जयन्ती थापाको कथाः कर्म अमेरिकातिर, समाजसेवा पश्चिम नेपालतिर
सीताराम ओझा - अमेरिका धेरैका लागि सपनाको देश । त्यहाँ पुगेपछि नेपाल फर्किन जो कोही चाहदैंनन् । वरु अमेरिकामै जीन्दगी विताउने योजनाका साथ उतैको नागरिक भएर बस्नेको संख्या एक दुई बाहेक प्रायः सबैको हुन्छ । तर अमेरिका गएका शत प्रतिशतको धारणा त्यस्तो हुदैंन । त्यही धारणा भएकी मध्येकी एक हुन् अहिले अमेरिकामा बस्दै आएकी जयन्ती थापा । अमेरिकाको भर्जिनिया राज्यको आस्वर्नमा बस्दै आएकी थापाको भौतिक शरीर अमेरिकामा भएपनि मन मस्तिष्क भने नेपालमै छ ।
सन् २०१० देखि अमेरिकामा वस्दै आएकी उनी सधैभरी अमेरिकामै बस्ने सोचमा छैनन् । बाल बच्चाहरुको पढाई सकिएपछि स्वदेश फर्किने योजना उनको छ । ‘मेरो आवश्यकता मेरो देशलाई छ । म भौतिक रुपमा अमेरिका भएपनि मन नेपालमै छ ।’ थापाले खबरकुञ्जसँगको म्यासेन्जर कुराकानीमा भनिन्–‘ दिमागमा जहिले पनि तीनै भारी बोक्ने, गिठ्ठी कुटने, हालो जोत्ने, साँझ विहानको छाक टार्नको लागि विदेशिन वाध्य हुनेहरु नै आईरहन्छन । उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोच आईरहन्छ । त्यही भएर सधैंलाई अमेरिका बस्ने सोच छैन् । आफ्नै देशमा फर्किएर सामाजिक काममा लाग्ने रहर छ ।’
तन अमेरिका मन नेपाल
अमेरिकाको वसाई एक दशक पुगेको छ । थापाले अमेरिका वसेर सामाजिक काममा सहयोग गर्न थालेको पनि पाँच बर्ष वितिसकेको छ । तर समाजसेवाको रहर र सुरुवात भने सानैबाट भएको थियो उनको । जस कारण जहाँ गएपनि उनले आफनो जन्मथलोलाई भुलेकी छैनन् । त्यही मायाको तिर्सना मेटाउन अमेरिकामा कर्म गरेर भएको कमाईको केही अंश उनले नेपालको पश्चिमतिर समाजसेवामा सहयोग गर्दै आएकी छिन् । पुर्खेली घर दैलेख भएपनि उनको परिवार बसाई सरेर सुर्खेत आएको थियो । सानै उमेरदेखि समाज सेवामा तल्लीन उनी नेपालमा हँुदा होस् वा अमेरिकामा बस्दा समाजसेवालाई निरन्तरता दिदै आएकी छिन् ।
उच्च शिक्षासम्मको पढाई पश्चिमै
थापाको प्रारम्भिक शिक्षा दैलेखको वाल मन्दिरवाट सुरु भयो । जहाँ उनले ५ कक्षासम्म पढिन् । सुर्खेतको अमरज्योती नमुना माध्यामिक विद्यालयबाट २०५५ सालमा एसएलसी पास गरिन् । सुर्खेत क्याम्पस शिक्षावाट आई.एड. र स्नातक उत्तिर्ण भईन् । त्रिभूवन विश्वविद्यालयवाट समाजशास्त्र विषयमा प्रथम श्रेणीमा स्नातकोेत्तर गरिन् ।
डिभीले फेरेका सपनाहरु
डिग्रीसम्मको पढाई गर्दा उनमा कुनै विशेष खालको कुनै सपना थिएन् । तर सपनाहरु भने देख्दै नदेखेको भने होईन् । उनले पनि विभिन्न सपनाहरु साँचेकी थिईन् । पहिलो सपना थियो राजनितिज्ञ भएर देशको सेवा गर्ने । दोस्रो सपना थियो सेना, प्रहरी भएर देशको रक्षा गर्ने । अनि तेस्रो सपना थियो वकिल बनेर अन्यायमा परेका गरिव तथा न्यायको पहुँचवाट बन्चित रहेकाहरुका लड्ने । तर ती सपनाहरुले मुर्त रुप पाउन सकेनन् । पछि त्यही सपनाहरुलाई समायोजन गर्दै थापाले समाज सेवालाई अगाडी बढाईन् ।
‘जहाँ भएपनि जे भएपनि समाजको लागि नै लाग्नु नै पर्यो । समाजको लागि केही न केही गर्नै पर्यो । त्यही भएर आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेकी छु ।’ उनले भनिन्–‘सवैभन्दा ठुलो कुरा ईच्छा शक्ती हो । ईच्छा शक्ती भए आफुले अाँटेको जस्तो सुकै काम गर्न पनि सकिन्छ ।’ उनले ती सपनाहरुलाई वास्तविकतामा परिणत गर्न त्यही बाटोमा लागिरहेकी नै थिईन् । तर रहरै र साथीहरुको संगतमा लागेर भनेको डिभीले नयाँ सपनाको बाटो त खुल्यो । तर पुराना सपनाहरु ओझेलमा परे । डिभी परेपछि दुई चार महिना घुमेर फर्किने योजना बनाएकी थिईन् । तर अनुकुल समय भएन । बच्चाहरुको राम्रो शिक्षाको लागि अमेरिका वस्नुपर्ने निर्णयमा पुगिन् र अहिले उतै छिन् । यदपी उनी सधैंका लागि बस्ने मनस्थितिमा पनि छैनन् ।
हुन त अमेरिका बसाईले फाईदा भएको जस्तो पनि लागेको उनलाई । एकातिर धेरै कुरा सिक्ने अवसर मिलेको छ भने अर्कोतिर गरिब तथा विपन्न वर्गहरुलाई पनि सहयोग पाईएकोमा सन्तुष्ट नै छिन् । ‘अमेरिकाको आर्थिक, सामाजिक, राजनितिक र विकास वुभ्mने अवसर पनि मिलेको छ ।’ थापा भन्छिन्–‘यो पनि एक किसिमको अध्ययन नै हो । किनकी केही कुरा पढेर सिकिन्छ, केही कुरा परेर सिकिन्छ । जानिन्छ अनि बुझिन्छ ।’
अमेरिका जानुअघि सामाजिक कामको अगुवाई
अमेरिका जानुअघि उनको समय पश्चिम नेपालतिर नै बितेको थियो । स्नातकोत्तरको पढाई सकेपछि उनले दुई वर्ष मध्यपश्चिमको पहाडी जिल्ला रुकुमको आठविसकोटमा रहेको उच्च माध्यामिक विद्यालयमा पढाईन् । वैवाहिक बन्धनमा बाँधिएपछि उनी रुकुम पुगिन् । सानैदेखि समाजको लागि केही न केही गर्नुपर्छ भन्ने भावले प्रेरित थापा रुकुम गएर पनि सामाजिक कामतिर अग्रसर भईन् । महिला हिंसा र विभेद विरुद्ध सामाजिक अभियान चलाईन् । त्यो अभियान निकै प्रभावकारी भयो । सृजनसिल महिला विकास केन्द्र नामक संस्था नै स्थापना गरेर उनले संगठित रुपमा नै यो अभियान चलाईन् । अहिले पनि यो संस्था क्रियासिल छ ।
एउटा दुर्गम ठाउँमा त्यो पनि वुहारी भएर महिला हिंसा र विभेद विरुद्ध आवाज उठाउनु आफैमा चुनौतीपूर्ण थियो । सुरु सुरुमा उनले चुनौतीहरुको सामना गरिन् । ‘पुरुषहरु भन्नु हुन्थ्यो तपाई एक्लैले गरेर केही हुदैंन तर काम गदै जाँदा धेरैले सम्भनुभयो । बुझदै जानुभयो पछि सवैले सहयोग गर्न थालेपछि काम गर्न सहज बन्दै गयो ।’ विगतका दिन सम्झिदैं उनले भनिन्–‘राम्रो काम गर्दा चुनौती सवैले सामाना गर्नुपर्छ तर हिक्मत हार्नु हुदैंन । चुनौतीहरु आए भने आत्तिनु हुदैंन । आफनो बाटोमा हिडिरहनुपर्छ ।’
जन्मेको दैलेख, हुर्केको सुर्खेत र विवाह भएर गएको रुकुम । अहिलेको बसाई अमेरिका । त्यहाँबाट पनि तीन वटै ठाउँहरुमा मात्रै होईन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँहरुमा सामाजिक कामहरुमा सहयोग गर्दै आएकीछिन् ।
अमेरिकामा जागीर हुदैं व्यापारसम्म
सन २००९ मा अमेरिका गएपछि सुरुमा एउटा प्राईमरी स्कुलमा पढाईन् । सुरु सुरुमा भाषाको समस्या भयो । ‘नेपालीले बोल्ने अंग्रेजी र अमेरिकनले वोल्ने अंग्रेजीमा धेरै भिन्नता छ ।’– अमेरिका गएपछिको अनुभव सुनाउदै उनले भनिन् । प्राईमरी विद्यालको जागिर छाडेर उनले केही समयसम्म स्टोरमा क्यासियरको रुपमा पनि काम गरिन् ।
