डोटीको साहित्यिक बगैचा
डोटीको साहित्यिक बगैचा
प्रस्तुतकर्ता : फणेन्द्र साउँद, तीर्थराज भट्ट
१. परिचय :
हालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सांस्कृतिक अर्थमा डोटी प्रदेश भनिन्छ । डोटी विस्तृत फाँट, बेसी, डाँडाकाडा, पाटन त कतै चारैतर्फ पहाडहरुले घेरिएको उपत्यका जस्तो स्वरुपमा रहेको उर्वरभूमि हो । राजा दीप शाहीको शासन कालसम्म डोटी स्वतन्त्र राज्य थियो । पछि नेपाल एकीकरणको समयमा नेपाली फौजले डोटी राज्य माथि आक्रमण गरी विजय प्राप्त गरे पछि डोटी राज्य विशाल नेपालमा विलय भयो । राजा विष्णु शाह र उनका छोरा पहाड शाहले शासन चलाउँदै हालको अवस्थामा आइ पुगेको छ । वर्तमान समयमा जसरी डोटी जिल्लाको नामाकरण गरिएको छ त्यो नामाकरण हचुवाको तालमा गरेको छ भनेर प्रा.डा. जयराज पन्तले भनेका छन् । हाल कायम रहेको डोटी जिल्लामा केही कतै पनि डोटी ठाउँको नाम रहेको छैन । बरू डोटीको सट्टा दिल्पेश्वर, शैलेश्वरी, केदार, खप्तड नाम दिएको भए राम्रो हुने भन्ने राय पन्त सरको छ । डोटी भन्ने ठाउँ डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा घटाल देवताको स्थानमा पर्दछ । जहाँ डोटी खोला नामक नदी छ । प्राचीन समयमा डोटीको राजधानी पनि हालको डडेल्धुरा अजयमेरूकोटमा नै थियो । पछिल्लो समयमा ७५ जिल्ला १४ अञ्चल ५ विकास क्षेत्रमा विभाजित नेपाल हाल ७ प्रदेशमा विभाजन गरेको छ । यस अन्तर्गत सात नं. प्रदेशको सेती अञ्चल भित्र डोटी जिल्ला अवस्थित छ । जसको उत्तरमा बझाङ्ग, बाजुरा पूर्वमा अछाम दक्षिणमा कैलाली र पश्चिममा बैतडी र डडेल्धुरा पर्दछन् । २०५५ वर्ग कि.मि. क्षेत्रफल रहेको डोटी जिल्लामा २ न.पा.७ वटा गाउपालिका रहेका छन् । परापूर्वकाल देखिनै डोटी राज्य भाषा, साहित्य, कला, संस्कृतिमा सम्पन्न राज्य हो भने हाल आएर पनि डोटी जिल्ला भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा धेरै अगाडि बढेको छ । डोटी जिल्लामा जन्म लिएर राष्ट्रिय स्तरमा चर्चा पाएका थुप्रै साहित्यकारहरु छन् । डोटीका स्रष्टाहरुले समग्र सु.प.को अर्थात प्रदेश नं. ७ को साहित्यिक फाँटमा अग्रणी भूमिका निभाएका छन् । यसर्थ यहाँ डोटी जिल्लामा जन्मेर जिल्ला भित्र र देशका विभिन्न ठाउँमा बसेर कलम चलाउने स्रष्टाहरूको संक्षिप्त चिनारी दिने प्रयास गरिएको छ ।
२.१. चन्द्रदेव ओझा – वि.सं. १९७४ मा आर्दश गाउँपालिका मौवा चौकीमा जन्मनु भएका ओझाले प्रारम्भिक भुगोल भाग १, प्रारम्भिक भुगोल भाग २, अङ्ग्रेजी व्याकरण आदि कृतिको रचना गरेका छन् उहाँ एक शिक्षाप्रेमी समाजसेवी हुन् २०५१ मा उहाँको निधन भयो ।
२.२. प्रेम मोहन श्रेष्ठ– वि.सं. १९८२ मा दिपायल सिलगढी नपा सिलगढीमा जन्मनु भएका श्रेष्ठले शैलेश्वरी राग (२०६८) र थुपै्र गीतहरू रचना गर्नु भएको छ । उहाँ सत्यप्रेम फाउण्डेसनका संस्थाका संस्थापक संरक्षक समेत रहेका हुन् ।
२.३. वद्रिनाथ भण्डारी– वि.सं. १९८३ सालमा जोरायल गाउँपालिका निरौली ६ डोटीमा जन्मनु भएका भण्डारीको उज्यालो चन्द्रमा (२०७२) कृति प्रकाशित छ उहाँ समाज सेवामा समर्र्पित व्यक्ति हुन् । सुप साहित्य समाज मार्फत प्रदान हुने गरि भण्डारीले २,११,१११ धनराशीको पुरस्कार स्थपना गरेका छन् । २ वर्षमा प्रकाशित उत्कृष्ट कृतिलाई सो पुस्कार प्रदान गरिने छ । विभिन्न सामाजिक संघ संस्थाहरूमा करोडौँेको दान गरी दानवीरका रूपमा प्रसिद्धी कमाएका भण्डारी साहित्य प्रेमि व्यक्ति हुन् ।
२.४. खडक बहादुर सिंह– वि.स. १९८८ डोटीको अलाडमा जन्मिनु भएका राजनीतिज्ञ एवम् साहित्यकार सिंहका विद्रोह भाग १ (२०२१) विद्रोह भाग २ (२०१४) हुरीको चरा (२०१४) लगायतका कृति प्रकाशित छन् ।
२.५. महादेव भट्ट– जोरायल गाउँपालिका घण्टेश्वर–१ वडाखेत डोटीमा वि.स. १९९० सालमा जन्मी कृष्णपुर– ४ मौवाफँटामा बसी साहित्य लेखनमा तल्लीन स्रष्टाका विश्व संस्कार दिपक, युग सङक्रमण, तत्व बोध रामायण लगायतका कृतिहरू प्रकाशित छन् । हाल दिवंगत भइसकेका स्रष्टा पद्य कविता लेख्न रूचाउने कवि हुन् ।
२.६. पूर्णानन्द भट्ट– राष्ट्रिय स्तरमा चर्चामा आउन सफल साहित्यकार भट्टको जन्म १९९० सालमा डोटी जिल्लाको जोरायल गाउँपालिका १ बडाखेतमा भएको हो । यिनका हालसम्म अभिषाप (२०३६), डोटेली लोकलहर (२०३७), अर्तनाद (२०३९), कविता तरङ्ग(२०३९), वन्देवी (२०४०), बिलापी खण्डकाव्य (२०४०), शन्ति विज्ञान महाकाव्य (२०५३) नानो जात्क (२०५६), शान्ति मन्दिर(२०४८), गाउँकला चम्पुकाव्य (२०४५), प्रजातन्त्र बालक (२०५१), बिलापी भाग २ (२०६४)र कविता मिलन (२०६७) कृतिहरू प्रकाशित छन् ।
२.७. डा. दुर्गाप्रसाद भण्डारी– साहित्यमा राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल स्रष्टा भण्डारी वि.स. १९९२ सालमा जोरायल गाउँपालिका निरौली ६ डोटीमा जन्मिनु भएको हो । काठमाण्डौ वानेश्वरमा बस्दै आएका उहाँले मृगस्थली (२०५७) रोम जलिरहेछ निरो बासुरी बजाई रहेछ (२०६०) त्यो धर्ती त्यो आकाश (२०६९) र रोटी र फुल जस्ता महत्वपूर्ण कृतिको रचना गरेका छन् ।
२.८. अमरबहादुर शाही– डोटी शिखर नगरपालिका कफल्लेकी–१ गौठेउरीमा वि.स. १९९२ मा जन्मिएका स्रष्टा शाहीका गाउँफर्क अमरज्योति (कविता संग्रह) लगायत थुप्रै फुटकर रचनाहरू प्रकाशित भएको देखिन्छ ।
२.९. काशीनाथ जोशी– लामो समयसम्म राजनीतिमा सक्रिय रहेका जोशीको जन्म १९९२ मा डोटीको बोगटान गाउँपालिका १ काटैँमा भएको हो । उनको एक चोइटा आकाश कविता संग्रह (२०६८) प्रकाशित भएको छ । हाल दिवंगत (२०७०) भइसकेका जोशीले थुपै्र फुटकर कविताहरू लेखेका छन् ।
२.१०. पूर्णानन्द भट्ट– वि.स. १९९२ सालमा शिखर नगरपालिका कपल्लेकी–१ डोटीमा जन्मिनु भएका स्रष्टाको साहित्यिक योगदान पद्य कवितामा रहेको छ ।
२.११. देवकान्त पन्त– नेपाली भाषा साहित्य तथा डोटेली लोकसाहित्यका कुशल अन्वेषक पन्तको जन्म १९९३ सालमा उच्चाकोट डोटीमा भएको हो । साझा पुरस्कार (२०३२), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३) लायन्स क्लब धनगढीमा सम्मानित (२०५३) जस्ता पुरस्कारद्वारा पुरस्कृत स्रष्टाका सीता स्वयम्वर महाकाव्य (२०२७) शिव विवाह मंगल खण्डकाव्य (२०२७) डोटेली लोक साहित्य एक अध्ययन (२०३२) जय नेपाल लघु काव्य (२०३६) शान्ति क्षेत्र नेपाल (२०४०) नेपाली तीजकथा (२०५१) प्रकाशित छन् । साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्तको २०५७ सालमा स्वर्गवास भयो ।
२.१२. प्रा.डा. रामचन्द्र भट्ट – वि.सं. १९९३ मा दिपायल सिलगढी न.पा.मा जन्मिनु भएका भट्टले कविता, समालोचना लगायतका विधामा कलम चलाएको पाइन्छ । उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुनुका साथै दर्जनौँ कृतिहरू पनि प्रकाशित छन् । उनले साहित्य सेवा मार्फत विभिन्न सम्मान तथा पदक प्राप्त गरेका छन् ।
२.१३. रामचन्द्र जोशी– वि.स. १९९३ मा डोटी बड्डीकेदार गाउँपालिका ४ मान्नाकापडीको बरालगाउँमा जन्मेका स्रष्टा जोशीका आमा खण्डकाव्य (२०४१) बडिमालिका खप्तड र स्वामी (२०४५) लगायतका कृतिहरू प्रकाशित छन् ।
२.१४. धनवहादुर मल्ल– वि.सं. १९९४ मा दिपायल सिलगढी नगरपालिका ६ शैलेश्वरी टोलमा जन्मिएका मल्लले नाटक एकाङकी गीत कविताको रचना गरेका छन् । २०१६ मा सगरमाथा सम्बाद डोटीका समाचारदाता २०१८ मा राससका डोटी समाचारदाता, सुदूर पश्चिम संस्कृतिक समूह का अध्यक्ष (२०१८–२६) कुशल मुर्तिकार भएका मल्लले २०५० मा सर्वनाम नाट्य पुरस्कार, २०६८ मा राससबाट सम्मान प्राप्त गरेका छन् । स्रष्टाको नाटक लेखन र मञ्चनमा महत्वपूर्ण योगदान छ । उनी पत्रकार, साहित्यकार, मूर्तिकार र समाजसेवी हुँदा पनि उहाँको खोजिनीतिमा सरोकार वालाले ध्यान दिएको पाइदैन ।
२.१५ दीनानाथ भट्ट– जोरायल गाउँपालिका गडसेरा–५ डोटीमा वि.स. १९९५ सालमा जन्मिनु भएका भट्ट साहित्य र सामाजिक क्रियाकलापमा रूपमा लागेका स्रष्टाका भावनाका तरङ्गहरू (२०६७) कविता संग्रह लगायत दर्जनौँ कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । बि.स.२०७४ सालमा उनको स्वर्गारोहण भयो ।
२.१६ पूर्णानन्द जोशी– वि.स.२००२ सालमा के आई सिँह गाउपालिका भुमिराजमाण्डौ ७ सलेनामा जन्मनु भएका जोशीका शिवपूराण (२०७०) डोटी भागवत कथा
(२०७२) कृति प्रकाशित छन् । उनी संस्कृतिप्रेमी साहित्यकार हुन् ।
२.१७. हर्ष ब. शाही– वि.सं. २००३ सालमा शिखर न.पा. कपल्लेकी १ सेरीमा जन्मनु भएको हो । उनी गीत, गजल लेखनमा सक्रिय हुनुका साथै विभिन्न संघ संस्थामा आवद्ध छन् ।
२.१८. बिक्रम बहादुर ऐर– बि.स.२००३ सालमा शीखर नगरपालिका तिजाली ऐरी गाउँमा जन्मनु भएका ऐरले अनुसन्धानात्मक कृति शिला काफलीको इतिहास
(२०७०) र शिला काफली धर्मग्रन्थ (२०७४) प्रकाशित छ ।
२.१९. भक्त ब. बलायर– वि.सं. २००५ सालमा शिखर नगरपालिका लाटामाडौ ७ बैरकोटमा जन्मनु भएका वलायरका वेलु, प्रतिज्ञा (गिति काव्य) नेपाली काङ्ग्रेसको इतिहस, नेपाली कम्युनिष्ट शासन (२०५१) राइमती (२०६८) महाकाव्य, प्रजातन्त्र, दल र डोटीको योगदान (२०७२) लगायतका कृति प्रकाशित हुनुका साथै उनी पूर्व मन्त्रि एवम् काङ्ग्रेसका नेता समेत हुन् ।
२.२०. एकराज भट्ट– आधुनिक कविताभन्दा छन्दबद्ध कविता मन पराउने स्रष्टा भट्टको जम्म वि.स. २००५ सालमा जोरायल गाउँपालिका छतिवन–२ रिठा गाउँ डोटीमा भएको हो । ५ ओटा कृतिका कृतिकार भट्टको साहित्यिक योगदान महत्वपूर्ण मानिन्छ ।
२.२१.भालचन्द्र भण्डारी ‘ब्रम्हगोल’– २००६ सालमा जोरायल गाउँपालिका ५ गडसेरा श्यालकोटिला डोटीमा जन्मी २०२७ सालदेखि हालसम्म निरन्तर साहित्यमा सक्रिय रहेका स्रष्टा ब्रम्हगोलका सुभद्रा खण्डकाव्य (२०४५) जय नेपाल कविता संग्रह (२०५२) लगायतका कृतिहरूका साथै तमामौँ फुटकर पद्य कविता र लेखहरू प्रकाशित भएका छन् ।
२.२२. वेणीमाधव भट्ट– शिखर न.पा. कपल्लेकी–१ साफरी गाउँ डोटीमा वि.स. २००७ सालमा जन्मिनु भएका स्रष्टाको घोडाघोडी ताल महात्म्य, श्री केदार जाँत लगायतका कृतिहरू प्रकाशित छन् ।
२.२३ हेमराज जोशी – बि.स. २००७ साल बडुडी केदार गाउँपालिका ४ मान्ना कापडी बरल गाउँमा जन्मेका जोशीका पद्य पुष्पाञ्जली (२०६६) मेघदुत (२०६७) मौलिक तथा अनुवादित कृति पकाशीत छन् ।
२.२४. दल ब. बोगटी– २००८ सालमा मुडेगाउँ २ डोटीमा जन्मनु भएका वोगटीका विभिन्न पत्र पत्रिकामा फुटकर रचना प्रकाशित छन् ।
२.२५.डा.दीर्घसिंह बम– वि.सं. २००८ सालमा बोगटान गाउँपालिका चवरा चौतारा ७ जमरसल्लीमा जन्मिएर गीत, कथा, कविता, नाटकमा कलम चलाइ क्षयरोग निवारणमा उल्लेखनीय भूमिका निभाएका वमले ‘वैसको रहर’ र ‘पखालिएको सिन्दुर’ सिनेमाको कथा पनि लेखेका छन् ।
२.२६. विजया केसी श्रेष्ठ– वि.सं. २००८ सालमा दिपायल सिलगढी नगरपालिका डोटीमा जन्मनु भएकी केसीको सुदूरपश्चिमका केही प्रेरणादायिक व्यक्तित्वहरू
(२०६९) कृति प्रकाशित छ । उनि राजनीतिमा पनि सक्रिय रुपमा लागेकी छन् ।
२.२७. मदन मोहन शर्मा– वि.सं. २००८ सालमा शिखर नगर पालिका मुडभरा गा.वि.स. ४ मुडभरा डोटीमा जन्मनु भएका शार्माले साहित्यका विविध विधामा कलम चलाएका छन् ।
२.२८. प्रा.डा. जयराज पन्त– लोक संस्कृति विद् तथा डोटेली भाषा साहित्य र कलाका सच्चा सेवक प्रा.डा. पन्तको जन्म वि.स. २०१० चैत्र १५ गतेका दिन
(आमा राधादेवी पन्त र बुवा दयानिधी पन्त) शिखर न.पा. जिजोडामाण्डौ ९ जैनोलीमा भएको हो । आफ्नो जीवनकालमा प्राध्यापन पेशाका साथै लोक संस्कृतिको अध्ययन अनुसन्धानमा समय व्यतीत गरेका पन्त राष्ट्रिय प्रतिभा हुन् । उनले लोक संस्कृतिको क्षेत्रमा जे जति कार्य गरे त्यो योगदान हो जुन अतुलनीय र अविस्मरणीय छ । अँजुलीभरी सगुन पोल्टाभरि फाग (२०५५), डोटेली धमारी गीत एक अध्ययन (२०६४), मष्टा परम्परा र त्यसका गीतहरू, (२०६४) डेउडा, (२०६४) डोटेली गौरा पर्वका गीत र गाथाहरू,डोटेली भो पर्वका गीत र गाथाहरु (२०६४) शैलेश्वरीको माहात्म्य र तिनका केही गीत (२०६५), श्री भुवनेश्वरी (२०६८), प्रा. शिव गोपाल रिसाल (२०७३) उनका प्रकाशित कृतिहरू हुन् भने वत्स गोत्रीय डोटेली पन्त वंश, डोटेली केही प्रतिनिधि गाथाहरू, भारत (हुड्केली) एक अध्ययन, डोटेली होरी पर्वका गीतहरू, डोटेली र कुमाउँनी लोकगीत, जस्ता कृतिहरू अप्रकाशित अवस्थामा छन् । लोक संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सरकारी र गैर सरकारी सङ्घसंस्थाहरूबाट विभिन्न पुरस्कार तथा पदक र मानसम्मानले सम्मानति भएका थिए ।
२.२९.यज्ञराज यात्री– सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीका संस्थापक अध्यक्ष यात्री सु.प का प्रमुख साहित्यकार हुन् । २०१० सालमा जोरायल गा.पा.गडसेरा ५ वस्तीगाउँ डोटीमा जन्म भई हाल धनगढी कैलाली बसेका स्रष्टा खोज अनुसन्धानात्मक लेख र पद्य कविताका क्षेत्रमा निरन्तर सृजना सिर्जिरहेका छन् । शारदी पुष्प (२०३०), आमा (२०३८), मेरो नेपाल दर्शन (२०५९), लगायतका दर्जनौँ कृतिका कृतिकार विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा आवद्ध छन् । राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२), लगायत पुरस्कार द्वारा सम्मानित यात्री हाल पनि साहित्यमै सक्रिय देखिन्छन् ।