पौने तीन अर्बका सहरी सडक सम्झौता

Dhangadhi
Dhangadhi
July 26, 5:00


 ११ साउन २०७७ धनगढी
सुदूरपश्चिम प्रदेशका चारवटा स्थानीय तहमा अबको दुई वर्षभित्र पौने तीन अर्बको लगानीमा साढे ४५ किलोमिटर सहरी सडक बन्ने भएको छ । एशियाली विकास बैंकको ऋण लगानीमा नेपाल सरकारले कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा सडक बनाउन लागेको हो ।
क्षेत्रीय सहरी विकास आयोजना नाम दिएर, चारवटै स्थानीय तहमा फरक फरक निर्माण कम्पनीसँग सडकका सम्झौता भइसकेको आयोजनाका उप- व्यवस्थापक श्याम कुमार बुढाथोकीले बताए । 
तीन वर्षदेखि सुरु भएको आयोजना अहिलेसम्म फोहरमैला प्रसोधन केन्द्रका लागि जग्गाका टुंगो नलागेकाले र टेक्निकल मुल्यांकनमा परेको निर्माण व्यवसायी कालोसूचीमा परेका जस्ता झमेलाले ढिलो हुँदै आएको थियो । 
एशियाली विकास बैंकले, फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा स्थानीय तहका नाममा नआए पनि अरु निर्माण गर्न दिने भन्दै आफ्नो सर्त परिवर्तन गरेपछि, अहिले उच्च गुणस्तरको यो सडकको निर्माणको बाटो खुलेको हो । 
यी चार स्थानीय तहमा ठूलो लगानीको यो आयोजना लागू हुने भनेपछि तीन÷चार वर्षदेखि न त नयाँ सडक निर्माण भइरहेका थिए भने न भएका सडकमा पनि ठूलो लगानीको मर्मत नै भइरहेको थियो।
'पछिल्लो महिना चारवटै स्थानीय तहमा सडक निर्माणको सम्झौता भइसकेको छ । अहिले, निर्माण कम्पनी र आयोजनाको संयुक्त सर्भेको काम जारी छ, बढीमा दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको छ,' क्षेत्रीय शहरी विकास आयोजनाका व्यवस्थापक परिक्षीत कडरियाले भने ।
आयोजनाअन्तर्गत धनगढी उप-महानगरपालिकाभित्रका ७ वटा सडक (साढे १० किलोमिटर लम्बाइ) निर्माणका लागि चितवनको कालीका कन्स्ट्रक्सनले ठेक्‍का पाएको छ । उसले झण्डै ७७ करोडमा असारको २८ गते ठेक्‍का सम्झौता गरेको क्षेत्रीय शहरी विकास आयोजनाले जनाएको छ । ठेक्‍का सम्झौता भएको २१ दिनभित्र निर्माण स्थानमा उपकरण परिचालन गरिसक्नुपर्ने प्रावधान छ ।
धनगढीमा अहिलेसम्म सबैभन्दा बढी भताभुंग भएर भत्किएका शहिदगेट-क्याम्पस सडक, त्यस्तै मुख्यबजारको ट्राफिक चौक देखि कैलाली नालासम्मको सडक, मालपोत सडक, हसनपुर सडक, हुलाकी क्याम्पसगेट सडक, गुल्म-चर्च सडकगरी ७ वठा सडकका लागि ७७ करोडमा सम्झौता भएको हो ।
मुख्यबजारको सडक चारलेनको बन्नेछ भने अरु सबै सडक डबललेन बन्नेछन् । हुलाकी-क्याम्प्पस गेट सडक सबैभन्दा आकर्षक सडक बन्नेछ । क्याम्पसका विद्यार्थीको बढी आवागमन हुने भएकाले त्यहाँ सडक बाहिरको फुटपाथमा पनि पार्क बनाइने भएको छ । 
'हुलाकी-क्याम्पस गेट सडकले, एउटा सहरी सडकको सुन्दरता दिनेछ, त्यसको डिजाइन नमुनाका रुपमा गरिएको हो,' क्षेत्रीय शहरी विकास आयोजनाका उप- व्यवस्थापक श्याम कुमार बुढाथोकीले भने ।
सबै सडकको बीचमा स्ट्रीट लाइट, दुबैतिर नाली, त्यसपछि साइकल लेन र अनी फुटपाथ बन्नेछन् । कैलालीकै गोदावरी नगरपालिकामा पनि साढे १७ किलोमिटर सहरी सडक र साढे १० किलोमिटर नालीका लागि साढे ५४ करोडमा कालिका कन्सट्रक्सनले नै ठेक्‍का पाएको छ ।
यसको पनि असारमा सम्झौता भएको क्षेत्रीय शहरी विकास आयोजनाले जनाएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि साढे १४ किलोमिटर सडक, त्यसको दुबैतिर नाली र फुटपाथ निर्माणका लागि चीनको जेडआइइसी लामा जेभीले झण्डै एक अर्बमा ठेक्‍का सम्झौता गरेको छ । 
लकडाउनका बेला बैशाखमा सम्झौता गरिएको भएपनि अब साउनदेखि काम हुने गरी सहमति भएको आयोजनाले जनाएको छ । कञ्चनपुर एक प्लानिङ सहर हो । त्यहाँको मुख्य सडक र पाँचवटा गल्लीका सबै सडकमा नालीसहितको उच्च गुणस्तरको कालोपत्रे हुने आयोजनाले जनाएको छ । यस्तै कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि करिब ५ किलोमिटर सडक र ८ किलोमिटर नाली, फुटपाथका लागि रमन केएस जेभीसँग असारको १९ गते सम्झौता भएको छ । 
झण्डै २८ करोडमा ठेक्‍का सम्झौता भएकोमा, त्यसको पनि यही साउनदेखि निर्माणको काम सुरु गरिनेछ । धनगढीको मुख्य बजारको सडक २४ मिटर र अरु सबै सडकहरु १० देखि १२ मिटरका हुने आयोजनाले जनाएको छ । 
यसअघि टेक्निकल प्रस्तावको मुल्यांकन भइरहेका बेला रमन कन्सट्रक्सनलाई सार्वजनिक लेखा समितिले कालोसूचीमा राखेपछि आयोजनाको आर्थिक प्रस्ताव खोल्न सकिएको थिएन । त्यसका कारण झण्डै आयोजनाको काम एक वर्ष अलमलमा परेको थियो । बीचमा केही लकडाउनले ढिला गरेपनि, अब भने सडकको काम सुरु हुने भएको छ ।
धनगढी उप-महानगरपालिका र गोदावरी नगरपालिकको ठेक्का पाएको कालिका कन्सट्रक्सनका आधिकारिक प्रतिनिधि तथा सिनियर इन्जिनियर प्रकास कुमार खरेलले साउनको २१ गते भीत्रै सबै स्थानमा 'मोबलाइजेसन' भइसक्ने बताएका छन् ।
सडक निर्माणका लागि कम्तीमा पनि १८ महिनादेखि २ वर्षको समय तोकिएको छ । तर हामीले धनगढी र गोदावरीको काम त्यो भन्दा पनि अघि सक्ने गरी काम सुरु गरिसकेका छौं,' कालिका कन्सट्रक्सनका सिनियर इन्जिनियर प्रकाश कुमार खरेलले भने ।
उनले, धनगढीको मुख्य बजारको संयुक्त सर्भे सकिएको, सहिदगेट-क्याम्पस सडकको आधा भन्दा पनि बढी संयुक्त सर्भे सकिएको, गोदावरीमा सर्भेको मा जारी रहेको बताए । ‘बर्खाभरीमा हामीले सर्भे, साइड मोबलाइजेसन, क्याम्प निर्माण सहितका सबै काम सक्छौं, असोजदेखि निर्माणको काम नै सुरु हुन्छ,' उनले भने ।
अहिले धनगढीको मोहनापुलदेखि अत्तरियासम्मको १५ किलोमिटर छ लेनको सडक अन्तिम चरणमा छ । पहिलो चरणको कालोपत्रे सकिन लागेको छ भने अब फुटपाथ र अन्य फिनिसिङको काम बाँकी छ । 'छ लेन सडक, साढे १० किलोमिटर सहरी सडक बनेपछि, बल्ल धनगढी प्रदेशको राजधानी जस्तो सुन्दर देखिने छ,' धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर ओडले भने ।
उनले उप-महानगरपालिकाले यो सडकलाई प्राथमिकताका साथ लिएको बताए । 'हामीले निर्माण व्यवसायीलाई उप-महानगरपालिकाका प्राविधिक समेत दिएका छौं, सर्भे सकेर निर्माणमा गई हाल्नुस् भनेका छौं, निर्माण कम्पनीले पनि यसलाई प्रार्थमिकताका साथ लिएको पाएको छु,' मेयर ओडले भने ।
क्षेत्रीय सहरी विकास आयोजना लागू हुने भन्दै धनगढीमा पछिल्ला तीन÷चार वर्षदेखि सहरी सडकमा लगानी नभइरहेका कारण उप-महानगरपालिकाको आलोचना हुँदै आएको थियो ।
'जनताको आलोचना स्वभाविक थियो, अब आयोजना तीब्ररुपमा अघि बढ्छ,' मेयर ओडले भने । नेपालका चर्चित परामर्सादाता कम्पनीहरु विल्डीङ डिजाईन अथोरीटि (बिडिए), ईटेको र सोईल टेस्ट तथा उदया कन्सल्टेन्सीले प्राविधिक सहयोग गरिरहेका छन् ।


अन्नपूर्ण पोस्टमा यो समाचार शिवराज भट्टले लेख्नुभएको छ।
















सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा