दसैँपछि टीकापुर पार्कमा पर्यटक बढे

November 02, 11:57

टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् । दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन् । पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन् । 

पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन् । बर्खामा पर्यटकको सङ्ख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन् । पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन् । पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन् । कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार राजस्व सङ्कलन भएको पार्क इन्चार्ज अर्जुन कुँवरले जानकारी दिनुभयो । 

“दसैँपछि पर्यटक बढेका छन्, पिकनिक खाने, फोटो खिच्ने, केही समय शान्त वातावरणमा रमाउनेहरू आउँछन्”, उहाँ भन्नुहुन्छ, “देशका सबै जिल्लाका मानिस पार्क पुगेको तथ्याङ्क छ । सुदूरपश्चिम छिरेकाहरू एकपटक पार्क पुगौँ भन्छन् र घुमेर जान्छन् ।” कुँवरका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो । एकै दिनमा डेढ सयदेखि पाँच हजारले पार्क अवलोकन गर्न आउने गरेका छन् । 

पार्कमा बर्सेनि एक लाखदेखि डेढ लाखसम्म आउँछन् । धेरै मानिसहरूले पार्कमै पकाउने, पार्कमै खाने, पार्कमै रमाउने गरी आउँछन् जसले गर्दा पार्कको वातावरण सधैँ रमाइलो भइरहने स्थानीय टीका चौधरीले बताउनुभयो । टीकापुर विकास समिति हटेपछि वि.सं.२०६४ मङ्सिर ५ गते टीकापुर नगरपालिकाको स्वामित्वमा पार्कलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वामित्वमा पार्क सञ्चालन भएपछि बजेट अभावमा पार्कमा कार्यरत कर्मचारी कटौती गरिँदा र विकासका थप पूर्वाधार निर्माण गर्न नसक्दा पार्कको सौन्दर्यमा कमी आउन थालेको गुनासो छ । हाल पार्कमा १३ जना सरसफाइकर्मी र कर्मचारी कार्यरत छन् ।

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम वाटिका, ऐश्वर्य उद्यानलगायत पूर्वाधार खडा गरेको छ । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी-बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् ।

राजा महेन्द्रले २०२४ सालमा टीकापुरमा आएर करिब डेढ महिना शयन गर्नुभएको थियो । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फर्कनुभयो र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उहाँले निर्देशन दिनुभएको थियो । वि.सं.२०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । 

लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधारहरू टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीकारुपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । तर नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी हुन सकेको छैन । पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनाका साथै आरोग्य गृह र विश्राम वाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मतमा लाखौँ खर्चिने गरेको छ । 

तर पार्क जीर्ण बन्दै गएकाले पार्कको इतिहास जोगाउनेतर्फ ध्यान दिनुपर्ने स्थानीय निर्मला कडायतको सुझाव छ । “पार्कमा भएको हराभरा हराएको छ, पार्क एक ताका गुलाबको बगैँचाका रूपमा चिनिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “पालिकाले त्यो जोगाउन सकेको देखिएन, पालिकाले केन्द्रीय बजेट ल्याउन सकेको पनि देखिएन । नगरपालिकाले लगानी गर्न नसक्दा पार्क जीर्ण बन्दै जान थालेको छ ।”

टीकापुरकै ऐतिहासिक महत्त्व बोकेको ठाउँ टीकापुर पार्क हो । पार्क स्व.राजा महेन्द्रको इतिहाससँग जोडिएको छ । पार्क संरक्षणका लागि खासै काम हुन नसके पनि पार्कको संरक्षणका लागि पालिका, स्थानीय सबै लाग्नुपर्ने टीकापुर नगरपालिका-५ का वडाध्यक्ष बलवीर थारु बताउनुहुन्छ । “बजेट अभावमा पालिकाले सक्दो संरक्षण गरेको छ । यो पार्क देशकै पहिचान हो”, थारु भन्नुहुन्छ, “पार्क संरक्षणमा पालिका मात्रले सम्भव छैन । यसमा स्थानीयको सहयोग, सरकारको विशेष लगानी आवश्यक छ ।” पार्क क्षेत्र पूरै घेरबार नभएकाले स्थानीयलगायत केही पर्यटक टिकट नकाटेर भित्रिने जोखिम रहेकाले राजस्वमा असर परेको छ । रासस

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा