रेडियो नेपाललाई पत्रकार महासङ्घको अन्तिम चेतावनी
काठमाडौँ, भदौ ११ - नेपाल पत्रकार महासङ्घले रेडियो नेपालका कार्यकारी निर्देशकलाई निष्कासित पत्रकार पुनर्वाहालीका लागि अन्तिम चेतावनी दिएको छ । कार्यकारी निर्देशकको गम्भीर ध्यानाकर्षण गराउँदै महासङ्घले अझै पुनर्बहाली नगरे आफूहरू सडकमा जान बाध्य हुने चेतावनी दिएको छ । महासङ्घ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिले मङ्गलवार सिंहदरबारस्थित रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई भेटेर आन्दोलनको चेतावनीसहित गम्भीर ध्यानाकर्षण गराएको हो । समितिका संयोजक रामप्रसाद दाहाल, सहसंयोजक जन्मदेव जैसी, सदस्य टेकराज थामीसहितको टोलीले दिपायलस्थित रेडियो नेपालको प्रदेश केन्द्रमा लामो समयदेखि कार्यरत पत्रकारलाई सेवाबाट बर्खास्त गरिएका पत्रकारहरू सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई तत्काल काममा फर्काउन पुनस् माग गरेको छ । उनीहरूको पुनर्बहालीको मागसहित जिल्लास्थित रेडियो नेपालको गेटमै धर्ना जारी छ ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्रले माथिको आदेश भन्दै विगत दश वर्ष कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई हटाएको थियो । आफूहरुलााई विना कारण हटाएको भन्दै पुनर्बहालीको माग गर्दै तीनै जना पत्रकारले नेपाल पत्रकार महासङ्घमा निवेदन दिएका थिए । पत्रकार महासङ्घ डोटी शाखाको अगुवाइमा पत्रकारहरुले बिहीबारदेखि रेडियो नेपालको गेटमा धर्ना दिइरहेका छन् ।
तीनै जना पत्रकारलाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो।
लामो समयदेखि काम गर्दै आएका पत्रकारलाई विना कारण सेवाबाट हटाइएको भन्दै पुनर्बहालीको मागसहित डोटीका पत्रकार आन्दोलित छन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं समिति सहसंयोजक जैसीले श्रमजीवी पत्रकारलाई सरकारी सञ्चारमाध्यमले नै हटाउनु दुःखद कुरा भएको भन्दै डेलिगेसन टोलीले पुनर्बहालीको माग गरेको बताए। विना कारण सेवाबाट हटाइएका पत्रकारलाई पुनर्बहाली नगरिए आफूहरू कडा सङ्घर्षमा जान बाध्य हुने चेतावनी समेत दिएको उनले जानकारी दिए ।
त्यस्तै नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले समेत भेटेको नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजय बाबु सिवाकोटीले बताए ।