एलपीएललाई पुनः निष्ट कलेजको साथ
धनगढी, असोज ८ - धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितालाई यसवर्ष फेरी काण्ठमाण्डौंको निष्ट कलेजले साथ दिने भएको छ ।
निष्टले मुख्य प्रायोजकको रुपमा एलपीएललाई साथ दिने सम्झौता गरेको छ । कलेजका संस्थापक प्राचार्य डा. माधवप्रसाद बराल र प्रतियोगिता आयोजक संस्था संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निष्टले गतवर्ष पनि यो प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा साथ दिएका थियो ।
आउँदो कार्तिक १६ गतेदेखि ३० गतेसम्म धनगढीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा देशभरका १३ विद्यालयको सहभागिता रहने जनाइएको छ । एउटा टिममा कक्षा १० सम्म पढ्ने १० जना र तीन जना १९ वर्षमुनिका नेपाली खेलाडी रहने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।