डोटीमा युवा नेता शाहीद्वारा निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तर
डोटी, नेपाली कांग्रेसका युवा नेता पुष्प कुमार शाहीले डोटीको शिखर नगरपालिकालाई लाखौ मूल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका निर्वतमान केन्द्रीय उपाध्यक्षसमेत रहेका शाहीले कोभिड संक्रमणवाट जोगाउन तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले डोटी जिल्लाका ९ वटै स्थानीय तहहरूलाई ब्यक्तिगत पहलवाट निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न थालेको बताए ।
कालागाढ बजारस्थित रुखको छहारीमुनि संचालन गरिएको उक्त कार्यक्रममा नगर प्रमुख सीताराम जोशीको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रममा नगरसभापति, नगर उपप्रमुख, वडा नं.२का वडा सभापति, वडाध्यक्ष, काँग्रेसका अन्य नेतागण र पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । गाउँपालिकालाई अक्सिजन कन्सट्रेटर मेसिन १ थान, पल्स अक्समिटर १ थान, पि.पि सेट ५० थान, सर्जिकल मास्क १ कार्टोन, नाईन ९५ मास्क १ सय थान, ग्लोब्स ५ प्याकेट, स्टेचर १ थान, रेपिड टेस्ट किट ५० थानलगायतका सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामाग्री बुझ्दै शिखर नगरपालिकाका मेयर सीताराम जोशीले स्वास्थ्य सामाग्री सहयोग गरेको प्रति हार्दिक धन्यवाद ब्यक्त गरे । कार्यक्रममा नगरप्रमुख जोशीले युवा नेता शाहीद्वारा हस्तान्तरण गरिएका सामग्रीहरु मध्येमा अक्सिजन कन्सट्रेटर मेसिन १ थान,शिखर नगरपालिका वडा नं. २ स्थित मुडेगाउँ स्वास्थ्य चौकीलाई उपलब्ध गराउने र अन्य सामग्री विपन्न, गरिव तथा पहुँच नभएका जनताहरूको स्वास्थ्य उपचारमा प्रयोग गर्ने हेतुले आवश्यक स्थानमा पठाउने कुरा व्यक्त गरे । औपचारिक कार्यक्रम समापन भए लगत्तै युवा नेता शाहीले मुडेगाउँस्थित रैका कृषि फलफूल तथा पशुपंक्षी फर्मको अवलोकन गरेका थिए ।