एमालेको सुदूरपश्चिम इन्चार्ज को ? रावल र भट्ट दुवैको दाबी

news
news
September 15, 8:48

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले इन्चार्ज कसलाई मान्ने भन्नेमा कार्यकर्तामा पनि अन्योलता देखिएको छ ।
     
अध्यक्ष केपी ओलीले रावल र भट्टसहित केही नेताहरूलाई आफ्नो निवासमा बोलाएर प्रदेश इन्चार्ज भट्ट नै भएको भनेका खबरहरू दुई दिनअघि सार्वजनिक भएका थिए । योसँगै प्रदेश इन्चार्जको विवाद सतहमा देखिएको छ । सुदूरपश्चिम पुगेका दुवै नेताले आफू नै प्रदेश इन्चार्ज भएको दाबी गरेका छन् ।

    कञ्चनपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै एमालेको सुदूरपश्चिम इन्चार्ज भएको दाबी गरे । पार्टीले आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भन्दै भ्रममा नपर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । अध्यक्ष ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई इन्चार्ज, कर्ण थापालाई अध्यक्ष र भीम रावललाई सहजीकरणको संयोजनको जिम्मेवारी तोकेको भट्टको दाबी छ । 

‘अध्यक्षज्यूले मलाई तपाईं नै प्रदेश इन्चार्ज हो भन्नुभएको छ । उपाध्यक्ष कमरेड भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो ।’ भट्टले भने, ‘उहाँसँग मेरो व्यक्तिगत मतभेद छैन ।’ 

तत्कालीन नेकपामा विवाद हुँदा ओलीलाई साथ दिएका नेता भट्ट अदालतको फैसलाले दुई पार्टी पूर्ववत् अवस्थामा फर्केपछि माओवादी छोडेर एमालेमा लागे । पार्टी विभाजनको अप्ठ्यारो वेला भट्टको दरिलो साथ पाएका ओलीले उनलाई सुदूरपश्चिम इन्चार्ज बनाएका थिए । पार्टी त्यागेसँगै माओवादीले कारबाही गरेपछि उनको सांसद पद गुमेको छ । अध्यक्ष ओलीले भट्टलाई नै प्रदेश इन्चार्ज तोकेको ओलीनिकट सुदूरपश्चिमका नेताहरू बताउँछन् ।

रावलले भने एमाले एकताका लागि भएको १० बुँदे सहमतिपछि पार्टी २ जेठ २०७५अघिको अवस्थामा फर्केकाले प्रदेश संयोजक स्वतः आफू भएको दाबी गरेका छन् । मंगलबार नै धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले पार्टीको सुदूरपश्चिम संयोजक आफू भएको दाबी गर्दै संयोजकबाट हटाइएको हल्ला प्रायोजित भएको बताए । 

‘कोहीकोही समाचार दिन्छन्, कसले कसलाई हटायो रे । त्यस्ता प्रायोजित समाचारको कुनै अर्थ छैन । यसलाई तपाईंहरूले गम्भीर रूपमा नलिनुहोला ।’ पार्टीकै केही नेताले आफूलाई संयोजकबाट हटाएको हल्ला चलाएको उनको संकेत थियो । तत्कालीन एमालेमा रावल सुदूरपश्चिम संयोजक थिए ।

१० बुँदे सहमतिलाई रचनात्मक रूपमा कार्यान्वयन गर्न, सबै तहका कमिटी, जनसंगठनका पदाधिकारी र सदस्यलाई पार्टी २०७५ जेठ २ अघि फर्केको अवस्थालाई ध्यानमा राखी काम गर्न अन्तरपार्टी निर्देशन जारी भइसकेकाले यसमा कुनै अलमल नरहेको उनको भनाइ थियो ।

पेलेरै हटाउँला भन्ने नसोचे हुन्छ : रावल
पार्टी एकताका लागि आफू त्याग गर्न तयार रहेको तर पेलेरै जिम्मेवारीबाट हटाउने नसोच्नसमेत उनले चेतावनी दिए । ‘मलाई कसैले एमालेको रक्षाका लागि तपाईंले हटिदिँदा राम्रो हुन्छ भने जुनसुकै त्याग गर्न पनि तयार छु । तर, त्यो नगरेर कुनै व्यक्तिलाई जबरजस्ती पेलिदियो, कसैले पेलुँला सोच्नु भ्रम मात्र हो ।’ उनले भने, ‘पार्टीको उपाध्यक्ष, यहाँको कमिटीको संयोजकको हैसियतले म विगतका कुरा बिर्सन आग्रह गर्छु । एकताबद्ध भएर अघि बढौँ । विगतका कुरालाई लिएर भेदभाव गर्ने र विवाद सिर्जना गर्ने काम नगरौँ ।’

