शिक्षकले बिद्यार्थिलाई जुत्ता चाट्न लगाए

gdg
gdg
March 15, 11:47

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन् । अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।

आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो । ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ, बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा नयाँ पत्रिकासँग भनिन्, ‘छोराले घरमा आएर भनेपछि थाहा पाइयो । हाम्रा नानीहरूले विद्यालय पढ्न जाँदा पनि जुत्ता चाट्नुपर्ने ? दलित भनेर हेपियो, न्याय खोज्न कहाँ जानु ? सभ्य र शिक्षित बनाउन छोराछोरी विद्यालय पठाएको यस्ता घृणित कार्य त घरमै बसेका भए पनि गर्दैनथे होलान् ।’

शिक्षक सुजन सुनुवारले भने जुत्ता चाट्न नलगाएको दाबी गरेका छन् । उनले खुट्टा ढोग्न लगाएको भने स्वीकार गरेका छन् । नयाँ पत्रिकासँग टेलिफोनमा उनले जुत्ता चाट्न लगाएको आरोप सही नभएको बताउँदै खुट्टा ढोग्न लगाउनु पनि आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

पम्फाले भने विद्यालय गएर आफूले कुरा उठाएपछि शिक्षक सुनुवारले गल्ती स्विकार्दै माफी मागेर बाहिर नभन्न अनुरोध गरेको बताइन् । ‘सुजन सरले मेरो गल्ती भयो, माफ गर्नुहोला भन्दै यो कुरा अरूलाई नभन्नु भन्नुभएको छ,’ उनले भनिन्, ‘छोराछोरीले पढ्न जाँदा जुत्ता चाट्नुपरेको कुरा म कसरी अरूलाई नभनूँ ?’

पीडित विद्यार्थीका अभिभावकले शिक्षक सुजनलाई कारबाहीको माग गर्दै सोमबार विद्यालय र वडा कार्यालयमा उजुरीसमेत दिएका छन् । गाउँको कुरा गाउँमै मिलाउन भन्दै दबाब आए पनि आफूले उजुरी दिएको पम्फाले बताइन् ।

वडाध्यक्ष कमल न्यौपानेले भने– गल्ती भए कारबाही हुन्छ

वडाध्यक्ष कमलप्रसाद न्यौपानेले वास्तविकता बुझेर कारबाही गर्ने पीडित परिवारलाई आश्वासन दिएका छन् । पीडितको उजुरीपछि न्यौपानेले दुवै पक्षलाई राखेर छलफल गराउने, अमानवीय व्यवहार गरेको प्रमाणित भए दोषीलाई कारबाही हुने बताए । न्यौपानेले टेलिफोनमा भने, ‘हामी शैक्षिक गुणस्तर सुधार र शिक्षित समाज निर्माणको अभियानमा छौँ । त्यसैले यस्ता कमजोरी भएको भए मान्य हुँदैन ।’

शिक्षक सुजन सुनुवार भन्छन् जुत्ता चाट्न लगाएको होइन, खुट्टाचाहिँ ढोगाएको हुँ

म ६, ७ र ८ कक्षामा कम्प्युटर विषय पनि पढाउँछु । कक्षा ८ र इसिडी कक्षा नजिकै छ । हिजो म आफ्नो काम सकेर बाहिर चौरमा बसिरहेको थिएँ । इसिडीका बच्चाहरू नजिकै आए । बच्चाहरू मसँग नजिकिएर व्यवहार गर्छन् । अरू बच्चाहरू अलि पर घाम ताप्दै थिए, इसिडीका तीन बच्चा मेरो नजिक आए । त्यसमध्ये एकले बिस्कुट झिक्यो । मैले ‘अहिले नखाऊ बाबु’ भनेँ । अरू दुई भाइहरू पनि त्यहीँ थिए । उनीहरूका घरपरिवार पनि मैले चिनेकै हुन् । तीनै बच्चा एक–आपसमा नजिकका आफन्त पनि हुन् । म नभएको भए एक–आपसमा झगडा गर्दै तानातान गरेर खान्थे होलान् । तर, मलाई देखेपछि एउटाले खाएको दुईजनाले हेरिरहे मात्रै । त्यसपछि मैले ‘ल बाबु उसको खुट्टा ढोग अनि बिस्कुट दिन्छ’ भनेँ । उनीहरूले ढोगे, तर पनि उसले बिस्कुट दिएन । यही विषयलाई पछि ठूलो बनाएर जुत्ता चाट्न लगाएको भनियो । मैले त खुट्टा ढोग भनेपछि बिस्कुट दिन्छ होला, त्यस्तो साइकोलोजी पर्ला भनेर भनेको हुँ । म कुन मुडमा थिएँ, सानो गल्ती गरेकै हुँ, स्विकार्छु ।

पीडित बालककी आमा भन्छिन् – हेडसरले पनि गाली गर्नुभयो, तिमीहरूका बच्चा स्कुलमा नल्याऊ भन्नुभयो

रिकेशकी आमा पम्फाले विद्यालयको घटना बाहिर लगेको भन्दै हेडमास्टरले पनि गाली गरेको बताइन् । रिकेश र आकाश सोमबार विद्यालय गएनन् । ‘विद्यालयको कुरा बाहिर लगेको भनेर हेडसरले गाली गर्दै तिमीहरूका बच्चा अब यो स्कुलमा पढाउन नल्याए पनि हुन्छ भन्नुभयो,’ पम्फाले भनिन् । आकाशका बुबा सन्तबहादुर नेपालीले गाउँकै शिक्षक भएकाले आफूहरू चुप बस्नुपरेको बताए ।

प्रधानाध्यापक नारायण दाहालको दाबी – नमस्कार गर भन्नुभएको रहेछ, खुट्टा नै ढोगेछन्

मैले सुनेअनुसार सुजन सरले ‘बिस्कुट खाने भए जोन दर्जीलाई नमस्कार गर’ भनेका रहेछन् । तर, रिकेश र आकाशले खुट्टामै ढोगेछन् । त्यो कुरा उनीहरूले घरमा भनेछन्, अनि अभिभावकले तपाईंलाई सुनाएछन् । विषय सामान्य हो, ठूलो बनाइयो ।

नयाँ पत्रिकामा पूर्णप्रसाद न्यौपानेले लेखेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा