शिक्षक आफैं नलागे स्कुल सुध्रँदैन

shikshya
shikshya
April 15, 10:58

काठमाडौँ — गएको पुस पहिलो साता हामी सफ्ट स्किल अथवा व्यवहार कुशल सीप कार्यक्रमको अन्तिम मूल्यांकन गर्न अर्घाखाँची पुगेका थियौं । हामीले त्यहाँका चारवटा विद्यालयमा पुग्नु थियो । सुरुमा हामीले सन्धिखर्कमा जिल्ला शिक्षा समन्वय इकाइ समितिका प्रमुख मनिराम पराजुलीसँग कुरा गर्‍यौं ।

कुराकानीका विषय जिल्लाको शैक्षिक गुणस्तर, शैक्षिक मुद्दा तथा आगामी योजना लगायत थिए ।
समिति प्रमुखको मद्दतमा व्यवहार कुशल सीप कार्यक्रम लागु भएका आठवटा विद्यालयमध्ये चारवटा छान्यौं । जसमा सन्धिखर्क नगरपालिकाको चन्द्रप्रभा मावि, भूमिकास्थान नगरपालिकाको शारदा मावि, शीतगंगा नगरपालिकाको ज्योति मावि र मालारानी गाउँपालिकाको शान्ति मावि परे ।
सफ्ट स्किल मानिसको आफ्ना कला हो, जसले बोल्ने, पढाउने, लेखाउने, खेलाउने कार्य प्रभावकारी बनाउन सहयोग गर्छ । अर्थात् गरिआएको कामलाई प्रभावकारी रूपमा सम्पादन गर्ने कला सफ्ट स्किल हो । यसले निश्चित गुणको विकास गर्ने, नेतृत्व क्षमता, सञ्चार सीप, व्यक्तित्वको विकास तथा सिर्जनात्मक काम अभिवृद्धि गराउँछ ।
सुरुमा चन्द्रप्रभा मावि गयौं । हामी पुग्दा दिनको २ बजेको थियो । विद्यालयका भवन ठूला र राम्रा थिए । खेल्ने चउर भने साँघुरो । विद्यालयको बाध्यता होला । यस्तो बाध्यता नेपालका अधिकांश विद्यालयको छ । सहर–बजारका विद्यालयमा यो सकस बढी छ ।
विद्यालय सुनसान जस्तै लाग्थ्यो । ८ कक्षाका केही र ९ र १० का सम्पूर्ण विद्यार्थी र केही शिक्षक शैक्षिक अवलोकन भ्रमण गएका रहेछन् । केही शिक्षक र शिक्षिका विद्यालय प्राङ्गणमा घाम तापिरहेका थिए । प्रधानाध्यापक एउटा छलफलमा थिए ।
हामी कक्षा ८ का विद्यार्थीलाई भेट्न गयौं । उनीहरूलाई देख्दा मैले आफ्नो विद्यार्थीकाल सम्झेँ । हाम्रो पालामा जस्तो वातावरण थियो, अहिले पनि त्यस्तै रहेछ त्यहाँ । छात्र र छात्रा फरक–फरक बस्ने, कम बोल्ने, अलि पढ्न जान्नेहरू अगाडि बस्ने अनि पढाइमा कमजोर भएकाहरू पछाडि बस्ने । मैले केटाकेटी साथी सँगै मिलेर बस्दा भैहाल्छ नि भन्दा उनीहरू एकअर्कालाई हेरेर खितखित हाँसे ।
हामीले सर्वेक्षणका लागि प्रधानाध्यापक, एक्सन लर्निङ ग्रुपका संयोजक, शिक्षक र विद्यार्थी छानेका थियौं । विद्यार्थीको पढाइ सर्वेक्षण गर्ने टोली हामी पहिलो भएको उनीहरूले बताए । विद्यार्थी निकै उत्साहित भएर सर्वेक्षणमाभाग लिए ।
