गुरुयोजना अनुसार सुरु भयो जाखोर तालको काम  

jakhor tal plan.
jakhor tal plan.
June 19, 11:46

धनगढी, असार ४  - धनगढी उपमहानगरपालिका ७ मा रहेको जाखोर तालमा गुरु योजना अनुसारको पूर्वाधार निर्माण कार्य सुरु भएको छ ।
धार्मिक तथा पर्यटकिय स्थल जाखोरताल क्षेत्रको विकासका लागि धनगढी उप–महानगरपालिको गुरु योजना परामर्शदाता रेडिको प्रालि काठमाण्डौंको तयार गरेर गत चैतमा हस्तान्तरण गरेको थियो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गुरु योजना अनुसार निर्माण पूर्वाधार निर्माण कार्य सुरु भैसकेको बताए । नगरप्रमुख वडले जाखोरतालमा निर्माण हुने सबै पूर्वाधार गुरु योजनामा टेकेर निर्माण हुने बताए ।  जाखोर तालको पूर्वाधार निर्माणका लागि  झण्डै साढे ५ करोडको टेन्डर मार्फत काम सुरु भएको उप–महानगरपालिकाका डिभिजनल ईन्जीनियर दिजराज भट्टले बताए । गुरु योजना अनुसार निर्माण गरिने सबै संरचना तयार हुन करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने ईन्जीनियर भट्टले जानकारी दिए । अहिले तालको वरिपरीको ट्रयाक निर्माण भैरहेको छ ।
गुरु योजनामा जाखोर ताल परिसरमा मन्दिर नजिक धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन सङ्ग्रहालय प्रस्ताव गरिएको छ । यसैगरी, दुई वटा प्रवेशद्वार, जाखोर र मुरफट्टी तालको बीचमा पिकनिक स्थल, मेला स्थल प्रस्ताव गरिएको छ । जाखोर तालको साँघुरो ठाउँमा झोलुङ्गे पुल, तालको उत्तरतर्फ शिवको मूर्ति परिकल्पना गरिएको छ । यसैगरी, जाखोर ताल, मुरफट्टा र मुरफट्टी ताललाई जोडेर पद्मार्ग बनाउने, त्यसको छेउमा साइकल ट्रयाक पनि रहने जनाइएको छ । पदमार्गको एक ठाउँमा भाले कुखुराकोमात्रै मूर्ति रहने छ ।
जाखोर र मुरफट्टा तालमा पर्यटकका लागि डुङ्गा सञ्चालन गर्न सक्ने जनाइएको छ । यसैगरी, मुरफट्टी तालमा गोही र कछुवा पाल्न सकिने बताइएको छ । प्रस्ताव गरिएको १४ वटा संरचना निर्माणका लागि भ्याटबाहेक १५ करोड ७७ लाख चार हजार ८६१ रुपैयाँ बजेट आवश्यक हुने परामर्शदाता किशोर थापाले बताए । उनका अनुसार धर्मशाला र संग्रहालय निर्माणका लागि थप दुई करोड रुपैयाँ आवश्यक पर्न सक्छ । सबै गरेर करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने छ ।
धनगढी बजारबाट ४.२ किलोमिटर टाढा रहेको जाखोर ताल आसपासमा १४९ हेक्टर क्षेत्रफलमा सर्भे गरिएको छ । आन्तरिक पर्यकटको जमघट भइरहने जाखोर तालको कुल क्षेत्रफल १२.४५ हेक्टर, मुरफट्टा ताल २.५१ हेक्टर र मुरफट्टी तालको क्षेत्रफल १.३२ हेक्टर रहेको छ । जैविक विविधतायुक्त भएकाले जाखोर ताल परिसरमा आन्तरिक पर्यटकहरुको भीडभाड हुने गर्दछ । विदाको दिनमा पिकनिक खानेदेखि घुम्ने युवायुवती, कर्मचारी पनि जाखोर तालमा पुग्ने गरेका छन् । दिनमै सयको हाराहारीमा मान्छेहरु जाखोर तालमा घुम्न आउने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम राना बताउँछन् । 
 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा