सुदूरपश्चिमसंग मलेसिया–११ को लज्जास्पद हार
सुनसरी, पौष २६ - सुनसरीको इनरुवामा जारि दोश्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा सुदुरपश्चिम प्रदेशले मलेसिया–११ लाई पराजित गरेको छ ।
इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मलेसियाले दिएको ५० रनको लक्ष्य सुदुरपश्चिमले २ विकेट गुमाएर ७.२ ओभरमा पुरा गर्यो ।
सुदुरपश्चिमका लागि लोकेश बम र खडक बोहराले अविजित समान १५ रन बनाए । गजेन्द्र बोहरा ११ तथा अरुण ऐरी ६ रन बनाएर आउट भए । मलेसियाको लागि अनवर रहमान र धीभेन्द्रन मोगनले समान १/१ विकेट लिए ।
टस जितेर ब्याटिंग रोजेको मलेसियाले कमजोर ब्याटिंग गर्दै २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो । पहिलो ओभर देखि विकेट गुमाउन सुरु गरेको मलेसियाले लगातार विकेट गुमाएको थियो ।
पहिलो ८ विकेट २८ रनमै गुमाएपछि नवौं विकेटको लागि भिरनदिप सिंह र अनवर रहमानले १९ रनको साझेदारी गरेका थिए । भिरनदिप सिंहले ६९ बलमा ३ चौका मदतले २२ रन बनाउनु बाहेक अन्य मलेसियन ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियालाई सानो योगफलमा समेट्न सुदूरपश्चिमका स्पिनर शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए । मल्लले १० ओभरमा ३ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए । लामाले ९ ओभरमा ३ मेडन ओभर गर्दै २१ रन खर्चिए । बिक्रम ठगुन्नाले १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने समुह ‘डी’ अन्तर्गतकै दोश्रो खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । भोलिको खेल सुदुरपश्चिमले जिते सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ । त्रिभुवन आर्मी क्लब, प्रदेश–३ र नेपाल पुलिस क्लब यसअघि नै सेमीफाइनल प्रवेश गरिसकेका छन् ।