पार्टीभित्र आफूहरू विधि र पद्धतिका लागि लड्न सक्ने उनको भनाइ थियो । विदेशीले नेपालको राजनीतिक, सुरक्षालगायत प्रणालीलाई बिथोल्न खोजेपछि आफूहरू पार्टी एकताको पक्षमा उभिएको रावलले बताए । 

‘यी स्थितिको समाप्तिको लागि एमालेको रक्षा हुनु अत्यन्त आवश्यक छ । त्यही भएर हामीले पार्टी विभाजनका कुनै पनि कुरामा सहमति हुन्न भन्यौँ ।’ रावलले भने, ‘तर हामीले पार्टीलाई बलियो बनाउनु भन्नुको अर्थ यिनले त जसरी पनि पार्टी एकता गरौँ भन्दा रैछन् । यिनलाई किनारा लाइदिऊँ, यी कुनै पदमा छन् भने त्यहाँबाट पनि हटाइदिऊँ भनेर कसैले सोच्यो भने त्यो ठूलो गल्ती हुनेछ । हामी जसरी देशको लागि लड्न सक्छौँ, जनताको लागि लड्न सक्छौँ । पार्टीभित्र पनि विधि, पद्धति, प्रणालीको लागि त्यत्तिकै लड्न सक्छौँ भन्ने कुरा पनि सबैले बुझ्नुपर्छ ।’

एमालेमा विवाद उत्कर्षमा पुग्दासम्म रावल वरिष्ठ नेता माधव नेपाल समूहमा थिए । ओलीको खरो विरोधीका रूपमा चिनिएका रावलले पार्टी विभाजन हुँदा भने एमालेमै रहने निर्णय गरे । नेपाल पक्ष बलियो रहेका कारण एमाले विभाजनअघिसम्म सुदूरपश्चिममा रावलको वर्चस्व थियो । पार्टीमा एकलौटी गरेका रावलसँग प्रदेशका ओलीनिकट शीर्ष नेताहरूसँग विगतदेखि नै तिक्त सम्बन्ध रहँदै आएको छ । 

फरक समूहमा रहेका वेला आफूहरूमाथि रावलले शक्तिमा हुँदा गरेको असहिष्णु व्यवहारका कारण ओली पक्षका नेताहरू उनलाई इन्चार्जको जिम्मेवारी दिन नहुने लबिङमा छन् । उनीनिकट यहाँका अधिकांश नेता, कार्यकर्ता एकीकृत समाजवादीमा लागेपछि प्रदेशमा कमजोर देखिएका छन् ।

रावलनिकट नेताहरू भने पार्टी जेठ २ अघिको अवस्थामा फर्केकाले रावल स्वतः इन्चार्ज भएको दाबी गर्छन् । नवौँ महाधिवेशनपछि विधिवत रूपमा रावललाई संयोजक चयन भएकाले पार्टी जेठ २ अघिको अवस्थामा फर्कंदा रावल स्वतः इन्चार्ज हुने उनीनिकट सुदूरपश्चिम प्रदेश सभा सदस्य अर्चना गहतराज बताउँछिन् ।

‘पार्टी जेठ २ अघि फर्कने भनेपछि इज्चार्ज को हुने भन्ने विवादको विषय नै होइन, त्यसवेला जसको जिम्मेवारी जे थियो त्यही हुन्छ ।’ उनले भनिन्, ‘हाम्रो पार्टीको प्रदेश इन्चार्ज रावल कमरेड नै हो ।’ 

अध्यक्ष थापा भन्छन्- भट्ट नै इन्चार्ज 
एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भने प्रदेशको इन्चार्ज लेखराज भट्ट नै भएको बताए । रावललाई इन्चार्जको जिम्मेवारी दिन पार्टीले नयाँ कार्यविभाजन गर्नुपर्ने उनले बताए । ‘अस्ति पनि अध्यक्ष, महासचिव, संसदीय दलको उपनेतासहित बसेर प्रदेश इन्चार्ज लेखराजजीलाई नै तोकेको हो ।’ अध्यक्ष थापाले भने, ‘जेठ २ अघि, नेकपा हुँदा र नेकपामा विवादपछि गरी पार्टीमा तीनवटा कार्यविभाजन छन् । जेठ २ अघिका कार्यविभाजनलाई पनि समायोजन गर्न आवश्यक छ ।’

रावलप्रति संकेत गर्दै अध्यक्ष थापाले कसैले म इन्चार्ज हुँ भनेर दाबी गर्दैमा नहुने बताए । ‘उहाँ पार्टीको उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षको पारिभाषित जिम्मेवारी छ ।’ थापाले भने । १० बुँदे कार्यान्वयनका लागि प्रदेशमा बनेको कार्यदलको सहजीकरण र समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी पनि पार्टीले रावललाई दिएको अध्यक्ष थापाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा