टुट्यो नेपालको टी २० विश्वकप सपना, सिंगापुर पहिलो पटक ग्लोबल क्वालिफायरमा

11
11
July 28, 12:03

काठमाडौँ: सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपमा पुग्ने नेपालको सपना समाप्त भएको छ। सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा सिंगापुरसँग नै पराजित हुँदै ग्लोबल क्वालिफायर पुग्न असफल बनेपछि नेपालको विश्वकप पुग्ने बाटो बन्द भएको हो।

५ राष्ट्र सहभागी एसिया क्वालिफायरमा अघोषित फाइनलको रुपमा रहेको सिंगापुरविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेपछि हार बेहोर्न बाध्य भयो।

सिंगापुरले घरेलु मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

इन्डियन एसोसिएसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले २० ओभरमा १९१ रन बनाएको थियो।

१९२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो।

कतारविरुद्धको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेपछि नेपाललाई बाँकी सबै खेल जित्ने चुनौती थियो। मलेसिया र कुवेतलाई सहजै हराउँदै नेपालले सिंगापुरविरुद्धको खेललाई अघोषित फाइनल बनाएको थियो।

उता घरेलु मैदानमा सिंगापुरले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर विजेता बन्यो।

 

निर्णायक खेलमा चुक्यो नेपाल

सिंगापुरले नेपालविरुद्ध टी २० मा अहिलेसम्मकै उच्च स्कोर बनाउँदा नेपालले जितका लागि कीर्तिमानी लक्ष्य पूरा गर्नुपर्ने चुनौती थियो। तर निर्णायक खेलमा नेपालको ब्याटिङ सम्हालिन सकेन।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले २७ रनको साझेदारी गरेका थिए। तर पारस चौथो ओभरको पहिलो बलमा आउट भएपछि नेपालले निरन्तर अन्तरमा विकेट गुमायो। कप्तान पारस १२ रन बनाएर आउट भए।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र र शरद भेषावकरले पनि २७ रनकै साझेदारी गरे। त्यसपछि भने कुनै पनि खेलाडीले अनुशासित ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि ज्ञानेन्द्र मल्लले बनाएको ३९ रन नै व्यक्तिगत रुपमा उच्च रह्यो। मल्लले २१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे। शरद भेषावकर ११ बलमा ७ रन बनाएर बउट हुँदा नेपाल ७.४ ओभरमा ६२-३ को अवस्थामा पुगको थियो। त्यसपछि रोहित पौडेल ५, विनोद भण्डारी ९ र करण केसी शून्यमा आउट भएपछि नेपालले १०.४ ओभरमा ७९ रन हुँदा ६ विकेट गुमायो। तीन वटै विकेट विजयशंकरले लिएका थिए।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले एक छेउमा इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अर्कोतर्फ नियमित विकेट झरिरह्यो। सातौँ विकेटका लागि दीपेन्द्र र सोमपालले २१ रनको साझेदारी गरे।

सोमपाल १४औँ ओभरमा ११ रन बनाएर रनआउट भए। उनले ८ बल खेल्दै १ चौका प्रहार गरे। त्यही ओभरमा सन्दीप लामिछाने खाता नखोली आउट हुँदा नेपालले आठौँ विकेट गुमायो।

१५औँ ओभरमा दीपेन्द्र र अभिनाश बोहरा आउट भएपछि नेपाल १०९ रनमै अलआउट भयो। दीपेन्द्रले २३ रन बनाए।

नेपाललाई अलआउट गर्न सिंगापुरका लागि सेलडोर विजयकुमारले ४ र भिनोथ भास्करनले २ विकेट लिए।

सिंगापुरको उत्कृष्ट ब्याटिङ

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दोस्रो ओभरमै विकेट गुमाए पनि टिम डेभिस, रोहन रंगराजन र मनप्रित सिंहले उत्कृष्ट ब्याटिङ गर्दै उच्च स्कोर बनाउन मद्दत गरेका थिए।

१०-४ हुँदा सुरेन्द्र चन्द्रहोमन ८ रनमा आउट भएका थिए। तर रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे।

रोहिन ४९ रनमा आउट भएपछि डेभिडले तेस्रो विकेटका लागि मनप्रितसँग ६६ रनको साझेदारी गरे।

डेभिडले ४३ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए। अर्धशतकबाट १ रनले चुकेका रोहनले ३३ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ४९ रन जोडे। मनप्रितले २७ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४२ रन बनाए।

नेपालको लागि अभिनाश बोहराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा