म रकेटको स्पिडमा छु, तर कर्मचारी थोत्रा ट्वीनटर जस्ता भएर काम गर्न सकिएको छैन : मन्त्री प्रेम आले

Prem
Prem
December 01, 7:47

काठमाडौँ – 

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधवार नेपाल पर्वतारोहण सङ्घले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पिड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउन्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्र गतिमा काम गरिरहेको भए पनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।

पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए । पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको उनले गुनासो गरे ।

मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा बिछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ । अनि अघिल्लो वर्ष जसले पाएको हो,त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिस्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिस्पर्धा भएमा ७–८ करोडमा सकिने काम पुरै १५ करोड लाग्ने हुन्छ । यसो हुँदा राज्यलाई घाटा हुन्छ । म कर्मचारीलाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,तर मेरा कर्मचारी साथीहरू यो वा त्यो भन्छन् । म रकेटको स्पिडमा काम गर्न खोज्दै छु,मेरा कर्मचारी साथीहरू थोत्रा ट्वीनटरजस्ता छन् । अनि अलि बढी स्पिड बढाऊँ न त भन्यो भने यो मन्त्रीले दुःख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।’

नेपाल पर्वतारोहण सङ्घले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए । सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरूकै समस्या भएको पनि बताए ।

साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।

पर्यटन मन्त्री आले यसअघि वन मन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्यक्ति दिएका थिए । त्यसै गरी वन मन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रमण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा