कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

एक
एक
January 06, 9:50

धनगढी,२२ पुष / कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ ।सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ ।

अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ ।

१ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० कक्षासम्म प्रतिविद्यार्थी ३५ रुपैयाँका दरले स्रोत केन्द्रलाई रकम बुझाउनुपर्ने परिपत्रमा उल्लेख छ । अर्कोतिर सामुदायिक विद्यालयले अर्धवार्षिक परीक्षा शुल्कको बहानामा विद्यार्थीबाट मनलाग्दी शुल्क लिएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक जना शिक्षकले १ देखि ५ कक्षामा अध्ययरत प्रतिविद्यार्थीबाट १००–२०० रुपैयाँसम्म र सोभन्दा माथि प्रतिविद्यार्थीबाट करीब ५०० रुपैयाँसम्म लिने गरेको जानकारी दिए ।

तर कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समिति संयोजक विनोद भट्टराईले परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सरकारबाट कुनै पनि बजेटको व्यवस्था नहुँदा अभिभावकको सहमतिका आधारमा शुल्क लिएको दाबी गरे ।

हाल स्रोत केन्द्र नभए पनि सबै विद्यालयमा एकरूपता ल्याउन पालिकास्तरको विद्यालयलाई स्रोत केन्द्रको नाम दिइएको भट्टराईले बताए । यसैबीच, भट्टराईले आफूहरू मात्रै नभई देशभरका सामुदायिक विद्यालयले केही न केही रूपमा शुल्क लिइरहेको दाबी गरे ।

कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले हाल स्रोत केन्द्र नभएको र विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाइने बताए । लिएको भए कथित स्रोत केन्द्र र विद्यालयले फिर्ता गर्नुपर्ने शाखा प्रमुख मिश्रले बताए ।

प्रमुख मिश्रका अनुसार परीक्षा सञ्चालन, व्यवस्थापन तथा अन्य प्रशासनिक खर्चको लागि गाउँपालिकाले ‘नन सेलरी पीसीएफ’ अर्थात् विद्यार्थी संख्याका आधारमा रकम पठाउँदै आएको छ तर यस वर्ष अझै पठाउन नसकिएको बताउँदै उनले केही दिनमा पठाइने बताए ।

गाउँपालिकाले प्रत्येक विद्यालयलाई २ देखि ५ कक्षासम्म अध्ययनरत प्रतिविद्यार्थी १५० रुपैयाँ, ६ देखि १० कक्षासम्म अध्ययनरत प्रतिविद्यार्थी २०० रुपैयाँ र ११ र १२ कक्षामा अध्ययनरत प्रतिविद्यार्थी २५० रुपैयाँका दरले ‘नन सेलरी पीसीएफ’ पठाउँदै आएको बताइएको छ । गाउँपालिकामा ९ माध्यमिक विद्यालयसहित ४८ वटा सामुदायिक विद्यालयमा ९ हजार बढी विद्यार्थी अध्ययनरत छन् । 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा