बझाङमा जिप दुर्घटना, एकको मृत्यु
बझाङ,४ बैशाख / बझाङमा जिप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । सभापति बोहराको अवस्था भने सामान्य छ ।
बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका थियो ।उक्त जीपमा बोहरा परिवार सवार थिए । जीप दुर्घनामा कांग्रेस बझाङका सभापति खडक बोहराका छोरा विनोदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
उनका अनुसार जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका– २ की १९ बर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० बर्षीया सिन्की बोहरा गरी ३ जना घाइतेको भएका हुन् । घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने, अन्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२ स्४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।