विद्यालयमा पुस्तकालय र कम्प्युटर कक्षाको राम्रो व्यवस्थापन गरिएको रहेछ । पुस्तकालय र कम्प्युटर विद्यार्थीले कति प्रयोग गर्छन्भन्ने महत्त्वपूर्ण हुन्छ । व्यवहार कुशल सीप कार्यक्रमले शैक्षिक डायरी, लेसन प्लान, एएलजी माइन्युट, शैक्षिक सामग्रीजस्ता अवधारणा ल्याएको छ । त्यस विद्यालयमा शिक्षकले शैक्षिक डायरी तथा लेसन प्लान बनाएको पाइएन । बनाउनले पनि प्रयोग गरेको देखिएन । नियम बनाएर हैन, व्यवहारमा कार्यान्वयन गरेमात्रै काम लाग्छ ।
अर्को दिन शान्ति मावि पुग्यौं । विद्यालय व्यवस्थित, सफा र सुन्दर रहेछ । स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने शौचालय भने सफा थिएन । बाहिरबाट सुन्दर देखिएको विद्यालय भवनमा कक्षाकोठा आकर्षक रहेनछन् । ह्वाइट बोर्डमा लेखिएका अक्षरहरू विद्यार्थी आफैले मेट्नुपर्ने रहेछ ।चिसो मौसम भएर होला, बालबालिकालाई घाममा राखेर पढाइँदो रहेछ । चउरको धुलोले विद्यार्थीको पोसाकमा टाटेपाटे देखिन्थ्यो । पढ्ने पढ्दै थिए, खेल्ने खेल्दै थिए । शिक्षिकाले सबैलाई ध्यान दिएकी थिइनन् । हामीलाई देखेपछि शिक्षिकाले बच्चालाई मिलाएर गोलो आकारमा राखिन् र सबैलाई ध्यान दिएर पढाउन थालेको जस्तो गरिन् । सधैं कक्षा नियन्त्रणमा राखेर पढाउने गरेको भए पो बच्चाहरू मान्थे । वर्षौंदेखि बिग्रिएको संस्कार एकछिन टाल्न खोजेर के टालिथ्यो !
हामी पुगेका चारवटा विद्यालयमध्ये शारदा माविमा मात्र प्रधानाध्यापक महिला हुनुहुन्थ्यो । शारदा माविको भवन जीर्ण थियो । विद्यार्थी संख्या पनि कम । शौचालय पनि अपायक ठाउँमा थियो । पानीको राम्रो सुविधा थिएन । हामी पुग्दा छात्र र छात्रा मिलेर भलिबल खेलिरहेका थिए । भलिबल बाहेक अन्य खेल सामग्री देखिएन ।
शारदा माविमा विशेष शिक्षा चाहिने एक छात्रासँग भेट भयो । कक्षा ८ की उनी न लेख्न सक्छिन्, न पढ्न । उनी सबैभन्दा पछाडि बेन्चमा एक्लै थिइन् । उनको मिल्ने साथी कोही थिएनन् । शिक्षकहरूले पनि उनलाई त्यति ध्यान दिएको पाइएन । हामीले जिज्ञासा राख्दा ‘यिनको पढाइ ८ कक्षासम्म मात्र हो, जिल्लास्तरीय परीक्षा पास गर्न सक्दिनन्’ भन्ने उत्तर पायौं । उनलाई घरबाट पनि त्यति सहयोग रहेनछ । उनले विशेष शिक्षा पाएको भए परिणाम सकारात्मक हुनसक्थ्यो ।
शारदा माविबाट फर्किंदै गर्दा बाटामा एकजना महिलासँग भेट भयो । म र मेरी साथी साधारण पाइन्ट, ज्याकेट र जुत्ता लाएर हिँडिरहेका थियौँ । उनले ‘तिमीहरू यसरी ठाँट्टिएर कहाँ हिँडेका ? फेरि पाइन्ट, टिसर्ट लाएर, यो बीच जंगलमा इज्जत लुटिएला है होश गर’ भनिन् । हामी अक्क न बक्क पर्‍यौँ ।
ज्योति माविमा बीएड पहिलो वर्षमा आठजना मात्रै विद्यार्थी थिए । सबै महिला । बीए र प्लस टुमा पनि विद्यार्थी चार/पाँचजना मात्रै थिए । विद्यार्थीभन्दा शिक्षकको संख्या बढी रहेछ ।त्यहाँ विद्यालय भवनसँगै शौचालय गाँसिएको छ । शौचालय न सफा छ, न त्यहाँ पानी छ । त्यो कुनै नालीभन्दा कम दुर्गन्धित छैन ।
कक्षा ६ का ३ जना विद्यार्थी धुलो बुङबुङ उडाएर कक्षाकोठा सफा गर्दै थिए । कक्षा कोठामा डस्टप्यानको व्यवस्था थिएन । धुलोले विद्यार्थीको स्वास्थ्यमा प्रभाव पार्छ भन्ने कसले सोच्ने ! विद्यालयमा खानेपानीको समेत व्यवस्था रहेनछ ।
पहाडमा विद्यार्थी एक घन्टाभन्दा बढी बाटो हिँडेर विद्यालय आइपुग्छन् । घरमा एकसरो धन्दा भ्याएपछि मात्र भात खाएर उनीहरू विद्यालय दौडिन्छन् । विद्यालय छुट्टी भएपछि पनि घर पुगेर खाजा खाएपछि केही न केही कामधन्दा गर्नैपर्छ । थकाइले तातो पेटमा पर्ने बित्तिकै निद्रा लागिहाल्छ । कति खेर पढ्नु ! विद्यार्थीले यस्तो अनुभव सुनाए ।
लाग्छ, विद्यालय एउटा पसल हो । शिक्षकहरू साहुजी हुन् । त्यो पसलमा जाने ग्राहकरूपी विद्यार्थीलाई उनीहरू तोकिएको घन्टीको सामान दिन्छन्, पठाउँछन् । अरु केही व्यवस्था छैन । यस्तोले कसरी हुनु शिक्षा गुणस्तरीय !
यी चार विद्यालयमा पुगेपछि लाग्यो, नेपालका सामुदायिक विद्यालयको अवस्थामा केही पनि सुधार भएको छैन । विद्यालयमा न्युनतम भौतिक पूर्वाधार, शौचालय, खानेपानी, खेल्ने चउर, फोहोर फाल्ने डस्टप्यान छैन । कसरी पढ्छन्, विद्यार्थीले दिनभरि टिकेर ?
हाम्रो शिक्षण तथा सिकाइ प्रणाली पनि परम्परागत छ । विद्यार्थी केन्द्रित पढाइ हुनसकेको छैन । नियमित पाठ्य–पुस्तक मात्र पढाइन्छ । बाहिरका किताब, अडियो, भिडियो, ल्याब छैनन् । भएकाले प्रयोग गरेका छैनन् । ८ कक्षाका विद्यार्थी फरर नेपाली पढ्न तथा लेख्न सक्दैनन् । ग्रेडिङ प्रणालीका कारण विद्यार्थीले पढ्न छाडेको प्राय: शिक्षकको गुनासो थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर कम हुँदै गएको छ । विषयगत शिक्षक छैनन्, भएकाले पढाउँदैनन्, पढाउनेले पनि विद्यार्थीलाई बुझाउँदैनन् । शिक्षक आफै नलागेसम्म विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सक्दैनन् । शिक्षामा सामाजिक संरचना, आर्थिक स्तर, भौगोलिक अवस्था, विद्यार्थीको क्षमता, उपलब्ध साधन र स्रोतले पनि प्रभाव पार्छ । यीमध्ये धेरै कुराको व्यवस्थापन आन्तरिक रूपमा गर्न सकिन्छ । शिक्षण सेवा पनि हो भन्ने भाव शिक्षकमा जाग्नुपर्छ । अनुगमन प्रक्रियामा सुधार जरुरी छ ।

हामीलाई सर्वेक्षणका क्रममा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाबाट धेरै सहयोग पायौँ । यो सीपलाई शिक्षाको विकासमा जोड्न पाए कत्ति राम्रो हुन्थ्यो !

Source: Kantipurdaily

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा