भारतसँगको खेलअघि नेपाली क्रिकेट समर्थकलाई प्रशिक्षक देसाईको सन्देश : धैर्य गर्नुहोस्
काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् ।
एसिया कप क्रिकेटमा भारतसँगको खेलअघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग पनि एकै खालको रणनीति अपनाउनु पर्ने बताएका हुन् ।
‘उनीहरुसँग ५० वर्षभन्दा लामो इतिहास छ । हामी एकदमै स्थापित टिमसँग खेल्दैछौं भन्ने कुरा बुझ्नुपर्छ, हामीभन्दा उनीहरुसँग धेरै अनुभव छ,’ देसाईले भने, ‘हामीले जसरी एसोसियट राष्ट्रहरुसँग रणनीतिक रुपमा खेलेका थियौं, त्यसरी नै खेल्न जरुरी छ ।’
ओमान, यूएई, कुवेतसहितका टिम सहभागी काठमाडौंमा भएको एसीसी प्रिमियर कप जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । देसाईकै प्रशिक्षणमा प्रिमियर कप जितेको नेपाल विश्वकप छनोटमा समेत छानिएको थियो । उनले पछिल्लो ८ महिनायता नेपाली टिमलाई वान बल ब्याटलको अवधारणामा क्रिकेट खेलाइरहेका छन् ।
‘हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने हो । हामीले भारतविरुद्ध एक महत्वपूर्ण खेल खेल्दै गर्दा मानसिक रुपमा प्रेजेन्ट हुनुपर्छ । हामी जहिले पनि माथिल्लो स्तरमा खेल्न चाहन्थ्यौं, अहिले त्यो स्तरमा आउँदा हामीले त्यहि भएर उत्साह भएर खेल्न जरुरी छ’, उनले भने ।
नेपाली खेलाडीले धेरै खालको परिस्थितिमा खेलिरहेका भन्दै उनले मानसिक रुपमा शान्त भएर खेल्न जरुरी रहेको बताए । ‘फरक ड्रेसिङ रुममा फरक मानसिकता हुन्छ । नतिजा आफ्नो पक्षमा नआउँदा नआउँदा पीडा पनि हुन्छ । हामी खेलाडीहरुलाई समूहमा र व्यक्तिगत रुपमा पनि योगा गराइरहेका हुन्छौं । सबैलाई फरक तरिकाले मानसिक शान्तिका साथमा खेलमा प्रेजेन्ट हुन कोशिस गर्दै छौं’, उनले भने ।
एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग नेपालका बलरहरुले ३५ ओभरसम्म राम्रो प्रयास गरेको भन्दै तारिफ गरे । ‘हाम्रो बलरहरुले दोस्रो ब्रेकसम्म पनि राम्रो गेका थिए, अन्तिममा सोमपाल कामीको विकेट पनि राम्रो भएको थियो । हामीले ब्याटिङमा योजना अनुरुप खेल्न सकेनौं । तर सोमपाल र आरिफको साझेदारी तारिफ योग्य थियो । हामीले सानो सानो कुरामा विजयी पाइरहेका थियौं, त्यसलाई पनि खुसी मनाऔं ।’
प्रशिक्षक देसाईले ठूला र स्थापित राष्ट्रसँग नेपालले खेल्दै गर्दा धैर्य गरेर समर्थन गर्न समर्थकलाई आग्रह गरे ।
‘धैर्य गर्नुस् भन्न चाहन्छु । हामी सिमित स्रोत साधनको साथमा यी खेलाडीलाई यहाँसम्म ल्याउनु आफैंमा सकरात्मक पक्ष हो । हामीमाथि समर्थकको धेरै ठूलो अपेक्षा छ । राष्ट्रको र हामी आफैंको पनि अपेक्षा हुन्छ । त्यो अपेक्षालाई सम्हाल्न गाह्रो हुन्छ ।’
‘हामी प्रोसेसमा विश्वास गरेर हामी अझै धेरै पटक क्वालिफाइ गछौं ताकि यस्ता अवसरहरु आइरहुन् । हामी पनि ठूला राष्ट्रहरु जस्तै खेल्न सकूँ । ठूला व्यवस्थित राष्ट्रहरुसँग क्रिकेट खेल्दा प्रेसरमा खेल्न हामी सिक्छौं । हामीले हरेक पटक यी कुराहरु सिकेर जाँदैछौं ।’