धनगढीमा संस्कार कप खुला क्रिकेट प्रतियोगिता हुने
धनगढी, २ माघ - धनगढीमा नेप्स कफी संस्कार कप खुला क्रिकेट प्रतियोगिता हुने भएको छ। धनगढीमै विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग गर्दै आएको संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा बैशाख अन्तिम सातालेखि संस्कार कप टी–ट्वान्टी खुला क्रिकेट प्रतियोगिता हुने भएको हो।
प्रतियोगिताका लागि टीम दर्ता समेत सुरु भईसकेको आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए। ‘टीम दर्ताका लागि स्कुल, कलेज, क्रीकेट एकेडेमी तथा कम्पनीहरुलाई अनुरोध गरेका छौँ,’ अध्यक्ष शाहीले भने, ‘टीम दर्ताको मिति माघ ११ गते सम्म मात्रै रहेको छ।’ प्रतियोगिताको पुरस्कार राशि र अन्य विस्तृत जानकारी भने पत्रकार सम्मेलन मार्फत दिईने उनले बताए। अध्यक्ष शाहीले भने, ‘लिटल फ्लवार प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता प्रतियोगितामा सहभागी हुन नपाएका खेलाडीहरुका लागि संस्कार कप ल्याएका हौँ। यो प्रतियोगितामा सहभागीता जनाउने उमेर बाधक हुने छैन्।’ संस्कार क्रिकेट एकेडेमीका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले संस्कार कपले लुकेर रहेका खेलाडीहरुलाई अवसर प्रदान गर्ने बताए।
एकेडेमीका निर्देशक भुपिसिंह धामीका अनुसार नेप्स कफी मुख्य प्रायोजक रहेको प्रतियोगितामा जोशी अप्टिकल तथा आइ केयर सेन्टर धनगढी, इमेज होटेल धनगढी र समाजसेवी जयन्ती थापाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।