महराको दसैं हिरासतमै, २८ गतेमात्रै अदालत खुल्ने

Mahara
Mahara
October 07, 7:45

काठमाडौँ, असोज २० - संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंको अनुमति लिएर प्रहरीले महरालाई आइतबार उनकै निवासबाट पक्राउ गरेको हो।

उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ।

दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो।

२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन्छ।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। 

रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।

उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।

शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो।

प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा