सन्दीप सिपिएल खेल्न ट्रिनिडाड जाने

Sandip
Sandip
July 29, 12:28


बुधबार, साउन १४, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन्।

सन्दीप कोरियन एयरको चार्टर्ड फ्लाइटबाट त्यसतर्फ जान लागेका हुन्। उनी शुक्रबार ट्रिनिडाड पुग्नेछन्।

यसअघि फ्लाइटका कारण ट्रिनिडाड जान अन्योल देखिएको थियो। तर सबै पक्षबाट सहयोग भएकाले फ्लाइट सम्भव भएको सन्दीपका सहयोगी रमन सिवाकोटीले जानकारी दिए।

ट्रिनिडाड उड्नका लागि सन्दीपले कोरोना भाइरसको परीक्षण गराएका छन्। सन्दीपले मंगलबार सानेपास्थित स्टार हस्पिटलमा कोरोना परीक्षणका लागि स्वाब दिएका हुन्। परीक्षणको नतिजा बुधबार आउने छ। सिपिएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण पेश गर्नुपर्ने भएकाले सन्दीपले परीक्षण गराएका हुन्।

सिपिएल खेल्नका लागि अबको एक साताभित्र सन्दीप ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ।

उता पुगिसकेपछि पनि सन्दीप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो।

उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ।

सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।

सिपिएलमा कुल ३३ खेल हुने छन्। कोरोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइने छन्।

सन्दीप तेस्रो पटक सिपिएल खेल्दैछन्। उनले यसअघि सन्  २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।

उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए।

यस्तै दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। उनले छ खेलमा आठ विकेट लिएका थिए। गत वर्ष ७० हजार अमेरिकी डलर उनले पारिश्रमिक पाएका थिए।

यस वर्षको सिपिएलका लागि सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ। सिपिएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।
सेतोपाटी बाट

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा