एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

news kailali
news kailali
July 22, 1:58

धनगढी उपमहानगरपालिका-३ मा जमेको पानी मोहना-अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन्। 
    
केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्‍न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन्। मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्‍न, लत्ताकपडालगायतका सामग्री खराब भएको वडा नं २ का स्थानीयवासी राम भट्टले बताए । उनले भने, 'केही स्थानीयवासीले त घर तथा भान्सामा पानी पसी खानासमेत पकाउन पाएका छैनन्।'

शिखर टोल र मालिका टोलका स्थानीयवासीका घरका भुइँतला पूरै डुबानमा परेका छन्। डुबान भएपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी कमला मल्लले बताए। गाई बस्तुभाउ समेतलाई कता लैजाने भन्‍ने समस्या भएको उनले बताए। यता प्रत्येक वर्ष बर्सातमा डुबानमा पर्ने गरेको वडा नं ३ मा पानी निकासको समस्या हुने भएका कारण उक्त पानी मोहनापुल-अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट भई वडा नं २ बाट निकास दिनुपर्ने बाध्यता पनि छ।

वडा नं ३ बाट वडा नं २ मा निकास गरिएको पानीलाई पनि निकासा दिनुपर्ने वडा नं २ वासीको भनाइ छ। दुवै वडामा डुबान नहुने गरी समस्या समाधान हुनुपर्ने माग गर्दै आएको वडा नं २ का स्थानीयवासीले बताएका छन्। लगातारको वर्षापछि वडा नं ३ का विभिन्‍न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मङ्गलबार मोहनापुुल-अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो। 

झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए। त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए। लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा