लिटिल फ्लावर सुपर लिगको उपाधि सैनिकलाई,

March 15, 8:30

गत फाल्गुन १३ गतेदेखि कैलालीमा जारी प्रथम मृग गार्मेन्ट लिटिल फ्लावर सुपर लिग फुटबल प्रतियोगिताको उपाधि सैनिक आवासीयले उचालेको छ । उपधिसङ्गै सैनिकले नगद ३० हजार र ट्रफी प्राप्त गर्यो ।

धनगढीको कभर्डहलमा शनिबार सम्पन्न फाईनल खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले थ्री स्टार बोर्डिङ स्कुल धनगढीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

सुरुवात देखि नै निक्कै आक्रामक देखिएको सैनिकको लागि खेलको दोस्रो मिनटमै कप्तान विकास पुनले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी सैनिकको लागि २७ औ मिनटमा कप्तान बिकाशले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए भने २९ औ मिनटमा पनिले नै तेस्रो गोल गर्दै पहिलो हापमा टिमलाई ३ गोलको अग्रता दिलाएका थिए ।

सैनिकलाई उपाधि दिलाउने क्रममा कप्तान विकास पुनले सर्वाधिक ३, मिलन रोकाया र सुदिप घर्तिले समान १-१ गोल गरेका थिए ।

कैलाली जिल्लाका १२ वटा सामुदायिक र संस्थागत विद्यालयको सहभागीता रहेको प्रतियोगिताको विजेता बन्न सफल सैनिकले नगद ३० हजार सहित ट्रफी हात पारे भने उप-विजेता बनेको थ्री स्टार बोर्डिङ स्कुलले १५ हजार र ट्रफिमा चित्त बुझाएको हो ।

लिटिल फ्लावर बोर्डिङ हाईस्कुल धनगढीले पहिलोपटक आयोजना गरेको प्रतियोगितालाई मुख्य प्रायोजन भने धनगढी स्थित मृग गार्मेन्ट उद्योगले गरेको थियो ।

फाईनल खेल अघि पहिलो संविधान सभा डोटि क्षेत्र न.२ बाट प्रत्यक्ष निर्वाचित संसद खेम बमको प्रमुख आतिथ्यमा समापन कार्यक्रम समेत गरीएको थियो ।

प्रतियोगिता अन्तर्गत विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरु –

राईजिङ प्लेयर – बिशाल बिस्ट – खप्तड स्कुल
बेस्ट प्लेयर ओफ द टुर्नामेन्ट – शुशिल बिक- पन्चोदय
बेस्ट गोलकिपर – अच्युत बहादुर कार्की – सैनिक
बेस्ट डिफेन्स – कुमार भट्टराई – थ्री स्टार
बेस्ट स्कोरर – बिकास पुन – सैनिक
बेस्ट फोर्वाड – सुदिप घर्ती – सैनिक