गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७० प्रतिशत सकियो

Gautam Buddha ICS
Gautam Buddha ICS
April 15, 10:53

काठमाडौँः गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ। सन् २०२० जनवरीदेखि विमानस्थलमा पूर्णरुपमा नियमित उडान-अवतरण हुने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

हाल विमानस्थलको धावनमार्गमा गरिँदै आएको चार लेयरको पिचमध्ये तीन लेयर सम्पन्न भइसकेको अधिकारीले बताए। प्रत्येक लेयरमा ७.५ सेन्टिमिटरको दरले पिच गरिएको छ। धावनमार्ग पिचको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए।

'ट्याक्सी वे'मा रहेको चारवटामध्ये तीन तहको काम सकिएको छ भने एक तहको काम रनवे पिच सकिए लगत्तै सुरु गरिनेछ। विमानस्थलमा रहेको टर्मिनल बिल्डिङको संरचना सबै तयार भइसकेको र फिनिसिङको काम हुँदै गरेको अधिकारीले जानकारी दिए।

विमानस्थलमा रहेको आठ तले कन्ट्रोल टावरतर्फ अन्तिम तलाको निर्माण कार्य भइरहेको छ। विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रशासन भवनमा अहिले धमाधम रङ्गरोगनको काम भइरहेको छ।

धावनमार्ग तयार भइसकेपछि उड्डयन प्राधिकरणले सुरुमा डोमेस्टिक एयरक्राफ्ट चलाउने योजना बनाएको छ। प्राधिकरणले सम्झौता अनुसार विमानस्थलको १५ सय मिटर लम्बाई र २३ मिटर चौडाइयुक्त पुरानो धावनमार्गको पूर्णरुपमा स्तरोन्नति भइसकेपछि ओभरअल कनेक्टिभिटी मिलाएर सञ्चालनमा ल्याउने योजना बनाएको छ। 

कालोपत्र गरिसकेपछि एयर फिल्ड लाइट, एप्रोन र ट्याक्सीवेसँगको कनेक्टिभिटी काम सुरु गर्ने योजना रहेको निमित्त आयोजना प्रमुख अधिकारीले बताए।

तीन किलोमिटरको नयाँ धावनमार्ग 'फूलफेज'मा सञ्चालनमा आइसकेपछि पूर्वतिर दुई सय मिटर र पश्चिमतिर दुई सय मिटर गरी जम्मा चार सय मिटर ट्याक्सी वे थपिनेछ। भविष्यमा निर्माण गरिने प्यारलल ट्याक्सी वे १९ सय मिटर लम्बाई र २३ मिटर चौडाइको हुनेछ। यसरी पुरानो धावनमार्ग ट्याक्सी वेको रूपमा प्रयोगमा ल्याइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सुरुको चरणमा विमानस्थल सञ्चालनमा आइसकेपछि बोइङ ७५७, एयबस ३२०, एयरबस ३३० लगायतका ठूला पाँचवटा जहाज पार्किङ गर्न सकिनेछ। क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले विमानस्थलमा यस्ता ठूला किसिमका जहाजका लागि १५ वटा पार्किङ वे निर्माण गर्ने योजना रहेको जनाएको छ। विमानस्थलमा एयरबस ३८० बाहेकका जहाज उडान अवतरण गर्न सकिने छ।

विमानस्थल निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ रहेको छ। प्राधिकरणका अनुसार यो लागतको १० प्रतिशतको भेरियसन हुँदा करिब ६० करोडको भेरिएसन स्वीकृत भएको छ। त्यो हिसाबले हेर्दाखेरि सम्झौता अनुसार, बढीमा करिब सात अर्बमा विमानस्थल निर्माण कार्य सम्पन्न हुनेछ।

विमानस्थल निर्माणका लागि सुरुमा दुई सय ८७ बिघा जमिन अधिग्रहण गरिएको थियो। विमानस्थलमा ठूला जहाज उडान अवतरण गराउने क्षमता अभिवृद्धिका लागि प्राधिकरणले थप पाँच सय बिघा जमिन अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ।

विमानस्थलको रनवे पिच गत कात्तिक १३ गतेबाट सुरु गरिएको थियो। प्राधिकरणका अनुसार चिनियाँ ठेकेदार कम्पनी नर्थ-वेस्ट सिभिल एभिएसन र स्थानीय ठेकेदारद्वारा दुई सय कामदार परिचालित छन्।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा