मन्त्री मगरले पुरा गरिन् बाचाः बहुप्रतिक्षित मेलम्चीको पानी आजबाट सुरुङमा पथान्तर  

Melamchi
Melamchi
July 05, 6:22

काठमाडौँ, असार २१ – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन्।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ। सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची आयोजना प्रमुख तिरेशकुमार खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने बताए।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरववोध भएको बताइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशङ्काहरू थिए। आम जनतामा निराशा थियो। मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरू पनि थिए। तर, हामीले चुनौतीसँग जुध्यौँ। ती सबै आशङ्काहरू, अन्यौलताहरू, गलत प्रचारहरू हटाएर रातदिन काममा खटिरह्यौँ। आज आयोजना सम्पन्न भएको छ। यो हाम्रा लागि ऐतिहासिक उपलब्धि हो।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो। मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहनतका साथ आयोजना सम्पन्न गर्न लागिरहेँ। आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरू आए, अनेकौँ गलत प्रचारहरू गरिए। तर, हिम्मत नहारीकन हामी अगाडि बढ्यौँ। त्यसकै प्रतिफल आजको उपलब्धि हासिल गरेका छौँ। यसले हामी सबै नेपालीको शिर उच्च भएको छ।’

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए। उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गरिने जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा