आमाको १२ हजारको गहनाले बनायो करोडपति

lMKI NEWS
lMKI NEWS
June 10, 8:36

कैलाली, जेठ २७
    कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखि उद्योगी बन्न चाहन्थे । तर उद्योगी बन्नका लागि उनको आर्थिक अवस्था मजबुत थिएन । निम्न पारिवारिक वातावरणमा हुर्किएका थापाको उद्योगी बन्ने चाहना भने बढ्दै गैरहेको थियो ।
जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे । सानै उमेरदेखि मेहेनती उनको किराना पसल खुब फस्टायो । उनले चिसापानी मै होटल खोले । तत्कालीन माओवादी द्वन्द्वका क्रममा होटलमा क्षति पुग्यो । उनी चिसापानी छोडेर लम्की पुगे । उनले लम्कीमा व्यवसाय सुरु 
गरे । व्यवसायका क्रममा केही रकम जुटाईसकेका थिए । उनको मनमा उद्योग खोल्ने योजना बन्यो । उनले २० वर्षअघि लम्कीमा डल्फिन खाद्य उद्योग खोले । त्यहाँ चामल उत्पादन हुन थाल्यो । उद्योगले बिस्तारै गति लियो । केही ठाउँमा भाडामा समेत उद्योग सञ्चालन गरे ।
    उनले चामल उद्योग भएकै ठाउँमा १२ वर्षअघि अर्को उद्योग सुरु गरे । त्यो थियो डल्फिन दाना उद्योग । त्यहाँ कुखुराको दाना उत्पादन हुन थाल्यो । दाना उद्योगले उनलाई आर्थिक रुपमा माथि उकास्यो । तत्कालीन सुदूर र मध्यपश्चिमका जिल्लामा डल्फिन दाना उद्योगले निकै बजार ओगट्यो । उनी डल्फिन दाना उद्योगको सफलतासँगै उत्साहित बने । उनले उद्योग विस्तार गर्ने योजना बनाए । त्यसका लागि लम्कीमा रहेको ठाउँ साँघुरो भयो । कैलालीका विभिन्न ठाउँमा जग्गा खोजे तर पाएनन् । प्रस्तावित डुँडेझारी औद्योगिक क्षेत्र स्थापनाको बाटो कुरे । उनी आफै पनि औद्योगिक क्षेत्र स्थापनाका लागि निकै दौडिए । तर औद्योगिक क्षेत्र स्थापनाको टुङ्गो लागेन । समय घर्किदै गएपछि उनी कुरेर बस्न सकेनन् ।  
    उनले यतिबेला बाँकेको कोहलपुर नगरपालिका–७ मा आफ्नो उद्योग विस्तार गरेका छन् । करिव २५० करोडको लागतमा उद्योग स्थापना भैरहेको छ । त्यहाँ कुखुरा र गाईवस्तुको दाना, चामल र मैदा उत्पादन हुनेछ । उनका अनुसार यो दाना उद्योग नेपालकै सबैभन्दा ठूलो हुनेछ । जसले प्रति घण्टा १५० क्विन्टल दाना उत्पादन गर्नेछ । उनले उद्योग सञ्चालनमा आउने बित्तिकै बजार क्षेत्र देशब्यापी बनाउने योजना सुनाए । ‘अहिले तीन प्रदेशमा रहेको हाम्रो बजार देशभर फैलिने छ’, उनले भने, ‘हामी गुणस्तरीय दाना उत्पादन गर्नेछौं ।’
    उनका अनुसार चामल उद्योग पश्चिम नेपालको सबैभन्दा ठूलो हुनेछ । जसले प्रति घण्टा ८० क्विन्टल चालम उत्पादन गर्नेछ । उनको मैदा उद्योगको क्षमता समेत सोही हाराहारीको हुनेछ । उनका तेल, चिउरा, दाल उत्पादन गर्ने उद्योग समेत स्थापनाको क्रममा छन । ‘अबको छ महिना भित्र सबै उद्योग सञ्चालनमा आउने छन’, उनले भने, ‘करिव ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।’
    उनले कुखुराको मासु भण्डारणका लागि कोहलपुरमै एकसय टन क्षमताको कोल्ड स्टोर स्थापना गरेका छन् । त्यो अझै सञ्चालनमा आउन सकेको छैन । उनका अनुसार कुखुरा काट्ने अत्याधुनिक मेसिन जडानमा ढिलाई भएकाले कोल्ड स्टोर सञ्चालनमा ढिलाई भएको हो । उनले कुखुरा काटेर हरेक पसल पसलमा पु¥याउने व्यवस्था गरिने जानकारी दिए । उनको नेतृत्वमा चार भाई र आठ छोरा दिनरात सक्रिय छन् । सयौंको संख्यामा कर्मचारी राखेका छन् । उनका अनुसार उद्योग पूर्ण रुपमा सञ्चालनमा आए १ हजार ५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने छन् । अप्रत्यक्ष रोजगारी प्राप्त गर्नेको संख्या यो भन्दा धेरै हुनेछ ।  

