संसदमा प्रधानमन्त्री- 'विदेशमा रहेकालाई ह्वारह्वारी ल्याएर कोरोना फैलाएर देश सोत्तर बनाउने ?'

Pm
Pm
May 19, 5:08

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरूले विदेश गएका नागरिकलाई कहिले ल्याउने हो भनेर प्रश्न गरेका थिए । विदेशमा समस्यामा परेका नागरिकहरूलाई स्वदेश ल्याउनुपर्ने र व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग थियो । जवाफमा ओलीले भने, 'मान्छे ल्याउने सेन्टिमेन्ट (भावना) मा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं ।'

'भित्र भएका नागरिकको सुरक्षा हुनुपर्‍यो र बाहिर भएकाको समस्या समाधान हुनुपर्‍यो । देशभित्रका नागरिकहरूको सुरक्षा प्रबन्ध यथोचित गरेर बाहिर रहेकाको समस्या समाधान गर्नेमा सरकार स्पष्ट, दृढ र क्रियाशील छ,' उनले भने ।

श्रम गन्तव्य मुलुकमा रहेका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले कस्ता नागरिकलाई ल्याउने, कस्तो समस्यामा परेकालाई स्वदेश ल्याउने र उनीहरूको स्वदेशमा कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनेपछि मात्रै अगाडि बढ्ने बताए । 'चिन्ता गर्नु पर्दैन भन्नुभएको छ । त्यहाँको दूतावाससँग सम्पर्कमा छौं । ह्वारह्वारी मान्छे ल्याएर कोरोनामात्रै फैलाउने र देशै सोत्तर बनाउने मनस्थितिमा छैनौं । भित्र भएकाको सुरक्षा हुनुपर्‍यो र बाहिरह भएकाको संरक्षण हुनुपर्‍यो,' उनले भने ।

वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकहरू कतार, यूएई, बहराइन, ओमान, साइप्रसलवगायतका मुलुकका प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिहरूसँग आफूले कुरा गरेको बताउँदै उनले ती देशमा रहेका नेपाली समस्यामा नपर्ने बताए । ती देशले नेपालीलाई समस्या भएमा सहयोग गर्ने प्रतिबद्धता जनाएको ओलीले जानकारी दिए ।

अहिले ४० देखि ४५ लाख नेपाली नागरिक विदेशमा रहेको अवस्थामा सबैलाई ल्याउन सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । अमेरिका, कुवेतलगायत मुलुकले नेपालमा रहेका केही सय आफ्ना नागरिकलाई विमान चर्टर गरेर लगेजस्तो अवस्था विदेशबाट नेपाली ल्याउन सहज नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

विभिन्न संसदीय समितिहरूले सरकारलाई विदेशमा रहेका नेपाली नागरिक, जो अलपत्र रहेका छन्, तिनलाई ल्‍याउने योजना बनाउन निर्देशन दिएका थिए । विदेशमा झन्डै ६ लाख नेपाली नागरिकको उद्दार गर्नुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले तथ्यांक दिएको थियो ।

विदेशमा रहेका नागरिकले सामाजिक संजाल र संचार माध्यममार्फत आफूहरू समस्यामा रहेकाले उद्दार गर्न आग्रह गर्दै आएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा