भाषणमै सीमित फाप्ला क्रिकेट मैदान, तीन वर्षमा सवा सात करोड बजेट, खर्च शून्य

news
news
June 16, 11:59

                                                              गौरवको आयोजना नै भुल्यो सुदूरपश्चिम सरकारले
धनगढी ः ‘नेपालले अन्तराष्ट्रिय क्रिकेटमा एक दिवशीय मान्यता प्राप्त गरेको र यस क्षेत्रका युवाहरूको क्रिकेटमा अत्याधिक रूचि देखिएको सन्दर्भमा फाप्ला क्रिकेट मैदानलाई आधुनिक सुविधासम्पन्न क्रिकेट मैदानको रूपमा विकास गर्न ५ करोड विनियोजन गरेको छु,’ सुदूरपश्चिमका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले ०७५ असार १ गते प्रदेशको पहिलो पूर्णकालीन बजेट प्रस्तुत गर्दा भनेका थिए । 
०७६ असार १ गते आर्थिक बर्ष २०७६÷०७७ को बजेट भाषणमा कैलालीको धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानलाई प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाउने घोषणा गरियो । मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न एक करोड बजेट विनियोजन प्रदेश सरकारले गरेको थियो । ०७७ असार १ गते प्रदेश सरकारले तेस्रो पूर्णकालीन बजेट ल्यायो । आर्थिक वर्ष २०७७÷०७८ को बजेट भाषणमा पनि फाप्लालाई प्रदेश गौरवको आयोजना सम्बोधन गर्दै विस्तृत परियोजना प्रतिवेदन तयार पार्न एक करोड २५ लाख विनियोजन गरियो । 

news

                                                 धनगढी प्रिमियर लिग डीपीएल आयोजना हुँदा दर्शकले भरिभराउ फाप्ला मैदान
प्रदेश सरकारले मंगलबार मात्रै आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । तर बजेट विनियोजन गर्न थालेको तीन वर्ष र दुई आर्थिक वर्षसम्म गौरवको आयोजनाका रूपमा राखिएको फाप्ला क्रिकेट मैदानको नाम समेत आगामी वर्षको बजेट भाषणमा उच्चारण भएको छैन। प्रदेश सरकारले तीन आर्थिक वर्षमा फाप्ला क्रिकेट मैदानका लागि सात करोड २५ लाख बजेट विनियोजन ग¥यो । तर खर्च भने एक रुपैयाँसमेत गर्न सकेको छैन । 
सामाजिक विकास मन्त्रालयबाट बजेट खर्चको अख्तियारी पाउँदै आएको सामाजिक कार्यालय कैलालीका प्रमुख गगनदेव भट्टले जग्गाको भोगाधिकार नै नपाएको बताए । ‘जग्गा प्राप्तीमै समय लागेपछि आएको बजेट प्रत्येक वर्ष खर्च नभएर फ्रिज गइरहेको छ,’ भट्टले भने, ‘ उक्त जग्गा जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा छ । जग्गाको भोगाधिकार माग्दै झण्डै तीन बर्षअघि संघीय गृह मन्त्रालयमा फाइल पठाइएको थियो तर अहिलेसम्म भोगाधिकार प्राप्त भएको छैन । त्यसैले चालू आर्थिक वर्षको बजेट पनि खर्च हुने सम्भावना छैन ।’ 
तीन वर्षसम्म जग्गाको भोगाधिकारसमेत नपाएको प्रदेश सरकारले आगामी वर्षको बजेटमा भने गौरवको आयोजनालाई नै हटाइदिएको छ । फाप्ला क्रिकेट मैदान निर्माणका लागि तीन तहको सरकारले अहिलेसम्म झण्डै ४० करोड बजेट विनियोजन गरे पनि जग्गाको भोगाधिकार नै नपाएपछि बजेट फ्रिज गएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७२÷०७३ को बजेट वक्तव्यमा धनगढीको फाप्लालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेको थियो । यता जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंह अहिलेसम्म संघीय सरकारको ६० लाख मात्रै फाप्ला क्रिकेट मैदानमा खर्च भएको बताउँछन् । 
‘उक्त बजेटले मैदानमा पिच निर्माण भएको छ भने भने तारवारसमेत भइसकेको छ,’ सिंहले भने । हुन त, निजी क्षेत्रबाट फाप्ला क्रिकेट मैदानको गुरुयोजना नै बनिसकेको छ । तर कुन मोडेलमा मैदान निर्माण गर्ने विषयमा समेत टुङ्गो लागेको छैन । निजी क्षेत्रबाट सञ्चालन भएको ड्रिम फाप्ला अभियानबाट पनि मैदान निर्माणका लागि ८ लाख संकलन भएको छ । प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडेलबाट मैदान निर्माण गर्दा सबैभन्दा उपयुक्त हुने तर्क ड्रिम फाप्लाका अभियन्ता सुवाश शाहीको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा