गणकलाई छाङरु जान भारतले दिएन बाटो

news
news
November 18, 12:29

दार्चुला,२ मंसिर । भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् ।

कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गर्ब्याङ हुँदै महाकाली नदीको पुल (सीता पुल) तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । तर, एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएको छैन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पहिलोपटक कात्तिक २५ मा भारतीय बाटो हुँदै छाङरु जान पासको व्यवस्थाका लागि पत्राचार गरिएकामा कुनै जवाफ नआएको बताइन् । पहिलो पत्रको जवाफ नआएपछि मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएको र त्यसको पनि जवाफ नआएको उनले जानकारी दिइन् ।

लिखित पत्राचार बाहेक प्रशासनले मौखिक रूपमा पनि अनुमति दिन भएको ढिलाइबारे भारतीय प्रशासनसँग कुरा गरेको थियो तर उताबाट ‘हुन्छ, प्राविधिक कारणले हो’ भन्ने जवाफ मात्रै आएको प्रशासन स्रोतको भनाइ छ ।

भारतीय बाटो हुँदै छाङरु जान नदिएकोबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई समेत मौखिक जानकारी गराइसकेको छ । जनगणनामा खटिएका अधिकारीहरूले तथ्यांक विभागलाई पनि यसको जानकारी गराएका छन् । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले समेत भारतीयबाट भएको अवरोधबारे हेडक्वार्टरलाई जानकारी गराइसकेको छ ।

यसअघिको तथ्यांकअनुसार टिंकरमा करिब ७५ र छाङरुमा करिब १ सय २५ घरधुरी थिए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यस विषयमा दार्चुला प्रशासनसँग थप बुझेर जानकारी गराउन सकिने बताए ।

भारतीय अतिक्रमणमा परेको नेपाली भूमि कालापानी क्षेत्रका तीन बस्ती गुन्जी, नावी र कुटीसमेतको विभिन्न माध्यमबाट अनुमानित जनसंख्या-तथ्यांक निकाल्ने प्रयास सरकारले गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा