प्रकृतिको सौन्दर्य बारिल झरना संरक्षणको पर्खाइमा
बझाङ, असार १८ - बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना ओझेलमा पर्दै गएको छ । झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो ।
प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणको पर्खाइमा रहेको छ । २०० मिटर लम्बाइ रहेको बारिल झरना पर्यटकीय क्षेत्रका हिसावले निकै भरीपूर्ण छ ।
पर्यटकीय आकर्षणको रूपमा रहेको बारिल झरनाको समयमै संरक्षण र सम्वर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यको रुपमा चिनाउन सकिने प्रचुर सम्भावना रहेको स्थानीय खडकबहादुर विष्टले बताए । चारैतिर घना जंगलको बीचमा अवस्थित बारील झरना प्राकृतिक रुपमा निकै शोभायमान भएता पनि झरनाको प्रचार प्रशार भने अझै हुन सकेको छैन ।
बारील झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधार निर्माण गर्ने योजना नगरपालिकाको रहेको जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले बताइन् ।
जिल्ला बाहिरबाट सदरमुकाम चैनपुरसम्म आउने केही यात्रु यहाँको पर्यटकीय क्षेत्र बारील झरनाको अवलोकन गर्ने गर्दछन् । सदरमुकाम चैनपुरबाट ५ किलोमिटरको दूरीमा रहेको बारील झरना सौन्दर्यताका हिसावले पर्यटकीय क्षेत्र बनाउन सकिने निकै सम्भावना रहेको छ ।
प्राकृतिक सौन्दर्यता बोकेको बारील झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय निकाय तथा प्रदेश सरकारलाई स्थानीयबासीले माग गरेका छन् ।