आन्दोलीत शिक्षकद्धारा कञ्चनपुरका विद्यालय ठप्प

August 29, 6:08

बैतडी, १२ भदौ । शिक्षक तथा लेखापाल माथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै तीन दिनदेखि कञ्चनपुरका विद्यालयहरू ठप्प छन् । गत आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन् ।

आइतबारको दिन भीमदत्त नगरपालिका भित्रका सामुदायिक विद्यालय मात्रै बन्द आह्वान गरिएको थियो । तर, मागप्रति स्थानीय प्रशासन मौन बसेको भन्दै सोमबारदेखि जिल्लाभरकै सामुदायिक र निजी विद्यालय बन्द आह्वान गरिएको हो ।

विद्यालय बन्द आह्वान गर्दै शिक्षक कर्मचारीहरू तीन दिनदेखि सडकमा आन्दोलन गर्दै आएका छन् । भदौ ३ गते यौन दुर्व्यवहार आरोप लागेका शिक्षक विरेन्द्र प्रसाद जोशीमाथि विद्यालय प्रांगणमै कुटपिट भएको थियो । प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि सामूहिक रूपमा ढुंगामुढा प्रहार हुनुका साथै कुटपिट गरिएको थियो ।

भीमदत्त नगरपालिका १० जिमुवामा रहेको शिद्धनाथ माविका शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो । अफिसबाटै हतकडी लगाएर प्रहरीले आफ्नो भ्यानमा लैजाने क्रममा उनीमाथि निर्घात कुटपिट भएको थियो ।

विद्यालय तथा शिक्षक कर्मचारीहरूले जिल्लास्तरको आन्दोलन परिचालन समिति बनाएर आन्दोलन गर्दै आएका छन् । शिक्षकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, शिक्षकमाथि लागेको आरोपको छानबिन हुनुपर्ने, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् । उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत शिक्षकहरूलाई वार्ताको लागि बोलाएको छ । वार्ता र आन्दोलनका कार्यक्रम सँगसँगै अघि बढिरहेको उनीहरूको भनाई छ । शिक्षक कर्मचारीहरूले थालेको आन्दोलनमा निजी विद्यालय सञ्चालकहरूले समेत ऐक्यबद्धता जनाएका छन् । उनीहरूले समेत सम्पूर्ण संस्थागत विद्यालय बन्द आह्वान गरेका हुन् ।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समिति मार्फत आन्दोलन हुँदै आएको हो । आरोपपछि विद्यालयमा नाराजुलुस र ढुंगामुढा प्रहार गर्न लागेपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षार्थ प्रहरी टोली खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक सीताराम विष्टको कमाण्डमा प्रहरी खटाएको हो ।

उनको सुरक्षामा आरोपित शिक्षक जोशीलाई कार्यकक्षबाटै हतकडी लगाई २०० मिटरको दुरीमा रहेको प्रहरी भ्यानमा लगिएको थियो । त्यही बेला जोशीमाथि ढुङ्गामुढा, ईट र धारिलो हतियार प्रहार भएको हो । गम्भीर घाइते भएका जोशीको हाल धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आएपछि प्रशासन मौन बसेको समितिको भनाई छ ।

उनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै भदौ १० गते भीमदत्त नगरपालिका भित्रका र ११ गतेदेखि जिल्लाभरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भने ६ जनालाई पक्राउ गरेको छ । त्यस्तै आरोपित शिक्षक जोशीको समेत प्रहरी सुरक्षा घेरामा उपचार भइरहेको हो । घटनामा संलग्न रहेका ८ जना मध्ये २ जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी कमल थापाले घटनाबारे किटानी जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा