९ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप सुरु, कैलारी युथ युनाईटेडको विजयी सुरुवात 

Farwses Pashupati Cup
Farwses Pashupati Cup
January 31, 7:18

धनगढी, माघ १७ – झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ सुुरु भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा पाचौं संस्करणको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ सुुरु भएको हो । धनगढी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्नुभयो । उद्घाटन समारोह आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको थियो । 
प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा कैलारी युथ युनाईटेड विजयी भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई कैलारी युथ युनाईटेडले ३–२ ले हराएको हो । कैलारीका लागि सन्जु चौधरीले दुई गोल गरे भने आर्जु चौधरीले एक गोल गरे । सन्जुले पहिलो हाफको २४ औं मिनेट र दोस्रो हाफको ३० औं मिनेटमा गोल गरे भने आर्जुले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । फारवेष्ट पशुपतिका लागि निलेश विष्टले दुई गोल गरे । उनले पहिलो हाफको १२ औं र २१ औं मिनेटमा गोल गरे । प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन् । पहिलो खेलमा स्टार सिटी र माउण्ट एभरेष्ट अत्तरीया तथा दोस्रो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र घोडाघोडी क्लब सुख्खड बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १५ टीमको सहभागीता रहेको छ । सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा ८ र समुह वी मा ७ टीम रहेका छन् । माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन । 
प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ । 
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।
 

Farwses Pashupati Cup

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा