया दिनुभयो । यस्ता कार्यक्रम हुन आवश्यक छ ।’ उहाँले भन्नुभयो– यो अवार्डले धनगढीमा पनि सम्भावना छ । अवार्ड गर्न गाहे छैन भन्ने देखाएको छ ।’ समीक्षा तथा कदर पत्र वितरण कार्यक्रममा प्रायोजक सारथी हस्पिटलका अध्यक्ष वेद जोशी, न्यु तुल्सी फोर ह्वीलका दिपक अधिकारी लगायतका प्रायोजकहरुले अवार्डमा सहयोगलाई निरन्तता दिने बताउँदै अवार्ड प्रति बढ्दै गएको जनचासोका बिषयमा आयोजक पनि गम्भीर भएर अघि बढ्नुपर्नेमा सुझाव दिनुभएको थियो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले अवार्डको दोस्रो संस्करणको तयारीमा अहिलेदेखि नै जुटिसकेको बताँउँदै दोस्रो संस्करणलाई अझ भव्य रुपमा आयोजना गरिने जानकारी दिनुभयो । पहिलो संस्करणमा धनगढी र कैलालीबाट प्रायोजकहरु पाईएकोमा दोस्रो संस्करणमा देशका अन्य क्षेत्रबाट पनि प्रायोजक खोजी गरिने बताउनुभयो ।

कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको पहिलो सुदुरपश्चिम स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी, विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए । त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए । मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका थिए भने प्रवद्र्धकको रुपमा सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ कैलाली रहेका थिए । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार र भेनु पार्टनरको रुपमा ओम प्यालेस, डिजिटल पाटर्नरको रुपमा रकस्टार मिडिया ईन्टरनेट पाटर्नरमा वल्र्डलिङक र टान्सपोर्ट पाटर्नरको रुपमा सुन्दर सुदुरपश्चिम यातायात रहेका थिए । धनगढीको ओम प्यालेसमा गत पुस १५ गते आयोजना भएको प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्ड डिसहोम एक्सन स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । कार्यक्रमको तीन संस्करणको प्रत्यक्ष प्रसारणको सम्झौता भईसकेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा