उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान भएन

October 02, 10:23

डडेलधुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत वैशाख ३० गते राति मन्दिरमा चोरी भएको थियो। चोरीमा संलग्न व्यक्ति सिसी क्यामरामा कैद भए पनि पक्राउ गर्न सकिएको छैन। 

डडेलधुराको अमरगढी नगरपालिका–८, उग्रतारा मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक क्षेत्र हो। “मन्दिरमा चोरी भएपछि सिसी क्यामरामा कैद भएको भिडियो हेर्दा संलग्न व्यक्ति देखिएको थियो,” उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले भने, “तर व्यक्तिको अझै पहिचान हुन सकेको छैन।” काठमाडौँबाट आएको सिआइबी प्रहरीको टोलीले उक्त घटनाको अनुसन्धान गरेको छ। सिआइबीले स्थानीयवासीले अनुसन्धानमा सहयोग नगर्दा दोषी पत्ता लगाउन समस्या भएको जनाएको छ। 

मन्दिरनजिकको लटाउली गाउँका स्थानीय साँकी जाति उग्रतारा मन्दिरका पुजारी, करिया, भरिया छन्। मन्दिरसँग जानकार तथा वरिपरिका स्थानीयबाहेकले मन्दिरभित्र पसेर रातिको समयमा चोरी गर्ने सम्भावना कम रहन्छ। प्रहरी अधिकारी भन्छन्, “कान ढाक्ने गरेर टाउकोमा टोपी लगाएको, पछ्यौरी ओढेर शरीर ढाकेको व्यक्तिले निर्धक्क भएर ताला तोड्न दुई–तीन पटक यताउता हिँडेको भिडियो फुटेज सिसी क्यामरामा कैद भएको छ।” 

केही भिडियो भने डिलिट गरिएको छ। यद्यपि प्रहरीले भने हालसम्म पनि अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्न सकेको छैन। स्थानीयलाई हुलियाबारे थाहा हुन सक्छ। एक प्रहरी अधिकारी भन्छन्, “स्थानीय बोल्न नै मान्दैनन्। त्यस कारण चोरीमा संलग्नको पहिचान हुन सकेको छैन।”  

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा