मन्त्री जोशीद्वारा ओल्के पर्वका अवसरमा शुभकामना व्यक्त !
धनगढी,
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक पर्व ओल्केका अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नु भएको छ । मन्त्री जोशीले आज एक विज्ञप्ति जारी गर्दै सबैमा शुभकामना व्यक्त गर्नु भएको हो ।
यसरी मनाइँदै छ आज ओल्के
वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ।
आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ। यसका साथै बिहानै नुहाई धुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ। साथै आज सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पिङ खेल्ने प्रचलन पनि रहेको छ।
‘ओल्के भनेको आमन्त्रण हो, बोलाउन, स्वागत गर्नु हो,’ संस्कृतीविद पदमराज जोशीले भने, ‘यसमा खास त ऋतुको आगमनलाई स्वागत गर्नु हो। अब बर्सातमा लगाएको फल, बालीनाली फल्ने गर्छन्। साथै मान्यजन, ठुलाबडालाई बोलाएर स्वागत गर्नु र छोरी बेटीलाई उपहार दिएर सम्मान गर्ने यसको विशेषता हो। अब बिस्तारै चाडपर्व आउन थाल्ने हुनाले तीनको आमन्त्रणलाई स्वागत गर्नु पनि यसको विशेषता हो। त्यसैले यसलाई जेठो पर्व भनिएको हो।’
आज छोरी बेटीहरू माइत आउने, उनीहरूलाई दान दिने र विशेष परिकार बनाएर खुवाउने र त्यसमा सुदूरपश्चिमको विशेष परिकार ‘गतानी डुब्का’ खुवाउने प्रचलन रहेको उनले बताए।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ। यस्तै ओल्के सङ्क्रान्तिका दिन गाउँ उच्चो टाकुरामा सबै मिलेर रूखका हाँगाबिँगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ।
यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ। भगवान् कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा–टुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ।
तर पछिल्लो समय यो पर्व लोप हुने खतरामा छ । ‘संस्कृति भनेको मानवद्वारा निर्मित चिज हुन् ।’ जोशीले भने, ‘त्यसैले यसको संरक्षणमा आम नागरिकले जागरूक हुन र तिनीहरूलाई थप परिष्कृत भन्दा व्यवस्थित बनाउन जरुरी छ ।’ तर पछिल्लो समय प्रयोगमा भन्दा सैद्धान्तिक रूपमा अध्ययन अनुसन्धान हुने, मिडियामा स्थान पाउने तर व्यवहारिक प्रयोगमा कम आउने क्रमले हाम्रा लोक संस्कृतिहरू केही सङ्कटमा परेका उनले बताए।