अछाममा अझै खुल्दैनन् कुष्ठरोगी
अछाम,८ फागुन / अछामको मंगलसेन नगरपालिकाका ६५ वर्षीय पुरुष वर्षौंदेखि समाजभन्दा टाढा बसेका छन् । कारण, उनमा कुष्ठरोग छ । यो रोग लागेका व्यक्तिलाई समाजमा फरक तरिकाले हेर्ने गरेका कारण उनले वर्षौंसम्म धेरै अप्ठ्यारो परिस्थिति झेल्नु पर्यो ।
घरबाहिर पनि उनी हत्तपत्त निस्कँदैनन् । उनी अहिलेसम्म रोगबारे लुकेरै बसेका छन् । खुल्न पनि चाहँदैनन् । ‘इष्टमित्रको अगाडी त म आजसम्म खुलेर अनुहार देखाउन सकेको छैन । आजभन्दा १५ वर्ष अगाडी छोराको बिहे भयो । त्यसपछि छोरीको बिहे गर्नु पर्ने भयो । मेरो रोग देखेर न छोरी दिन माने न दिन माने,’ उनले समाजमा आफूले भोगेका पीडा सुनाउँदै भने, ‘गलत काम , अपराध गरेपछि कुष्ठरोग लाग्छ भन्ने सोचाइ छ । मलाई रोग लाग्यो । यसमा मेरो के दोष छ र । जसको असर मेरा छोराछोरी नातागोतासम्म पर्यो ।’ उनका छोराछोरीको बिहे त भयो तर बेलाबेला उनले अपहेलित हुनुपर्यो ।
कुष्ठरोग प्रभावित व्यक्तिको घरमा इष्टमित्रले सम्बन्ध नराख्ने सामाजिक चलनका कारण उनी लुकेरै बस्न बाध्य भएका हुन् । ‘कुलको इज्जत जोगाउनका लागि आजसम्म लुकेरै बसेँ । जतिले थाहा पाएका छन्, उनीहरूबाट अपमानित भएर बाच्नुपरेको छ,’ उनले दुखेसो पोखे । उनी जस्तै गाउँघरमा धेरै यस्ता व्यक्ति पनि छन् जो कुल र परिवारको इज्जतका लागि आफ्नो रोग लुकाउँदै आएका छन् । कतिपयले उपचार त के समाजमा मुखसमेत देखाउँदैनन् ।
कुष्ठरोगलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आएको छैन । रोग लाग्नेबित्तिकै उपचार गर्नेहरू कम छन । साँघुरो सामाजिक सोच, लज्जा, जनचेतनाको अभाव, अन्धविश्वासले बिरामीहरू खुलेर उपचार गराउने वातावरण नभएको बताउँछन् । परिवार र समुदायबाट विभेद हुने भएकाले कुष्ठरोगीहरू खुलेर सार्वजनिक ठाउँ र कार्यक्रममा जानसमेत हिच्किचाउने अवस्था रहेको मंगलसेन नगरपालिका ७ का वडा अध्यक्ष सिद्धप्रसाद ढुंगानाले बताए ।
‘समाजमा अझै पनि कुष्ठरोगीलाई हेर्ने परम्परागत नजर बदलिएको छैन । वैवाहिक सम्बन्ध गाँस्नै नचाहने कुचलन छ,’ ढुंगानाले भने, ‘राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन हुन सकेको छैन । समाजमा यसलाई पाप गर्नेहरूलाई लाग्ने रोगको रूपमा हेरिन्छ ।’ उनका अनुसार कुष्ठरोगीहरूले शैक्षिक तथा रोजगारीको न्यून अवसर पाउँछन् । सामाजिक संघसंस्थाहरूसँग सम्बन्ध र सम्पर्क न्यून हुन्छ । उनीहरूलाई छिमेक तथा साथीभाइबाट पनि समस्या परेका बेला खुलेर सहयोग हुँदैन ।
अस्पताल कम जान्छन
उपचारको दायरामा आउनेको संख्या कम रहेको र धेरैजसो कुष्ठरोगी समाजको डरले रोग लुकाइबस्ने गरेको जिल्ला अस्पतालकी सूचना अधिकारी गंगा बुढामगर बताउँछन् । ‘अस्पतालमा उपचार गर्न छिटफुट रुपमा मात्रै आउँछन् । लुकेरै औषधि खानुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । गाउँकै स्वास्थ्य संस्थामा औषधि माग्नेको संख्या पनि कम छ । औषधि खाएको थाहा पाए समाजले बहिष्कार गर्ने डर पनि हुन्छ ।’
आँखाले देख्न नसकिने ‘लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोगको बारेमा जनचेतना अभिवृद्धि गर्दै प्रत्येक घरमा पुगेर रोगी खोज्ने अभियान सुरु गर्नुपर्ने स्वास्थ्यकर्मी सुझाउँछन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख झनक ढुंगानाका अनुसार लाटो र फुस्रो दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखिने कुष्ठरोगका लक्षण हुन् । यस रोगको औषधि नेपालमा निःशुल्क पाइन्छ र नियमित सेवन गर्नाले रोग निको हुन्छ । कुष्ठरोगको बारेमा परम्परागत दैवी अभिशाप तथा वंशाणुगत भन्दै समाजमा अफवाह फैलाइँदा रोगको कारणभन्दा सामाजिक डरको कारणले मान्छेहरूमा त्रास फैलिएको उनको बुझाइ छ । ‘यसका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक देखिन्छ,’ उनले भने ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार अछाममा आर्थिक वर्ष २०७४/०७५ मा ३३, आर्थिक वर्ष २०७५/०७६ मा ५१, आर्थिक वर्ष २०७६/७७ मा २९ र आर्थिक वर्ष ०७७/७८ मा २६ कुष्ठरोगी उपचारमा थिए । चालु आर्थिक वर्षमा ४१ जना उपचाररत छन् । कुष्ठरोगीलाई समाजले विभेद गर्ने गरेको भए पनि कानुनी प्रावधानअनुसार न्याय तथा समान व्यवहार पाउनुपर्ने अधिकारकर्मीहरू बताउँछन् । संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरे पनि उनीहरूले समाजमा खुलेर जीवन बिताउन सक्ने अवस्था छैन ।