अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार,घटनामा संलग्न भारतीय नागरिकसहित दुई युवक केही घण्टामै पक्राउ

Acid attack
Acid attack
July 24, 9:45

श्रावण ९, २०७७
काठमाडौँ — ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।

‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए ।

आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए । मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् ।

युवतीमाथि एसिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । घाइते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले ‘आरोपितलाई जसरी पनि छिटोभन्दा छिटो पक्राउ गर्नू’ भन्ने आदेश महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए ।

त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घटनाका आरोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पीडित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।

घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युुवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो । उनी देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिए । उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि एसिड प्रहार गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ, मलाई नै एसिड लाग्यो, सारै पोलेको छ’ भन्दै प्रहरीलाई बयान दिए ।

महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बुनेको बयान दिएका छन् । ‘उनले रुपको सारै घमण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर एसिड हान्ने योजना बनाएँ ।’ तर पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् । उनले आलमसँग त्यस्तो झैझगडा पनि कहिल्यै नभएको बताएकी छिन् । ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ । ‘जुजुधौ दही र चिउरा लिएर कोठातर्फ जाँदै थिए, एउटा खैरो सर्ट र मुखमा मास्क लगाएको मानिस कुदेर म भएको ठाउँमा आयो, हातमा भएको बस्तु मेरो अनुहारमा फ्ँयाकेर भाग्यो,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘मेरो कसैसँग झगडा पनि परेको थिएन, तर त्यो मानिस म पसलमा जाँदा परबाट नियालिरहेको थियो ।’

एसएसपी थापाका एसिड हान्नेमाथि अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए । एसिड प्रहारपछि प्रहरीले निकै दबाबमा काम गरेर नै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकिएको उनले बताए । ‘हामी घटनापछि निकै दबाबमा थियौं,’ थापाले कान्तिपुरसग भने, ‘तर परिसर र महाशाखाको संयुक्त प्रयासमा घटना घटेको ३ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सम्भव भयो ।’

यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । ६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसिड प्रहार गरेका थिए । २०७१ चैतमा एसिड हान्ने विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।

एसिड प्रहारका घटना अन्य जिल्लामा पनि बर्सेनि दोहोरिने गरेको छ । कतिपय घटनामा मायाप्रेम अस्वीकार गर्दा र कतिपयमा आपसी झगडाका कारण घटना यस्ता घटना भएको देखिएका छन् ।
कान्तिपुर दैनिकमा यो समाचार मातृका दाहालले लेख्नु भएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा