सुदूरपश्चिममा वर्षा, उच्च पहाडी भेगमा हिमपात
धनगढी,
मंसिर २७ –
सुदूरपश्चिमा वर्षा हुनुका साथै पहाडि जिल्लाहरुमा हीमपात भएकको छ। शुक्रबार बिहान देखि सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा वर्षा संगै चिसो बढाएको छ। वर्षा हुनुका साथै बैतडी, डडेल्धुरा लगायतका उच्च पहाडी जिल्लाहरुमा हीमपात भएको छ।
आज सुदूरपश्चिम प्रदेशसहित मुलुकका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मुलुकभर आज सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको छ । महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने समेत जनाएको छ । ‘मुलुकको पश्चिमी भूभागका केही स्थानमा शुक्रबार हावाहुरी आउनेसमेत सम्भावना छ,’ बुलेटिनमा छ ।
महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले बुलेटिनमा शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।
विभागले मौसम बदली भएको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएकाले देशभर चिसो बढेको उल्लेख गरेको छ । महाशाखाले बिहीबार पूर्वी तराईमा सामान्य कुहिरो र हुस्सु लागे पनि आगामी २४ घण्टासम्म शीतलहरको सम्भावना नरहेको जनाएको छ । बुलेटिनमा बिहीबार पश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात भएको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भएको जनाएको छ।