जागिर गर्दा उनलाई सामाजिक काम गर्न एकातिर फुर्सद भएन भने अर्कोतिरसमय पनि मिलेन् । त्यसपछि उनले विकल्पको रुपमा व्यवसाय गर्नलाई तात्तिईन् । व्यापार पनि चम्किदै गएको छ । त्यही कमाईको अंश पनि समाजसेवामा लगाईरहेकी छिन् । व्यवसाय पनि फलेको छ । जयन्तीको समाज सेवा पनि बढ्दै गएको छ ।
सोचेको जस्तो छैन अमेरिका
सवै नेपालीको सपना अमेरिका हुन्छ । तर थापाको अनुभवमा अमेरिका नेपालमा बसेर सोचे जस्तो छैन । ‘हामीले सोचेको जस्तो छैन अमेरिका । यहाँ आएपछि बल्ल नयाँ जीवनको सुरुवात हुन्छ । नेपाल र अमेरिका एकदमै फरक छ । धेरै संर्घष गर्नुपर्छ । नेपालवाट अमेरिका आउनु भनेको एउटा संसारवाट अर्को संसारमा जानु जस्तै हो ।’ उनले अगाडी थपिन्–‘अमेरिका वास्तवमै सपनाकै देश हो । हरेका क्षेत्रमा उत्तिकै विकास भएको छ । सवै पढे लेखेका छन । कुनै पनि कुराको अभाव छैन । सवैले सवैलाई आदर सम्मान गर्छन । विकासकै कुरा गर्ने हो भने अमेरिका अघि नेपाल सयौं बर्ष पछाडी नै रहेको छ ।’
विपदमा परेकालाई सघाउँदै
सुर्खेतमा हुर्किएकी जयन्ती थापा हाल अमेरिकाको भर्जिनिया बस्छिन् । अमेरिकामा बसे पनि बेला बेला थापाले कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा असहाय बालबालिकादेखि विपदमा परेकालाई सहयोग गर्दै आएकी छिन् । थापाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कैलाली र बाजुराका असहाय र विपन्न वर्गका बालबालिकाको पढाई लगायत स्वास्थ्योपचार खर्चका लागि सहयोग गर्दै आएकी छिन् । ‘कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिमका केही जिल्लाका गरिब, असहाय बालबालिकाको पढाई खर्च र उपचार खर्चमा सानो सहयोग गरिरहेकी छु ।’ उनले भनिन्– ‘आर्थिक अवस्था कमजोर भएरै पढ्न नपाएका, दयनीय जीवन बिताइरहेका, शारीरिक रूपमै भगवानले ठगेकाको जीवनमा थोरै भए पनि केही सहयोग गरिरहेकी छु ।’
सहयोगको लेखाजोखा हुदैंन
आफ्नै लगानीमा विभिन्न जिल्लाका २१ जना बालबालिकालाई पढाउँदै आएकी छिन् जयन्तीले । उनीहरुको बर्षभरीको पढाई किताब कापी पोशाक लगायतका सबै सामाग्रीहरु पनि दिदैं आएकी छिन् । ‘के कति सहयोग गर्छु त्यसको केही लेखाजोखा नै छैन । मैले पनि हिसाब किताब राख्ने गरेकी छैन् । कुनै कुराले छोयो भने जे जस्तोलाई जहाँ पनि सहयोग गर्छु ।’ उनले भनिन्– ‘गरिबीले पिल्सिएका बालबालिकाको केही हदसम्म भए पनि उद्धार र विपदमा परेकालाई सहयोग गर्दा आत्मसन्तुष्टी मिलेको छ । जे जति सक्छु अझै सहयोग गरिरहने छु ।’
विपन्न र अनाथ बालबालिकाको अभिभावक
थापाले उनको नाममा स्थापना गरिएको अक्षयकोषबाट विभिन्न विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएकी छिन् । थापाले २१ जना विद्यार्थीको पढाइदेखि सम्पूर्ण खर्च सम्हाल्दै पढाई रहेकी छिन । उनले रुकुमको कालिका प्राथमिक विद्यालय सुन्दरपानी, दीपज्योती प्राथमिक विद्यालय र बालकल्याण माध्यमिक विद्यालयका एक एक जना विपन्न वर्गका विद्यार्थी पढाई रहेकी छिन् ।
त्यस्तै, जाजरकोटको नारायण माध्यमिक विद्यालयका ४ जना, सुर्खेतको अमरज्योती नमुना माध्यमिक विद्यालयका ६ जना, जनजागृती प्राथमिक विद्यालय पदमपुरका ३ जना विद्यार्थीको सम्पूर्ण पढाई खर्च बेहोर्दै आएकी छन् । ‘आर्थिक अभावकै कारणले उनीहरू पढ्नबाट वञ्चित नहुन् भन्ने मेरो मान्यता हो,’ थापाले भनिन्– ‘विपन्न वर्गका विद्यार्थीका लागि मैले सक्ने सहयोग गरेकी छ । यसरी बालबालिकाको पढाइमा वार्षिक एक लाख रुपैयाँ खर्चिएकी छु ।’
त्यस्तै, उनले सुर्खेतका दुई वटा विद्यालयमा चार लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् । आफूले अध्ययन गरेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा आफ्नो नामबाट ३ लाखको अक्षय कोष र बाबु आमाको नामबाट समेत जनजागृत प्राथमिक विद्यालय पदमपुरमा एक लाखको अक्षय कोष खडा गरेकी छिन् । सो अक्षय कोषको रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ । सुर्खेतको सिम्ताको राकममा दृष्टिविहीन छात्रवासलाई समेत सहयोग गरेकी छन् । उनले विद्यार्थीका लागि पलङ, डसना र सिरक दिदै आएकी छन् ।
हजार विद्यार्थीलाई न्यानो कपडा
समाजसेवी थापाले एक बर्षमा कर्णाली र सुदूरपश्चिम गरेर हजार बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकी छिन् । दैलेख, जाजरकोट, सुर्खेत, रुकुम लगायतका जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै न्यानो कपडा सहयोग गरेकी छन् । त्यस्तै, थापाले सडक बालबालिकाको उद्धार र उनीहरुलाई समेत सहयोग गर्दै आएकी छन् । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका शारीरिक रूपमा अशक्त र मानसिक रूपमा पीडित सडक बालबालिकालाई आर्थिक सहयोग गरेकी छन ।
थापाले उपचार अभावमा छटपटाईरहेका बालबालिका तथा ज्येष्ठ नागरिकलाई समेत उपचार सहयोग गरेकी छिन् । आर्थिक अभावमा उपचार नपाईरहेका बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएकी हुन् । क्यान्सर, पक्षघात, दीर्घरोगी सहित दुर्घटनामा परेर उपचार अभावमा छटपटाइरहेका बिरामीलाई सहयोग गर्दै आएकी छन । थापाले स्वास्थ्य र शिक्षामा मात्रै नभएर वातावरण सरसफाईमा समेत सहयोग गर्दै आएकी छन् ।
खेलकुदलाई पनि सधैं सहयोग
थापा खेलकुद क्षेत्रलाई पनि सहयोग गर्न सधैं अग्रसर छिन् । उनकै नाममा जाजरकोटमा बर्षेनी भलिबल प्रतियोगिता हुदैं आएको छ । उनले कर्णाली प्रदेशमा आयोजना भएको कर्णाली प्रिमियर लिगमा पनि सहयोग गरेकी थिईन् । धनगढीमा आयोजना हुदैं आएको एलपिएललाई पनि पछिल्ला तीन बर्षदेखि सहयोग गर्दै आएकी छिन् । खेलकुद क्षेत्रको विकासबाट देशको नाम देश विदेशमा चिनाउन सकिने भएकोले पनि यो क्षेत्रलाई नछोडेको थापाको तर्क छ ।
बाँचुन्जेल समाजसेवा
उनले भावी योजना पनि दिन दुःखी र विपन्न वर्गहरुको सेवा गर्ने नै वनाएकी छिन् । ‘जनहितमा काम गर्छु । सेवा नै धर्म हो । विद्धानहरु भन्ने गर्छन कुनै पनि विषयमा सफलता हासिल गर्ने पहिलो खुड्किलो सकारात्मक सोचाई हो । त्यही सकारात्मक सोचाईवाट प्रेरित भएर समाजसेवामै लाग्ने सोचमा छिन् जयन्ती थापा ।