उनले २ महिना चीनमा बसेर उद्योग सञ्चालन सम्बन्धी अनुभव बटुलेका छन् । उनी त्यो अनभुवलाई व्यवहारतः कार्यान्वयन गर्न चाहन्छन् । उनलाई राज्यका तर्फबाट भैरहेको व्यवहार चित्त बुझेको छैन । उनी राज्यले उद्योगीलाई सघाउने भन्दा पनि हतोत्साहित पार्ने खालको व्यवहार गरेको बताउँछन् । ‘राज्यले दुःख दिने बाहेक अरु काम गरेको छैन’, उनले भने,‘गर्छु भनेको कुरा मात्रै गरिदिए धेरै 
हुन्थ्यो ।’ उनले उद्योगसम्म पुग्ने बाटो आफै निर्माण गरेका छन् । सरकारले बिजुली पु¥याउने भनेको धेरै समय बितिसक्यो । तर अहिलेसम्म बिजुली पुगेको छैन । जेनेटरकै भरमा उद्योग स्थापनाको काम भैरहेको छ ।  
    उनी उद्योग स्थापना भैसकेपछिका समस्याका बारेमा समेत जानकार छन् । उनका अनुसार एकातिर बजारको समस्या अर्कोतिर कच्चा पदार्थको अभाव रहनेछ । उनले ९० प्रतिशत कच्चा पदार्थ बाह्य मुलुकबाट आउने गरेको बताए ।  
       उनले दाना उद्योगका लागि आवश्यक पर्ने मकै आफ्नै देशमा उत्पादन गर्ने सोच बनाए । उनले मकै खेतीको प्रवर्धनका लागि अभियान सुरु गरे । त्यसले १० प्रतिशत मात्रै आपूर्ती रोकियो । उनी ठूलो मात्रामा मकै उत्पादन गर्न आफै मकै खेति गर्ने योजनामा छन् । उनका अनुसार त्यसका लागि ५०० विगाह जमिनको खोजी भैरहेको छ । ‘अब अरुको भर परेर हुँदैन’, उनले भने, ‘जे गर्ने हो आफै गर्नुपर्छ ।’ उनको आगामी योजना ठूलो चिनी मिल (उद्योग) खोल्ने छ । उनले पश्चिम नेपालका पाँच जिल्लालाई लक्षित गरेर बर्दियाको राजापुरमा चिनी मिल खोल्ने तयारी भैरहेको बताए ।      सानो लगानीमा व्यवासाय सुरु गरेर करेडौंका उद्योग सञ्चालन गरिरहेका थापा राजनीति पनि गर्छन् । उनी हाल जिल्ला समन्वय समिति कैलालीका संयोजक पनि हुन् । उनी समाजसेवाका क्षेत्रमा समेत सक्रिय छन् ।
                                                                                                                                                              नागरीक दैनिक बाट साभार
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा