कोरोना र अबको बाटो
-रमेशबहादुर शाहु
रोजगारीका लागि विदेश जाने पुरानो चलन हो । इतिहास हेर्दा कोही पढ्न त कोही अन्य कुनै निहुँमा हिन्दुस्तान गएको उदाहरणहरू पढ्न र सुन्न पाइन्छ । पाकिस्तानको लाहोरमा सैन्य क्याम्पमा भर्ना हुन नेपालीहरू जाने प्रचलनले गर्दा नै नेपालीहरूलाई तत्कालीन समयमा लाहुरे भनी सम्बोधन गर्ने गरिन्थ्यो । जुन चलनचल्तीको भाषामा अहिले पनि छ ।
बिस्तारै नेपालीहरू बेलायत र भारतको पल्टनमा भर्ना हुन थाले । योसँगै औपचारिक रूपमा कामका लागि नेपालीहरू विदेश जाने परम्पराले स्थान पायो । हिन्दुस्तान बाहेकका देशहरूमा सन् १९९० को दशकको अन्त्यतिर नेपालीहरू वैदेशिक रोजगारका लागि गएको पाइन्छ । पहिलो गन्तव्य हिन्दुस्तान भए पनि पछिल्लो समय मलेसिया र मध्यपूर्वका विभिन्न देशहरू नेपालीको रोजगारीको पहिलो रोजाइ बनेको छ ।
अहिले नेपालले ११० देशलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ, भने व्यक्तिगत तवरले झन्डै १७० देशमा नेपालीहरू रोजगारीका लागि जाने गरेका छन् ।
विशेष गरी साउदी अरब, युएई, कतार, कुवेत र मलेसिया धेरै नेपालीहरू जान्छन् ।
तर यी देशमा अदक्ष श्रमिक नै धेरै जाने गरेको सरकारी तथ्याङ्क छ । यिनै देशबाट नेपालीले कमाएर पठाएको पैसा (रेमिट्यान्स)ले नै देशको अर्थतन्त्र धानेको छ । घर घरको चुलो बलेको छ । नेपाली देश छाडेर परदेश जानुको कारण एक मात्र छैनन् ।
भौगोलिक विविधता अनि निर्वाहमुखी कृषि व्यवसाय ग्रामीण नेपालीहरूको रोजगारीको मुख्य पाटो हो ।
विगत केही वर्षयता कृषि व्यवसायबाट जीवन निर्वाह गर्न धौधौ परिरहेको छ । शिक्षा प्रणाली पनि रोजगार मुखी छैन ।
सरकारले पनि युवा वर्गलाई छुने गरी कार्यक्रमहरू तय गर्न नसक्नु र युवाहरूमा छिट्टै सम्पन्न हुने महत्त्वाकाङ्क्षी अभिलाषा, देशभित्रको राजनीतिक अस्थिरता, स्वदेशमा रोजगारीका अवसरको कमी र महत्त्वहीन राजनीतिक गतिविधि जस्ता कारणले वैदेशिक रोजगारी छनौटको विषय बनेको छ ।
अहिले नेपालले ११० देशलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ, भने व्यक्तिगत तवरले झन्डै १७० देशमा नेपालीहरू रोजगारीका लागि जाने गरेका छन् ।
ग्रामीण होस वा सहरी, न्यून आय स्तर होस वा उच्च हरेक नेपालीहरूका लागि रोजगारीको गन्तव्य क्षेत्र विदेश नै भएको छ । वैदेशिक रोजगार धेरैका लागि बाध्यता र थोरैका लागि रहरको विषय हो ।
परिवेश जस्तो सुकै भएता पनि यसले नेपालीहरूको जीवनस्तर उकास्नमा महत्त्वपूर्ण योगदान पुगेको छ । तर संसारभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणले यो क्षेत्रलाई पनि प्रभाव पारेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली र कोरोनाको प्रभाव
अहिले वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकमा धेरै समस्या देखिएको छ । मानसिक समस्या, शारीरिक समस्या, औषधि उपचारको समस्या जस्ता कैयौँ समस्याहरूले प्रताडित छन् नै । योसँगै काम नहुँदा रोजगार विहीन हुनु वा कामविहीन हुनु, कम्पनीले बेतलबी बिदामा राखिदिनु, खान र बस्नको उचित व्यवस्थापन नगरिदिनु र अमानवीय व्यवहार देखाइदिनुले झनै हैरानी थपिएको छ ।
आममाफीमा सहभागी भएकाहरू घर फर्कने दिन कुरिरहेका छन् । कतिपय देश र कम्पनीले त नेपालीलाई तिम्रो विमानस्थलसम्म पुर्याइदिन्छौँ समेत भन्न थालेका छन् ।
यस अलावा आफूसँगै काममा रहेको कुनै अमुक देशको नागरिक उसको सरकारले ससम्मान घर फिर्तीको व्यवस्था गरेर घर फर्किरहँदा आफू घर फर्कन नपाउनु अर्को चोटिलो समस्या हो । उनीहरूमा कोरोनाले मरिन्छ भन्ने भन्दा पनि खान र बस्नुको चिन्ता छ । अपमान र घृणाको पीडा छ ।
आममाफीमा सहभागी भएकाहरू घर फर्कने दिन कुरिरहेका छन् । कतिपय देश र कम्पनीले त नेपालीलाई तिम्रो विमानस्थलसम्म पुर्याइदिन्छौँ समेत भन्न थालेका छन् ।
तर खै सरकार कहाँ अल्झिरहेको छ ? सरकारले जति ढिला गर्यो त्यति नै विदेशमा रहेका नेपालीमा समस्या थपिँदै जानेछ । त्यसैले यसतर्फ ध्यान दिन जरुरी छ । नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देश खाडीमा कोरोनाको कारण नेपालीको ज्यान समेत गइसकेको छ ।
त्यहाँ रहेको नेपाली दूतावासका अनुसार साउदीमा मात्रै ७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । यस्तै, कतारमा एक जनाको कोरोनाको कारण ज्यान गएको छ । युएईमा १८ जना नेपालीको कोरोनाको कारण ज्यान गएको गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिको तथ्याङ्क छ ।
अबको बाटो
अहिले युवा वर्ग धेरैजसो बेरोजगार बस्न विवश छन् कि त कमाउन भन्दै विदेश गइरहेका छन् । उनीहरूमध्ये थोरैले मात्रै विदेशमा सम्मानजनक काम फाइरहेका छन् र थिए । जब विश्वव्यापी महामारीको रूपमा कोरोना भाइरस फैलिन थाल्यो सबैलाई कुनै न कुनै रूपमा प्रभावित पार्न थाल्यो ।
अहिले घर फर्कनले बाटो बन्द हुँदा विदेशमा कातिबेला जहाज चल्ला र स्वदेश फर्कौँला भनेर लाखौँ नेपाली कुरिरहेका छन् । कोरोना काल लम्बिँदै जाने हो भने पक्कै पनि थुप्रै नेपाली युवा रोजगारी गुमाएर फर्कने पक्का छ । फर्कन मात्र नपाएका होइनन्, अहिले जान पनि पाएका छैनन् ।
सरकारी तथ्याङ्कलाई हेर्ने हो भने दिनहुँ झन्डै एक हजार युवा रोजगारीका लागि उड्थे । अहिले कोरोनाको कारण उनीहरू ठाउँ ठाउँमै छन् । त्यसैले अब हाम्रो जस्तो विकासोन्मुख देशले जनसाङ्ख्यिक लाभको भरपुर उपयोग गर्दै उत्पादनमूलक क्षेत्रमा युवा जनशक्ति परिचालनको लागि रणनीति तय गर्नुपर्छ । विदेश गएका युवालाई स्वदेश फर्काउने र स्वरोजगार बन्न प्रेरित गर्ने यो महामारी अवसर पनि बन्न सक्छ ।
तत्कालका लागि विदेशबाट फर्किएका युवालाई उत्पादनशील काममा लगाउने, उनीहरूको अनुभवको सही सदुपयोग गर्ने, कृषि व्यवसायलाई निर्वाहमुखी होइन, व्यवसायीकरण हुने वा औधोगिकरणमा बदल्ने गरी रणनीतिक कार्यक्रमहरू तय गर्ने, युवाहरूको सक्रियतालाई स्थानीय परियोजनामा जोड्दै अघि बढ्नु पर्छ ।
नेपालमै स्वरोजगारका कार्यक्रमहरू ल्याउने, बन्द भएका कलकारखानाहरूमा उपयुक्त लगानी लगाई सञ्चालनमा ल्याउने गर्नुपर्छ । अब यो जनसङ्ख्यालाई स्वदेशमै कृषि, उद्योग, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्दछ ।
साथै वैदेशिक रोजगारबाट फर्किएकाको क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर सिर्जना गर्दै त्यही आधारमा रोजगार मूलक काममा खटाई राख्न उपयुक्त वातावरण (अनुदानका कार्यक्रम, सहुलियत, छुट सुविधा, ऋण सहुलियत) तयार गर्नुपर्छ ।
नेपालमै स्वरोजगारका कार्यक्रमहरू ल्याउने, बन्द भएका कलकारखानाहरूमा उपयुक्त लगानी लगाई सञ्चालनमा ल्याउने गर्नुपर्छ । अब यो जनसङ्ख्यालाई स्वदेशमै कृषि, उद्योग, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्दछ ।
सरकारले तय गर्ने आगामी आर्थिक वर्षको वार्षिक बजेटमा कृषि, जलविद्युत, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका जनसङ्ख्यालाई आकर्षण गर्ने नीति ल्याउन सक्नु पर्दछ । कृषिमा विविधीकरण, व्यवसायीकरण, आधुनिकीकरण गर्दै जान ठोस कदम चालिनु पर्दछ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ उपदफा २ मा, नेपाली रहेको देशमा युद्घ, महामारी, प्राकृतिक विपत्तिमा परी कामदारलाई तत्काल फिर्ता गर्न नेपाल सरकारले कूटनैतिक नियोग वा श्रम सहचारीमार्फत श्रमिक फिर्ता गर्ने व्यवस्था मिलाउने छ भनी उल्लेख छ ।
सोही अनुसार पहिलो कदम अहिले वैदेशिक रोजगारमा रहेका र समस्यामा परिरहेका नेपाली श्रमिकलाई यथाशीघ्र नेपाल ल्याउनेतर्फ चालिनुपर्छ भने तत्पश्चात् उनीहरूको क्षमता र अनुभवका आधारमा रोजगार वैकल्पिक मार्गको व्यवस्था गरेर स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्दै देशको विकासमा अगाडि बढ्नु पर्छ ।
दीर्घकालीन रूपमा नेपालको अर्थतन्त्र परनिर्भर हैन नेपाली मौलिकतामा निर्भर हुने गरी तय हुनु पर्दछ । अहिलेको महामारी र भावी दिनमा हुन सक्ने यस्तै अन्य महामारीबाट हाम्रा आयआर्जनका क्षेत्र र हाम्रो आर्थिकस्तर प्रभावित नहुने गरी नेपाल सरकारको कदम अगाडि बढोस्, त्यस कार्यमा हामी सबैको साथ र सहयोग अवश्य हुनेछ ।
रमेश बहादुर शाहु
प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी) मा कार्यक्रम अधिकृत हुनुहुन्छ।