नागरिकताबारे गृहको परिपत्र तत्काल यथास्थितिमा राख्न सर्वोच्चको आदेश

Suprime Court
Suprime Court
April 08, 8:25

धनगढी, चैत्र २५ – सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको गरेको परिपत्र तत्काल यथास्थितिमा राख्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय तत्काल यथास्थितिमा राखी दुबै पक्षलाई छलफलका लागि बोलाएको हो।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले वैशाख ३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

वैशाख ३ सम्म उक्त परिपत्र कार्यान्वयन नगर्न पनि अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो। सदनमा विचाराधीन विधेयक छलेर सरकारले परिपत्रमार्फत नागरिकता वितरण गर्न लागेको भन्दै नेउपानेले आइतबार रिट दायर गर्नुभएको थियो ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गत मंगलबार सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो।

मन्त्रालयले नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको तर, बालिग भइसकेका नागरिकका सन्तानहरू नागरिकताबाट विमुख भएको भन्दै मन्त्रालयले प्रशासनिक निर्णयबाट समस्या सम्बोधन गर्ने निर्णय गरेको थियो।

जन्मका आधारमा नागरिकता पाएका सन्तान बालिग भए पनि नागरिकता नपाएको भन्दै तत्काल नागरिकता दिन माग हुँदै आएको थियो। विशेषगरि प्रदेश २ सरकारले संघीय सरकारलाई यो विषयमा पटक९पटक ध्यानाकर्षण समेत गराएको थियो।

सरकारले ०६३ मा नागरिकता ऐन संशोधन भएपछि जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानको हकमा २०६५ मंसिर १० सम्म निवेदन दिएको अवस्थामा मात्र वंशजको नागरिकता दिएको थियो। यसरी नागरिकता पाउने सङ्ख्या एक लाख ९० हजार ७२६ रहेको गृहको तथ्याङ्क छ।

अन्तरिम संविधान जारी भएको मितिलाई आधार मानेर यस्तो नागरिकता वितरण गरिएको थियो। निवेदन दिने अन्तिम समयसीमा भने नागरिकता नियमावली लागू भएको दुई वर्षपछिसम्मका लागि कायम गरिएको थियो। सो अनुसार ०६५ मंसिर १० सम्मको समय निवेदनका लागि तोकिएको थियो।

त्यसयता जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाएका छैनन्।

नेपालको संविधानले संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई पनि वंशजका आधारमा नागरिकता दिने उल्लेख गरेको छ। यस अनुसार ०७२ असोज ३ अघि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तान बालिग भएपछि वंशजको नागरिकता पाउनेछन्।

संवैधानिक व्यवस्था अनुसारको नागरिकता ऐन संशोधनको चरणमा छ। उक्त संशोधनको विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी छ। विवादमा सहमति भने भएको छैन।

संघीय संसद्को दोस्रो अधिवेशनको सुरुवातमा नै विधेयक दर्ता भए पनि सात महिनादेखि विधेयक दफावार छलफलकै चरणमा छ। विधेयकका प्रावधानमा विवाद भएपछि हालैमात्र राजनीतिक सहमति समेत खोज्ने गरी उपसमिति गठन गरिएको छ। अंगीकृत नागरिकताको व्यवस्था र नागरिकता कसुरमा हुने सजायबारे मुख्य विवाद छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा