मुख्यमन्त्रीको मौलिक चाल ः भएको पैसा खर्च नगर्ने, ’बजेट अभाव’ भन्यो हिँड्यो !

news
news
June 17, 5:21

धनगढी ः असार ,३
 जेठमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट अभावका कारण समस्या भएको बताए । उनले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेश सरकारले केही गर्न सकेन भनेर गुनासो आउँछ तर हामीसँग काम गर्नका लागि बजेटको नै कमी छ ।’ 
बजेट अभावले ठूला आयोजनाको निर्माणमा समस्या भएको बताउँदै आएको प्रदेश सरकारको चालू वर्षको प्रगति भने निराशाजनक छ । प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर देखिएको हो । चालू र पुँजीगततर्फ ३४ अर्ब २७ करोड ५१ लाख बजेट रहेकोमा प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेका बेला सात मन्त्रालय र मातहतका कार्यालयहरूले १३ अर्ब ४५ करोड ५१ लाख मात्रै खर्च गर्न सकेका छन् । जुन कुल बजेटको ३९ दशमलव २६ प्रतिशत मात्रै हो । 
आर्थिक वर्ष सकिन एक महिना मात्रै रहेको अवस्थामा प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूले २० अर्ब बढी रकम खर्च गर्न बाँकी छ । प्रदेश लेखा नियन्त्रण कार्यालय सुदूरपश्चिमका प्रमुख लेखा नियन्त्रक बासुदेव जोशीले चालूतर्फ ४१ दशमलव १५ र पुँजीगततर्फ ३७ दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । 
‘१७ अर्ब पुँजीगत बजेट रहेकोमा अहिलेसम्म ६ अर्ब ७१ करोड ७१ लाख ३५ हजार खर्च भएको छ । चालूतर्फ १६ अर्ब ३८ करोड बजेट रहेकोमा ६ अर्ब ७३  करोड ८० लाख खर्च भएको छ’ लेखा नियन्त्रक जोशीले भने । प्रदेशका सात मन्त्रालयमध्ये कसैले पनि कुल बजेटको आधा रकम पनि खर्च गर्न सकेका छैनन् । प्रदेशमा सबैभन्दा धेरै १२ अर्ब बढि बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगती पनि ४० प्रतिशत हाराहारी मात्रै छ । 
मन्त्रालयका प्रदेश सचिव इन्द्रदेव भट्टले कोभिडको महामारीको समयमा विकासे योजना कार्यान्वयनमा समस्या भएको बताए । ‘महामारीको समयमा ठूला योजनाको कार्यान्वयनका लागि निर्माण सामाग्रीको पनि अभाव भयो,’ प्रदेश सचिव भट्टले भने, तर यस्तो अवस्थामा पनि प्रगती निराशाजनक भन्न मिल्दैन् । भुक्तानीको समय बल्ल सुरु हुँदैछ । बाँकी रहेको एक महिनामा अहिलेको भन्दा दोब्बर खर्च पनि हुन सक्छ ।’ 
चालू बर्षको बजेट महामारीका कारण खर्च नसकेको बताउँदै आएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भने पूर्ण रुपमा कार्यान्वयन हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले प्रतिकूल अवस्थामा पनि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुने दाबी गरे । ‘आगामी वर्षको बजेट कार्यान्वयनमा ढिलाइ होला भनेर शंका नगर्नुस,’ बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री शाहले भने, ‘विगतमा भएका कमजोरीको गम्भीर समीक्षा गर्दै आर्थिक वर्षको सुरुवातबाटै आगामी वर्षको बजेट कार्यान्वयनमा लैजान्छौं ।’
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा