पुनर्बहालीको माग गर्दै राष्ट्रिय जनमोर्चाले समेत जनायो पत्रकार आन्दोलनमा ऐक्यबद्धता
डोटी, भदौ ८ - रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकरकर्मिलाइ बिना कारण सेवाबाट हटाएको विरोधमा डोटीमा पत्रकारहरू धर्नामा छन् । बिहीबारबाट थालिएको धर्नामा राष्ट्रिय जनमोर्चाले पनि एक विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको भन्दै उनीहरूको पुनर्बहालीको माग गरिएको छ ।
तीन जना पत्रकारलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्बहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट आन्दोलन सुरु भएको हो । शनिवार दुवै हात कालो पट्टिले बाँधेर विरोध जनाइएको थियो । त्यस्तै बिहीबार मुखमा कालोपट्टि बाँधेर र शुक्रवार टाउकोमा कालोपट्टि बाँधेर पहिलो चरणको विरोध कार्यक्रम गरिएको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।
प्रदेश प्रसारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो । यसको विरोधमा महासङ्घले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।