धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली जिल्ला क्रीकेट क्लब विजयी

प्लेयर अफ दी म्याच अर्जुन साउद
प्लेयर अफ दी म्याच अर्जुन साउद
May 25, 5:51

धनगढी ११ जेठ - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट क्लब विजयी भएका छन् । बुधवारको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जित निकालेको छ । छैटौँ दिनको खेल जारी रहँदा लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउण्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । 

धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै ५ महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गराएपछि देउखुरी १५.२ ओभरमा ६० रनमै अल आउट हुन पुग्यो । ६१ रनको सामान्य विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले ६.२ ओभरमा विना कुनै विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि उत्कृष्ट बलिङ गरेका बोहराले ब्याटिङ तर्फ २३ बलमा ७ चौकाको मद्दतले ३६ रनको अविजित पारी खेले । उसका मनिस थापाले अविजित १९ रन बनाए । 

त्यस अघि देउखुरीका लागि दिनेश अधिकारी र दिवान पुनले १७/१७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । देउखुरीलाई सस्तैमा समेट्न लिटल फ्लावरका बोहराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ८ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिए । इनिङको पहिलो ओभर १ रनमा विकेट विहीन रहँदा दोस्रो ओभरमा आएका बोहराले प्रज्वल थापालाई १ र देउखुरीका कप्तान विशाल विक्रम केसीलाई ४ रनमा बोल्ड आउट गरे । त्यसपछि चौथो ओभरमा बोहराले वसन्त सिंह कार्कीलाई शून्य रनमा बोल्ड गरिदिए । उनैले व्यक्तिगत अन्तिम र खेलको छैटौँ ओभरमा विराट भण्डारीलाई १ रनमा बोल्ड आउट र नारायण जोशीलाई शून्य रनमै क्याच आउट गराउँदै टिमलाई उत्कृष्ट सुरुवात दिलाए । उसका कौशल रुपाखेतीले ३ र प्रकाश जैसी तथा सन्दीप खत्रीले १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका बोहरा चुनिए । 

बुधवारको दोस्रो खेलमा महेन्द्रनगर क्रीकेट एकेडेमीमाथि कैलाली जिल्ला क्रीकेट क्लबले ६ विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रीकेट क्लबले १७ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि राजन सिंहले अविजित ४० रन बनाउँदा दिनेश ओडले ३० रन बनाए । अर्जुन साउदले २४ रन बनाए । 

त्यस अघि महेन्द्रनगरका लागि आयुष्मान् बमले ३४ र राहुल भण्डारीले २१ रन बनाएका थिए । बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका अर्जुन साउद, नरेन साउद र शेर मल्ले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अर्जुन साउद चुनिए । 

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

विद्यालय स्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाई छ । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।

प्रतियोगिताका प्रायोजकहरूमा सपोर्टेड वाइ लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली,  हस्पिटालिटी पार्टनर होटेल डिभोटी धनगढी कैलाली, मोबाइल पार्टनर भीभो मोबाइल, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रा.लि. काठमाण्डौं, हायर एजुकेसन पार्टनर द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाण्डौं, डेब्लभमेन्ट पार्टनर वर्ल्ड भिजन इन्टरनेस्नल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र बाल कल्याण सङ्घ कैलाली, डिजिटल लर्निङ पार्टनर निमा एकेडेमी काठमाण्डौं, हस्पिटल पार्टनर नवजीवन अस्पताल धनगढी कैलाली, अब्रोड स्टडी पार्टनर एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज धनगढी कैलाली, स्टेशनरी पार्टनर दहाल पुस्तक पसल, इन्टरनेट पार्टनर भायानेट धनगढी कैलाली,  स्कुल युनिफर्म पार्टनर चौलानी स्कुल युनिफर्म धनगढी कैलाली, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, वेभरेज पार्टनर ३६५ डेज भोड्का र सह प्रायोजक चैतन्य पाठशाला धनगढी कैलाली रहेको छ ।

 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा