सुदूरपश्चिमका साँसदका लागि चौथो पटक पञ्चधातु जडित लोगो बनाइँदै

January 31, 7:34

कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूका लागि पुनः नयाँ डिजाइनको लोगो (ब्याच) बनाइने भएको छ। अघिल्लो वर्ष पुस १५ गते मात्रै साढे ५ लाख खर्च गरेर सांसदहरूलाई सुन र चाँदीजडित लोगो प्रदान गरिएको थियो।

तर, त्यो लोगोको स्वरूप ठिक नभएको र केही थप गर्नुपर्ने भन्दै पुनः अर्को लोगो बनाउन लागिएको हो । नयाँ लोगो तयार गर्नको लागि नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो । बुधवारको प्रदेश सभा बैठकमा उक्त समितिले लोगोको स्वरूप सहितको प्रतिवेदन प्रस्तुत गरेको छ ।

जेठ २ गते बसेको प्रदेश सभा बैठकले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो । समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाशबहादुर रावल राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी पनि सदस्यमा थिए । उक्त समितिले झन्डै ८ महिना पछि प्रदेश सभामा प्रस्तावित लोगो सहितको प्रतिवेदन पेस गरेको हो ।

बैठकमा प्रतिवेदन पेस गर्दै समितिका संयोजक शाहीले सबैसँग छलफल गरेर परिमार्जित नयाँ लोगो तयार गरिएको बताएका थिए । उनले लोगो संशोधन गर्न वर्तमान तथा पूर्व प्रदेश सभा सदस्यहरूसँग राय दिएको, राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरेको बताए । त्यस क्रममा चार वटा लोगो प्राप्त भएको र सबै भन्दा उत्कृष्ट रहेको भन्दै काठमाडौँका विश्वास पराजुलीले पेस गरेको लोगो छनोट गरिएको शाहीले प्रदेश सभालाई जानकारी दिए ।

अब तयार गरिने लागो २४ एमएम ब्याच भएको र पञ्च धातु जडान गरिएको हुने उनले बताए । दोस्रो कार्यकालको पहिलो वर्ष पुगे लगत्तै प्रदेशसभा सदस्यको लागि चौथो पटक लोगो बनाउन लागिएको हो । यसअघि सुरुमा धातुको लागो निर्माण गरिएको भए पनि त्यसयता सुन र चाँदीजडित लोगो तयार गरिएको हो । पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो । ५३ जना प्रदेशसभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाखभन्दा बढी खर्च गरिएको थियो । त्यो बेला धातुको जडित लोगो भएको हुँदा कम खर्च भए पनि त्यसयता सुन र चाँदी जडित बनाउन थालिएपछि खर्च बढेको हो ।

२०७७ जेठ ७ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि लोगो फेरिएको हो । त्यस लगत्तै असार १७ गते ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयलाई इष्टिमेट मागेर सुन र चाँदी जोडिएको नयाँ लोगो तयार गर्न भनिएको थियो । त्यस बेला २ लाख ८५ हजारको सुन मात्रै प्रयोग गरिएको थियो । ६९ हजार ८२५ रुपैयाँको चाँदी प्रयोग गरिएको उक्ता त्यो लोगो तयार गर्न प्रदेशसभाले ५ लाख ५५ हजार १ सय रुपैयाँ खर्च गरेको थियो । ६० वटा बनाइएको उक्त सुनचाँदी जडित लोगो सांसदहरूले कार्यकाल सकेपछि फिर्ता गरेनन् ।

त्यस बेला एउटा लोगोको मूल्य करिब ७ हजार ९३० रुपैयाँ परेको थियो । प्रदेशसभा सदस्यहरूले चुच्चे नक्सासहितको सुनचाँदी जडित लोगो फिर्ता नगरेपछि प्रदेशसभाले तेस्रो पटक सुनचाँदी जडित लोगो बनाएको थियो । अहिले प्रदेशसभा सदस्यहरूले लगाइरहेको लोगोमा १ लाल सुन र १ तोला चाँदी छ । ५ लाख ४९ हजार ३३३ रुपैयाँ खर्चेर बनाइएको लोगो फेरि परिवर्तन गर्ने प्रदेशसभा सचिवालयको तयारी रहेको छ । अहिले प्रयोग भइरहेको लोगोमा मात्रै २ लाख ७१ हजार २०९ रुपैयाँको सुन र ८५ हजार २ रुपैयाँको चाँदी लेप लगाइएको छ ।

सुदूरपश्चिम प्रदेश सभाकाका सचिव देवबहादुर बोगटीले १९ गते प्रतिवेदमाथि छलफल हुने र त्यसपछि लोगो निर्माण गर्ने काम अघि बढ्ने बताए । पञ्च धातु जडित लोगो बनाउने निर्णय भए पनि कुन कति राख्ने भन्ने विषयमा अझै छलफल नभएको उनले जानकारी दिए ।

‘१९ गते यस विषयमा प्रदेश सभामा छलफल हुन्छ ’ उनले भने ‘त्यसपछि मात्रै थप प्रक्रिया अगाडी बढ्छ उनले भने, कति लागत लाग्छ भन्ने कुरा पञ्च धातु कति राख्ने भन्ने टुङ्गिएपछि थाहा हुन्छ। ’ यस अघि बनेको प्रदेशको लोगोको माथि पट्टी नेपालको झन्डा रहेको थियो। झन्डाको मुनी निलो आकाश र सेतो हिमाल थियो । मध्य भागमा पहाड, तल पट्टी समतल फाँट, दायाँ र बायाँतर्फ नौ वटा लालीगुराँस, अग्र भागमा प्रदेशको नक्सा, नक्साको तल पट्टी सुनौलो रङ्गको क्रस धानको बाला अङ्कित गरिएको थियो । अहिले झन्डा सहित केही थप त्रुटि रहेको भन्दै नयाँ व्याज बनाइन लागिएको लोगो संशोधन समितिका संयोजक पदकबहादुर शाहीले जानकारी दिए । हाल प्रयोग भएको लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झन्डामा चन्द्र र सूर्य नभएको हुँदा नयाँ लागो बनाउनु परेको उनले बताए । उनका अनुसार वैशाख सम्म नयाँ लोगो तयार गरेर सांसदहरूलाई वितरण गर्ने योजना राखिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा