कोरोना रोकथामका लागि ग्रामिण क्षेत्रका सहकारीको भूमिका

Krishna
Krishna
April 03, 8:57

कृष्णराज जोशी 
विश्व अहिले कोभिड–१९ को अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ । चिनबाट सुरु भएको यो महामारी अहिले विश्वव्यापी बन्दैछ । यो संक्रमण छोटो समयमै तीव्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा हाल नेपालमा समेत यसको प्रभाव न्यून रहेपनि सम्भावित भयावह स्थितिलाई रोक्न निकै ठूलो चुनौती खडा भइसकेको छ । अझ भन्नुपर्दा यसको पूर्वतयारीमा निकै ढिलो भइसकेको छ र रोकथामका लागि हामी सवैले आ–आफ्नो क्षेत्रवाट सक्रियता देखाउनु आवश्यक छ ।

नेपालमा २०१३ साल चैत्र २० गते चितवनको बखान सहकारी स्थापना गरिएको दिनको सम्झनामा सहकारी दिवस मनाइदै आएको छ । हाल नेपालमा करिव ३५ हजार सहकारी संस्थाहरु स्थापित रहेका छन् । ६५ लाख सदस्यहरु सहकारी अभियानमा आवद्ध रहेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा (जीडीपी) मा करिव ५ प्रतिशत, वित्तीय क्षेत्रमा करिव २५ प्रतिशत सहकारीको योगदान रहेको छ ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने थिम सहित ६३ औैँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी देश भर भव्यताका साथ मनाउने पूर्व तयारी थियो । तर, विश्वमहामरी कोरोनाले गर्दा हरेक वर्ष जस्तो कुनै औपचारिक कार्यक्रमहरु यो वर्ष मनाउन पाइएन, राष्ट्रिय सहकारी महासंघले पनि कुनै भेला सम्मेलन गरी सहकारी दिवस नमनाउन भनेको छ । साथै कोभिड–१९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यस पटक सहकारी दिवस मनाउनका लागि आग्रह गरेको छ ।

यसै सन्दर्भमा, सहकारीको विभिन्न सिद्धान्तहरु मध्ये ‘समुदाय प्रति चासो’ ले भने जस्तै सहकारीहरु, सहकारी सञ्चालकहरु तथा सहकारीकर्मीहरुले निकै सक्रियताका साथ आफूलाई प्रस्तुत गर्नुपर्ने समय आएको छ । समुदायका सदस्यहरुको संलग्नता विना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भएकोले सहकारी संस्थाले समुदायको आर्थिक तथा मानवीय विकासमा सहभागिता हुनु अघि स्वास्थ्य निकै महत्वपूर्ण रहेको कुरा वर्तमान अवस्थाले सचेत गराएको छ ।

सहकारी संस्था समाजमै स्थापना हुने सामाजिक संस्था भएकोले आफ्नो समाज भित्र रहेका समुदायका सदस्यहरुको लागि सामाजिक उत्तरदायित्व वहन गर्न तत्पर रहनु पनि अहिलेको आवश्यकता हो । स्थानीय पूँजीको विकास तथा गरीब विपन्न वर्गमा वित्तीय कारोवारलाई सहजता प्रदान गर्नका लागि उच्च सजगताका साथ विपन्न समुदायको सहयोगीको भूमिका खेल्न सहकारी हरसम्भव तयार रहनुपर्ने देखिन्छ । भनिन्छ ‘जिउदाको जन्ती रमर्दाको मलामी’ यति वेला ग्रामिण भेगहरुमा विपद पर्दाको साथीको रुपमा सामुदायिक उत्तरदायित्व वहन गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्नैपर्ने देखिन्छ ।

ग्रामिण भेगका सहकारीले यस्तो असहज परिस्थितिका बाबजुत पनि केही अत्यावाश्यक कुराहरु जस्तै ग्रामिण क्षेत्रमा वित्तीय कारोवारमा सहजता, विप्रेषण सेवा, अवनत्वको भावना, सुन्दा सामान्य लागे पनि सूचना प्रवाहको लागि रिर्चाज कार्ड, विपद जोखिम न्यूनिकरण राहत कोष, कोरोना संक्रमणबाट बचाउन सचेतनामुलक कार्यक्रम, स्वास्थ्य सामग्रीहरु, दैनिक खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सहकारीका सञ्चालक समितिको पटक पटक बैठक वसी स्वास्थ्य अवस्थाको समिक्षात्मक छलफल सहित महामारी उद्धार तथा सम्पर्क समिति गठन गरी परिचालन गर्नु जरुरी छ ।

कोरोना कहरले गर्दा घरघरमा थुनिएर बसेको अवस्थामा घर दैलोमै सेवा गर्नको लागि सुफथ मूल्य पसल सञ्चालन, कोरोना रोकथामको लागि स्वास्थ्य सामग्रीहरु वितरण, समूह परिचालन र सचेतीकरण, सहकारी एम्वुलेन्स सेवा, विपन्न परिवारलाई गर्न सकिने राहत सामग्रीहरु, सरसफाई सामग्रीहरु तथा स्टेचर व्यवस्थापन, स्थानीय प्रहरी तथा सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सामूहिक सहकार्य, समन्वय र सहयोग, एसएमएस सेवा, सचेतिकरणका लागि माइकिङ, रेडियो तथा एफएमहरुमा स्थानीय भाषामा सूचनामुलक र सचेतनामुलक सन्देशहरु सम्प्रेषण गर्न सहकारीले अग्रसर हुनुपर्ने देखिन्छ ।

अहिले धेरै जसो व्यक्तिहरु विदेश तथा शहरहरुबाट गाउँ केन्द्रित भएको अवस्थामा शहरी इलाकामा भन्दा गाउँमा झन विकराल हुन सक्ने अवस्थाबाट जोगाउन ग्रामिण सहकारीको झनै ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ । त्यसैले राज्यले तेश्रो खम्वाको रुपमा लिएको सहकारी क्षेत्रले यति वेला भरमगदुर मेहनत गर्नु जरुरी छ । कोरोना महामारीले विश्व अर्थतन्त्र जस्तै नेपालको अर्थतन्त्रलाई निकै कमजोर वनाउनेमा सहजै अनुमान गर्न सकिन्छ ।

यस्तो अवस्थामा ‘प्रत्येक सवैको लागि, सवै प्रत्येकको लागि’ तथा ‘वसुधैव कुटुम्बकम्’ भन्ने सहकारीको मुल मर्म अनुसार यति वेला सरकारको समय समयमा आउने सूचना तथा सन्देशहरु ग्रामिण विपन्न क्षेत्रमा रहेका समुदायसम्म निरन्तर रुपमा प्रवाह गर्ने र उच्च शर्तकता अपनाउन सहकारी संस्थाले आफ्ना सदस्यहरुको मात्र नभई गैरसदस्य र समुदायको पनि हेरचाह गर्नु जरुरी देखिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा