बाढी प्रभावितलाई हिउँदे बालीको बीउ सहयोग

news
news
November 20, 7:22

धनगढी,४मंसिर । बाढीले धानबालीमा सबैभन्दा बढी क्षति गरेको कैलालीस्थित कैलारी गाउँपालिकाका किसानलाई गहुँको बीउ सहयोग भएको छ । कैलारी गाउँपालिकाको कार्यालयले किसानलाई गहुँको बीउ सहयोग गरेको हो । सो गाउँपालिकाले बीउ खरिद गरेर किसानलाई वितरण गरेको छ । गत कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेको थियो । धानबालीमा अत्यधिक क्षति भएपछि हिउँदे खेतीका लागि कृषि सामग्री जुटाउन नसकिरहेका किसानले गाउँपालिकासंग बीउबिजन माग गरेका थिए । किसानको माग अनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको आर्थिक विकास समितिका संयोजक कैलाशप्रसाद चौधरीले जानकारी दिए ।

‘किसानको आवश्यकता गहुँको बीउ थियो’, उनले भने । ‘उनीहरुले माग गरे अनुसार गाउँपालिकाको कार्यालयले बीउ उपलब्ध गराउने कार्य गरिरहेको छ ।’ उनका अनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको छ । अझै पनि अपुग रहेको चौधरीले जनाए । बाढीले कृषिमा अत्यधिक क्षति गरेपछि सो गाउँपालिकामा रहेको सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम गाउँपालिकाले कोषमा बजेट हालेको थियो । कार्यपालिकाको निर्णयले कोषबाट दुई करोड रुपैयाँ झिकेर किसानको लागि गहुँको बीउ खरिद गर्ने गरेको निर्णय अनुसार बीउ किनेर किसानलाई वितरण गरेको जनाइएको छ । 

गाउँपालिकाको कृषि शाखाका अनुसार सबैभन्दा बढी क्षति भएको वडा नम्बर ७ मा एक हजार बोरा बीउ दिइएको थियो । त्यसपछि बढी क्षति भएको वडा नम्बर ३ साढे सात सय बोरा र ५ पनि त्यति नै बोरा गहुँको बीउ दिइएको थियो । बाँकी अरु वडामा ६००÷६०० बोरा गहुँको बीउ दिइएको कृषि शाखा प्रमुख दीपक खड्काले बताए । उनले अझै बीउ अपुग रहेको र अब गाउँपालिकासंग बीउ खरिदका लागि पैसा पनि रहेको जनाए ।  कैलारी गाउँपालिकामा नौ हजार ४१८ परिवारको धानबाली बाढीले नष्ट गरेको थियो । गाउँपालिकाभरि छ हजार हेक्टर (१२ हजार बिघा) जमिनको धानबाली नष्ट भएको जनाइएको छ । गाउँपालिकामा सात हजार १२६ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको कृषि शाखाले जानकारी दिएको छ । 

सो गाउँपालिकाले १० कट्ठासम्म जमिनमा धानबाली नोक्सान भएका परिवारलाई ४० केजी, १० कट्ठादेखि एक बिघा जमिनमा नोक्सान भएका परिवारलाई ८० केजी गहुँको बीउ दिने निर्णय गरेको थियो । यसैगरी, एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने निर्णय गरेको थियो । तर, कार्यपालिकाले निर्णय गरे अनुसारको परिमाणमा बीउ दिन नसकिरहको वडा नम्बर ३ का अध्यक्षसमेत रहेका समितिका संयोजक चौधरीले जानकारी दिए । ‘हामीले छुट्टयाएको पैसाले खरिद गरेको गहुँ अपुग भयो’, उनले भने । ‘बजेट नपुगेका कारण कार्यपालिकाले गरेको निर्णयको अनुपातमा बीउ दिन सकेका छैनौं ।’

गाउँपालिकाले वडाहरुमा पठाएको गहुँको बीउ गाउँ–गाउँका भलमन्सामार्फत वितरण भइरहेको छ । सानो÷ठूलो गाउँ हेरेर वडाले ८० देखि १२० बोरासम्म एक गाउँमा बीउ पठाएकोमा गाउँवासीले आफै बाँडीचुडी बीउ लिइरहेको आर्थिक विकास समितिका संयोजक चौधरीले बताए । ‘त्यसरी बाँडफाँट गर्दा धेरथोर भए पनि सबैले बीउ पाएका छन्’, उनले भने ।  सबैभन्दा बढी क्षति भएका ३, ५ र ७ वडामा केही थप गरेर बीउ दिइएको जनाइएको छ । वडा नम्बर ७ को वडा कार्यालय वडाभरिका किसानलाई एक बोराको दरले गहुँको बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले दिएको अनुदानको बीउ अपुग भएपछि वडा कार्यालयले थप बीउ आफै खरिद गरेर वितरण गरिरहेको गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

 
उनले वडा कार्यालयले केही शीर्षकमा रहेको बजेट रकमान्तर गरेर २० लाख रुपैयाँको गहुँको बीउ खरिद गरेर बाँडिरहेको छ । तालिमको १५ लाख, ह्युम पाइपको चार लाख र प्रशासनिक खर्चको एक लाख रुपैयाँ गरेर २० लाख रुपैयाँ बजेट रकमान्तर गरेर गहुँको बीउ खरिद गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिए । ‘अहिले किसानलाई तालिमभन्दा गहुँको बीउ आवश्यक हो’, उनले भने । ‘त्यसैले वडाले बोल्ड निर्णय गरेर किसानलाई वडाकोतर्फबाट गहुँको बीउ दिएको छ ।’ सो वडाको रतनपुर, मोहनपुर, शिवपुर लगायतका गाउँका किसानले बीउ पाइसकेको अध्यक्ष चौधरीले जानकारी दिए । उनले अझै केही गाउँमा वितरण गर्न बाँकी रहेको बताए । गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न सहकारीले उत्पादन गरेको गहुँको बीउ र धनगढी, टीकापुरबाट खरिद गरेर किसानलाई वितरण गरेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा