अब प्रदेशमा पनि पर्यटन बोर्ड, भ्रमण वर्षको रणनीति बेग्लै

Tourism
Tourism
June 10, 12:51

२७ जेठ, काठमाडौं । आफ्नै तरिकाले पर्यटन प्रवद्र्धन र बजारीकरण गर्ने भन्दै प्रदेश सरकारहरुले आफ्नै पर्यटन बोर्ड गठन गर्ने तयारी गरेका छन् । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेश सरकारहरुले तयार पारेका नीति तथा कार्यक्रम, बजेट सिद्धान्त तथा प्राथमिकतामा यो विषय परेको छ ।

संघमा पर्यटन बोर्डको अवधारणाअनुसार सार्वजनिक–निजी साझेदारीमा बोर्ड गठन गर्ने तयारी प्रदेश सरकारहरुले गरेका हुन् । प्रदेश नं १ ले आगामी आवमा ‘प्रादेशिक पर्यटन बोर्ड’ को स्थापना गठन गर्ने उल्लेख गरेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन वर्ष २०२० लाई सफल बनाउन विशेष कार्यक्रम संचालन गर्ने योजना प्रदेश १ को छ ।

संघीय सरकारसँगको समन्वय र सहकार्यमा विराटनगर विमानस्थललाई बिस्तार र स्तरोन्नती गरी अन्तर्राष्ट्रिय, राष्ट्रिय र प्रादेशिक विमानस्थलसँग आवद्ध गर्न पहल गर्ने घोषणा प्रदेश सरकारले गरेको छ । बिराटनगर विमानस्थलबाट पर्वतीय दृष्यावलोकन उडानलाई प्रवद्र्धन गर्ने तथा प्रदेशको प्रमुख विशेषतालाई प्रवद्र्धन गर्दै महाभारत सर्किटलाई पर्यापर्यटन र कृषि पर्यटनको रुपमा विकास गर्ने लक्ष्य यस प्रदेशको रहेको छ ।

प्रदेश नं. २ ले पनि आगामी आवमा प्रदेशको पर्यटकीय छवी विस्तार एवम् बजारिकरणको नीति सार्वजनिक गरेको छ । त्यसअनुसार निजी क्षेत्र समेतको संलग्नतामा ‘प्रादेशिक पर्यटन बोर्ड’ स्थापना गरी सञ्चालनमा ल्याउने लक्ष्य तोकिएको छ । यस प्रदेशले कोशीतटको कंकालिनी मन्दिर हुँदै सिमरौनगढ महागढीमाईसम्म प्रदेश पर्यटकीय सडक निर्माण गर्ने र यस रुटमा मौलिक संस्कृतिको परिचय एवम संरक्षण गर्न होमस्टे प्रवद्र्धन गर्ने योजना बनाएको छ ।

रामायण सर्किट अन्तर्गत जनकपुर र अयोध्यालाई जोड्ने क्रममा रामजानकीको पदचिन्ह भएका प्रमुख ठाउँमा धार्मिक, आध्यात्मिकस्थलको विकास गर्ने लक्ष्यसमेत प्रदेशले सार्वजनिक गरेको छ । प्रदेश पर्यटन बोर्डमार्फत टूर अपरेटर तालिमका लागि निजी होटेल व्यवसायीलाई आकर्षित गर्ने कार्यक्रम प्रदेश सरकारको रहेको छ ।

उता, प्रदेश नम्बर ३ ले पर्यटनको बहुआयामिक उपयोग गर्न जैविक, सांस्कृतिक एवम पर्यटकीय स्थलको संरक्षण, सम्बद्र्धन, गरी आन्तरिक उत्पादन र रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम संचालनको अवधारणा ल्याएको छ ।

गण्डकी प्रदेशले आफ्नो क्षेत्रफल भित्र ‘पर्यटन सेवा प्रदान गर्न उपयुक्त संस्थागत संरचना’ खडा गर्ने उल्लेख गरेको छ । यस संरचनालाई सरकारले बोर्डको नाम भने दिएको छैन । गण्डकी प्रदेशले पर्यटन विकास गुरुयोजना बनाएर कार्यान्वयनमा जाने तयारी गरिरहेको छ । पर्यटन क्षेत्रलाई प्रदेश समृद्धिको मुख्य आधारका रुपमा लिँदै सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी आकर्षण वर्ष, सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष मनाउने गरी घोषणा प्रदेश सरकारले गरेको छ ।

निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकास गर्ने, मुस्ताङ, गोरखाको चुमनुब्री, मनाङ र बागलुङ ढोरपाटन क्षेत्रको पर्यटन विकासमा प्राथमिकता दिने, प्रकृति, संस्कृति र साहसिक पर्यटनको माधयमबाट स्तरीय पर्यटक आकर्षित गर्ने, गण्डकी प्रदेशलाई पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने लक्ष्य यस प्रदेशले तोकेको छ । पोखरालाई हवाई हब बनाउन नेपालका प्रमुख शहर, प्रादेशिक राजधानी र छिमेकी देशसँग हवाई मार्गद्वारा जोड्ने नीति सरकारको छ । लोमान्थाङलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्ने योजनासमेत यस सरकारको रहेको छ ।

प्रदेश नं ५ सरकारले अहिले ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरी मनाइरहेको छ । लुम्बिनीलाई आधार मानेर प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । पर्यटकीय स्थलको रोष्टर तयार पारी गुरुयोजना बनाउने, विभिन्न पर्यटकीय स्थलमा शुरु गरिएको पूर्वाधार विकास कार्यमा जोड दिने र पहाडी जिल्लामा हिल स्टेशन निर्माणको योजना समेत प्रदेश सरकारले राखेको छ । ऐतिहासिक, धार्मिक र प्राकृतिक क्षेत्रमा पदमार्गको विस्तृत अध्ययन गरी सम्भाब्य स्थानमा पदमार्ग बनाउने ५ नम्बर प्रदेशको योजना छ ।

कर्णाली प्रदेशले आफ्नै वायुसेवा कम्पनी चलाउने योजनालाई निरन्तरता दिँदैछ । निजी क्षेत्रको साझेदारीमा कर्णाली हवाई सेवा संचालन गर्ने योजना कर्णाली प्रदेशको छ । नयाँ पर्यटकीय गन्तब्यको अध्ययन, पहिचान र प्रवद्र्धन गने, पर्यटन सर्किटको सम्भाव्यता अध्ययन एवम विकासद्धारा पर्यटक आकर्षित गर्ने लक्ष्य कर्णाली प्रदेशको रहेको छ । सुर्खेतलाई केन्द्र बनाएर प्रदेश राजधानीबाट जिल्ला र संघीय राजधानीमा नियमित उडान गर्ने, केवलकार, गुरिल्ला पर्यटन पदमार्ग, भ्यूटावर निर्माणजस्ता योजनासमेत यस सरकारको आगामी आवको योजनामा समावेश छन् ।

सुदुरपश्चिम प्रदेश पनि आगामी आर्थिक वर्षमा प्रदेश पर्यटन बोर्डको गठन गर्न कानूनी व्यवस्थाको तयारीमा जुट्ने भएको छ । त्यसपछि पर्यटकको बसाई अवधि लम्ब्याउन पर्यटकीय सेवा सुविधा वृद्धि तथा सुरक्षाको वातावरण निर्माण गर्ने प्रदेश सरकारले उल्लेख गरेको छ ।

भ्रमण वर्ष २०२० सँग तादम्य मिल्ने गरी प्रादेशिक पर्यटन विकासका कार्यक्रम ल्याउने, प्रदेश भित्रका प्राचिन महत्वका गढी, किल्ला, प्राचीन स्मारक एवं ऐतिहासिक धार्मिक सांस्कृतिक र्संरचनाको मर्मत सम्भार, सम्वद्र्धन र संरक्षण गरी प्रचार गर्ने योजना सरकारको छ ।

साहसिक पर्यटनलाई पर्यटकीय व्यवसायको रुपमा विकास गरी स्की, रक क्लाइमिङ, प्याराग्लाइडिङ, बन्जी,र्‍याफ्टिङजस्ता क्रियाकलापमा जोड दिने प्रदेश सरकारको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा