डोटीका सवै पालिकामा काङ्ग्रेसको जित्ने दावी
बैशाख १४, डोटी / नेपाली कांग्रेस डोटीका शिर्ष नेताहरुले एक्लै भिडेर सवै पालिकामा जीत्ने दावी गरेका छन् ।
बुधबार प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका शिर्ष नेताहरुबिच एकता रहेको सन्देश दिदै गठबन्धन नगरेर पार्टी जोगाउन सफल भएको बताए । सो कार्यक्रममा जिल्ला सभापति नरेन्द्र बहादुर सिंह, प्रदेश सांसद भरत बहादुर खड्का, पूर्व पार्टी सभापति प्रदिप कुमार देउबा, आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्ट, जिल्ला सदस्य एवम् पूर्व महाधिबेशन प्रतिनिधी भूमीराज बडु लगायतका नेताहरु सहभागि रहेका थिए ।
पार्टी सभापति नरेन्द्र बहादुर सिंहले सुशासन, पारदर्शिता र विकास निर्माणका एजेण्डा सहित लामो अनुभव बोकेका नेताहरुलाई कांग्रेसले सेवाका लागि पठाएको बताए । कांग्रेसभित्रको आन्तरिक मनमुटावको फाइदा लिने प्रयत्न विपक्षीहरुले गरेपनि त्यो बिफल बनाएर छोड्ने उनको भनाई थियो । पत्रकार सम्मेलनमा सभापति सिंहले अधिकांस पालीकामा आकांक्षिहरु सौहार्दपूर्ण बाताबरण तयार गरी घरदैलो र चुनावी अभियानमा हिडिसकेको जानकारी दिए । ‘धेरै कार्यकर्ताहरु कांग्रेसको जनलहर देखेर हौसिनु भएको छ, हाम्रो जीत सुनिश्चित छ’, सभापति सिंहले भने, ‘गठबन्धनका नाममा हैसियतभन्दा बढी माग भएपछि सहमती भएन, त्यसमा केही दिन अल्झदा पार्टीका गतिबिधी रोकिएका थिए ।’
प्रदेश सांसद भरत बहादुर कठायतले जिल्ला तहका सवै नेताहरु एकजुट भएर ठाउँ ठाउँमा खटिसकेकाले अब जनता र कार्यकर्ता अलमलमा नपरी कांग्रेसलाई जीताउन अनुरोध गरे ।
कम्यूनिष्टहरु भ्रम फैलाउन सिपालु हुन्छन्’, सांसद खड्काले भने, ‘अहिलेको गठबन्धन गरेर जाने कुरामा व्यक्तिगत रुपमा आफु बिपक्षी भएपनि पार्टी नेतृत्वको निर्देशन परिपालना गर्नु दायित्व हो । तर जनता र कार्यकर्ताको इच्छा बिपरित नेतृत्वले बिबेक गुमाउन हुन्न ।’
नेपाली कांग्रेसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्ट, पूर्व पार्टी सभापति प्रदिप कुमार देउबा, पूर्व महाधिबेशन प्रतिनिधी भूमीराज बडुले पनि उम्मेदवारलाई जीताउन सबै नेता कार्यकर्ताहरु खटिनु पर्ने बताए । उनले असन्तुष्ट कार्यकर्ताहरुलाई समेत तितामीठा कुरा भूलेर पार्टीले दिएको जिम्मेवारीमा लाग्न अनुरोध गरे ।
टिकट बितरणप्रति असन्तुष्ट नेताहरुलाई २ दिनभित्र सहमती गराउने गरी आफ्नो नेतृत्वमा गृहकार्य भइरहेको सभापति सिंहले बताएका छन् । पत्रकारहरुको प्रश्नमा जवाफ दिदै सभापति सिंहले टिकट बितरण गर्दा लामो गृहकार्य र छलफलपछि बिना पूर्वाग्रह निर्णय लिए पनि केही साथिहरुको चित्त दुख्नु स्वभाविक रहेको बताए । ‘यद्यपी पार्टी नीति र पद्धती बाहिर नजाउन भनेर हामीले सम्झाइ बुझाई गरेर मुल लाइनमा फर्काउनु दायीत्व हो’, सिंहले भने, ‘उहाँहरुका जायज कुरा सुन्न तयार छौं, हदै सम्मको लचकता अपनाउछु तर उहाँहरुलाइ २ दिनभित्र मुललाइनमा फर्कन आग्रह गर्छु ।’