बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् । यहाँ आकस्मिक र वार्डमा भर्ना भएका बिरामीलाई एउटा, स्वास्थ्य बिमा गरेका बिरामीलाई दुई वटा, निःशुल्क एउटा र सशुल्क बिक्री काउन्टर राखिएका छन् ।
गत वर्ष अस्पतालमा डी फर्मा आएपछि सुरु भएको फार्मेसी व्यवस्थापन कार्य पूरा भएको छ भने औषधीको मौज्दात पनि बढेको छ । “फार्मेसीमा दुई हजारभन्दा बढी औषधी रहेका छन्,” डी फर्माका जनक शाही भन्नुहुन्छ, “अस्पतालमा पर्याप्त औषधी रहेको र त्योभन्दाबाहेकका औषधी चाहिएमा पनि अस्पतालले खोजेर ल्याइदिने व्यवस्था छ ।”
अस्पतालले बोलपत्रमार्फत किनेको औषधीमा २० प्रतिशत मात्रै नाफा जोडेकाले बिरामीले अधिकतम खुद्रा मूल्यभन्दा कममा औषधी पाउन थालेका छन् । औषधीलाई ३० डिग्रीभन्दा कम राख्नुपर्ने भएकाले वातानुकूलित बनाइने शाही बताउनुहुन्छ । फार्मेसी व्यवस्थित भएसँगै अशक्त बिरामीलाई औषधी सेवनका बारेमा परामर्श दिन छुट्टै कक्षको व्यवस्था गरिएको छ । औषधी मौज्दात र काउन्टर बढेसँगै छ जना मात्रै कर्मचारीले २४ घण्टा सेवा दिन भने हम्मेहम्मे भएको छ ।
यसअघि सेवाग्राहीले सेवा लिँदा हरेक ठाउँमा लाइन लाग्नुपर्ने समस्या देखाउने गरेकोमा अब औषधी किन्न धेरै समय लाइनमा बस्नुपर्ने गुनासो घटेको स्वास्थ्य बिमा दर्ता सहयोगी सूर्यादेवी भट्टराई बताउनुहुन्छ । फार्मेसीमा काउन्टर थपिएपछि सहज रूपमा सबै औषधी पाएको जानकी गाउँपालिका वडा नम्बर ७ का कमल महतोको भनाइ छ । औषधी थोरै हुने र भएको औषधी पनि थुपारिएको कोठाबाट औषधी खोज्न गाह्रो हुने अवस्थाबाट ठुलै सुधार भएको इन्दिरा सापकोटा बताउनुहुन्छ ।
फार्मेसी मापदण्ड अनुसार नभएकाले मापदण्ड पूरा गर्न र बिरामीलाई पर्याप्त र गुणस्तरीय औषधी उपलब्ध गराउन अस्पतालको आन्तरिक स्रोतबाट फार्मेसी व्यवस्थापन गरिएको अस्पतालका अध्यक्ष झपटबहादुर सोडारीको भनाइ छ । टीकापुरमा २०५७ सालदेखि सामुदायिक औषधी कार्यव्रmम र अस्पताल घोषणा भएपछि फार्मेसी सञ्चालनमा आएको थियो ।