आदर्श गाउँपालिकाका विद्यालय अनिश्चित कालका लागि बन्द
डोटी- आदर्श गाउँपालिकाका विद्यालयहरु अनिश्चित कालका लागि बन्द गरिएको छ । गाउँपालिकाले विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुको तलब बढाउँने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताहरुले विद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्ने निर्णय का हुन् ।
उनिहरुको आन्दोलनलाई एकेबद्धता जनाउँदै गाउँपालिका शिक्षक महासंघ पनि आन्दोलित बनेको छ । अन्य पालिकाहरुले सहमति पछि पारिश्रमिक बढाएको तर आदर्श गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका हुन् ।
संघीय सरकारले निर्णय गरे बमोजिम स्थानीय सरकारका तर्फबाट प्रति व्यक्ति ७ हजार पारिश्रमिक बढाउनु पर्ने उनिहरुको माग छ । आफुहरुको माग पुरा नभए सम्म गाउँपालिकाका ३३ वटै विद्यालय बन्द गर्ने शिक्षक महासंघ आदर्श गाउँपालिकाका अध्यक्ष गणेश दाहलले बताए ।
कोरोना भाइरसका कारण विद्यार्थीहरुको पढाई नै अन्यौलमा परेका बेला पुनः विद्यालय बन्द हुनु दुःखद रहेको नेबिसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । विद्यालय कर्मचारी र सहजकर्ताहरुको माग लाई एथावत सम्बोधन गरी विद्याल सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।