नेकपा एमाले अधिवेशन : सुदूरपश्चिममा संस्थापन पक्षकै वर्चश्व

news
news
January 14, 10:38

धनगढी  ३० पुस /  नेकपा एमालेले सुदूरपश्चिमका ८ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ । गत पुस २३ गते एकैसाथ अधिवेशन शुरु भएका ८ जिल्लामा सर्वसम्मत र निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चुनिंदा संस्थापन पक्षको वर्चश्व छ । एकता प्रक्रियाबाट आएका र १० बुँदे पक्षधरहरु भने रक्षात्मक अवस्थामा देखिएका छन् ।

कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये बझाङमा भने अधिवेशन हुन बाँकी छ ।

१ )  कैलाली     

सबैभन्दा बढी संगठित सदस्य रहेको कैलालीमा संस्थापन पक्षका रतन थापा र रणबहादुर चन्दले प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा चन्दलाई ४ मतले पराजीत गर्दै निवर्तमान अध्यक्ष समेत रहेका थापा विजयी भए । उपाध्यक्षमा संस्थापन पक्षकै दुर्गा जोशी विजयी भएका छन् ।

सचिवमा चन्द प्यानलका डेजी पाण्डे विजयी भएका छन् । उनले एकता प्रक्रियाबाट आएका निवर्तमान सचिव समेत रहेका दानबहादुर विकलाई पराजित गरेका हुन् । उपसचिवमा पनि उनकै प्यानलबाट उम्मेदवारी दिएका ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भए ।

कैलालीमा पाँच जना पदाधिकारीमा मध्ये अध्यक्षसहित ४ जना संस्थापन पक्ष र उपसचिवमा विजयी शाही १० बुँदे पक्षधर हुन् । यहाँ पदाधिकारीमा एकता प्रक्रियाबाट आएका सबै जना पराजित भएका छन् ।

कञ्चनपुर

कञ्चनपुरमा एकता प्रक्रियाबाट आएका निवर्तमान अध्यक्ष बिरबहादुर थापा र निवर्तमान सचिव सुरेन्द्र विष्ट प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । त्यहाँ थापालाई पराजित गर्दै विष्ट प्यानलसहित विजयी भएका छन् । विष्ट भीमदत्त नगरपालिकाका मेयर समेत हुन् । उपाध्यक्षमा विष्ट प्यानलका लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट, उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ विजयी भएका छन् ।

कञ्चनपुरमा एकता प्रक्रियाबाट आएका पूर्व माओवादी र १० बुँदे पक्षधर एक ठाउँमा उभिएर चुनाव लडेपनि संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्न असफल भएका छन् ।

३ ) अछाम

एमालेका पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावलको गृह जिल्ला अछाममा उनी पक्षधर उम्मेदवार पराजित भएका छन् । रावल पक्षका प्रकाशबहादुर शाहलाई पराजित गर्दै संस्थापन पक्षका चन्द्र बोहरा विजयी भए ।

उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर, सचिवमा भीमबहादुर रावल र उपसचिवमा प्रेमबहादुर महर विजयी हुँदा उपसचिवमा संस्थापन पक्षका डम्बर बिसी पनि विजयी भएका छन् ।

 दार्चुला

एमाले दार्चुलाको नयाँ नेतृत्व चयनका लागि पनि निर्वाचन भएको थियो । दार्चुलामा १० बुँदे पक्षधरका ज्ञानेन्द्र घर्तीलाई फराकिलो मत अन्तरले पराजित गर्दै संस्थापन पक्षका प्रेमसिंह धामी विजयी भएका छन् । उपाध्यक्षमा संस्थापन पक्षका चरन बुुढाथोकी, सचिवमा शेरसिंह धामी, उपसचिवमा खडक बडाल र एकता प्रक्रियाबाट आएकी चन्द्रादेवी कुुँवर विजयी भए ।

सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएका मात्र नभएर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएका जिल्लामा पनि संस्थापन पक्षकै वर्चश्व छ । सर्वसम्मत नेतृत्व चयन भएको बाजुरा, डोटी, बैतडी र डडेल्धुरामध्ये डोटीबाहेक सबै जिल्लामा संस्थापन पक्षले नै नेतृत्व पाएको छ ।

बैतडी

बैतडीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु गरिए पनि उम्मेदवारहरुलाई मनोनयन फिर्ता गर्न लगाएर सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गरिएको छ । यहाँ अध्यक्षमा मनोनयन दर्ता गराएका गोरखबहादुर चन्दले मनोनयन फिर्ता लिएपछि निवर्तमान अध्यक्ष समेत रहेका सुरेन्द्र पाल अध्यक्ष बने । उपाध्यक्षमा एकता प्रक्रियाबाट आएका रमील बम र सचिवमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष समेत रहेका चक्र कार्की सर्वसम्मत भए । उपसचिवमा सहमतिका आधारमा मनोनित गर्ने तयारी छ ।

६  डडेल्धुरा

डडेल्धुरामा भने संस्थापन पक्षका प्रकाशबहादुर साउँद सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा एकता प्रक्रियाबाट आएका धनबहादुर धामी ९विवेक०, सचिवमा संस्थापन पक्षका गजेन्द्र शाही, उपसचिवमा मीन बोगटी र अन्जु गैरे चयन भए । डडेल्धुरामा पदाधिकारीमा १० बुँदे पक्षधर अटाउन नसकेको पाइएको छ ।

बाजुरा

बाजुरा अध्यक्षमा भने निवर्तमान अध्यक्ष कालीबहादुर शाही दोहोरिएका छन् । संस्थापन पक्षकै शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनी जगन्नाथ गाउँपालिकाका अध्यक्ष पनि हुन् । उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् ।

डोटी

एमालेले डोटीमा पनि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा निवर्तमान अध्यक्ष समेत रहेका चक्र मल्ल पुनः सर्वसम्मत चयन भएका छन् । उनी १० बुँदे पक्षधर मानिन्छन् । उपाध्यक्षमा १० बुँदे पक्षधर मन्जु मलासी, सचिवमा संस्थापन पक्षका शेर बहादुर मल्ल सर्वसम्मत भएका छन् ।

९ जिल्ला रहेको सुदूरपश्चिममा बझाङमा हिमपातका कारण अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ । onlinekhabar

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा